आइतबार, १६ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रशासनको निर्णय कागजमा मात्रै सीमित, कोरोनाको जोखिम बढ्दै

मङ्गलबार, १४ वैशाख २०७८, १४ : ३९
मङ्गलबार, १४ वैशाख २०७८

मकवानपुरमा कोरोना संक्रमण नियन्त्रणको लागि संयन्त्रहरुले सही ढंगबाट काम गर्न नसकेको गुनासो सुनिन थालेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर मातहतको संयन्त्रहरुले सही ढंगबाट सक्रियताका साथ काम गर्न नसक्दा जिल्लामा कोरोना संक्रमणको जोखिम दैनिक रुपमा बढ्दै गएको हो । पछिल्लो एक हप्तामा नै कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढिरहेको छ । 

हालसम्म मकवानपुरमा कोरोनाका संक्रिय संक्रमितहरु १ सय ९७ जना रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंले जानकारी दिए । उनका अनुसार जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

एकिन तथ्याङ्क नै छैन
जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएको बेला संक्रमितको संख्या कति हो भन्ने बारेमा नै सरोकारवाला निकायहरुमा अन्यौलता देखिएको छ । 
कोरोना संक्रमितको तथ्याङ्क राख्ने जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क र यस अघि जिल्लाको कोरोना संक्रमितको तथ्याङ्क राख्दै आएको हेटौंडा उपमहानगरपालिकाको तथ्याङ्क नै फरक परेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार जिल्लामा संक्रमितको संख्या १ सय ४५ मात्र देखिएको छ भने हेटौंडा उपमहानगरपालिकाको तथ्याङ्कमा १ सय ९७ जना रहेका छन् ।

सोमबार मात्र मकवानपुरमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर यता स्वास्थ्य कार्यालयको तथ्याङ्कमा भने ३३ जनामा मात्र कोरोना संक्रमण देखिएको तथ्याङ्क उल्लेख छ ।

होम आइसोलेशनमा बस्नेको छैन निगरानी 
मकवानपुरमा होम आइसोलेशनमा बस्ने कोरोना संक्रमितको निगरानी नै हुने गरेको छैन । कन्ट्याक्ट ट्रेसिङको काम पनि भएको छैन । 
जिल्लामा १ सय ३६ जना व्यक्तिहरु होम आइसोलेशनमा बसेका बसेका छन् । होम आइसोलेसनको मापदण्डका र उनीहरुको स्वास्थ्य स्थिति बारेमा सरोकारवाला निकायले निगरानी गर्नु पर्ने हो । तर मकवानपुरमा त्यसो हुन सकेको छैन ।
संक्रमितहरु खुलेआम बाहिर हिंड्ने गरेको प्रशासन नै स्वीकार गर्छ । यस विषयमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जनताहरूले प्रशासनलाई अटेर गरेको बताए ।
कोरोना संक्रमितहरुको अनुशासनहीनताका कारण जिल्लामा कोरोना संक्रमणको जोखिम झनै बढेको उनको भनाइ छ ।

तीन तहको सरकारका बीच समन्वयको अभावका कारण सरकारले जारी गरेको निर्णय कार्यान्वयन फितलो देखिएको उनले बताए ।
जिल्लामा सीडीओले कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा उनको सक्रियता पनि कमजोर देखिएको छैन । निर्णय मात्रै गर्ने तर कार्यान्वयनमा सबै संयन्त्र परिचालन हुन सकेको छैन । 

संस्थागत आइसोलेशन प्रति वितृष्णा 
मकवानपुरमा कोरोना संक्रमितहरुको उपचारका लागि निर्माण गरिएको संस्थागत आइसोलेशनमा २ जना मात्र संक्रमित रहेका छन् । 
करिब १ सय ५० जना कोरोना संक्रमितहरु राख्ने क्षमता रहेको हेटौंडा उपमहानगरालिका वडा नम्बर–१६ गौरीटारमा रहेको आइसोलेशनमा २ जना मात्र संक्रमित रहेका छन् । 

संस्थागत आइसोलेशनमा आवश्यक सेवा सुविधाको अभावका कारण संस्थागत आइसोलेशनमा कोरोना संक्रमितहरुको वितृष्ण देखिएको हुन सक्ने सरोकारवालाहरु बताउँछन् । आइसोलेशनको व्यवस्थापन गरिरहेका हेटौंडा उपमहानगरपालिका तथा अस्पतालले त्यसको सही व्यवस्थापन गर्न नसकेको आरोप छ । 

१ सय ३६ जना कोरोना संक्रमितहरु होम आइसोलेशनमा रहेका छन् । यसबाट अन्य व्यक्तिहरुमा कोरोना संक्रमणको जोखिम भने बढेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्याय बताउँछन् ।

प्रशासनको निर्णय कागजमा मात्रै सीमित 
जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले दैनिक रुपमा कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न निर्णय गर्छ, तर कार्यान्वयन भने फितलो देखिएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि प्रशासनले कोरोना संक्रमितको उपचारलाई व्यवस्थित गर्न छुट्टै टास्क फोर्स र प्रशासनको निर्णय कार्यान्वयन भए÷ नभएको अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन समिति र कोरोना नियन्त्रणका दैनिक गतिविधि, तथ्याङ्क सूचना सम्प्रेषणका लागि छुट्टै टास्क फोर्स गठन गरिएको छ ।
उक्त टास्क फोर्सको न काम भएको छ न नै अनुगमन । ती समितिहरूको कुनै काम नै देखिएका छैनन् ।

प्रशासनले गरेका अन्य निर्णयहरु पनि पूर्ण रुपमा कार्यान्वयन हुन सकेका छैनन् । सीडीओ भरतमणि पाण्डेले शक्ति केन्द्रहरुलाई जतिसुकै भीडभाड गरेपनि कार्यक्रम, विवाह उत्सव जस्ता गतिबिधि गर्न छुट दिएका छन् भने मोटरसाइकलमा यात्रा गरिरहेका सर्वसाधारणहरुलाई भने जोरबिजोरको नाममा मोटरसाइकलबाट उतारेर सार्वजनिक यातायातमा कोचेर पठाइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप