शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

'गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गर्न पहल गर्छु'

शुक्रबार, २७ असोज २०७४, ११ : २२
शुक्रबार, २७ असोज २०७४

खगेन्द्र क्षेत्री, एनआरएन उपाध्यक्ष उम्मेदवार 

खगेन्द्र क्षेत्री गैरआवासीय नेपालीमाझ सुपरिचित नाम हो । गैरआवासीय नेपाली सङ्घ अमेरिकाका निवर्तमान अध्यक्ष क्षेत्री पेसाले वकिल हुन् । अमेरिकाका पहिलो नेपाली अटोर्नीको इतिहास रचेका जीसी  एनआरएन आईसीसी कार्यसमिति सदस्य तथा नागरिकतासम्बन्धी कार्यदलको सह–अध्यक्ष हुन् । उनी नेपाल सरकारका गैरआवासीय नेपालीसम्बन्धी मानार्थ सल्लाहकार पनि रहेका छन् । उनले यही अक्टोबर १४ देखि १७ सम्म काठमाडौँ हुन लागेको आठौँ एनआरएन विश्व सम्मलेलन तथा साधारणसभामा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । यसअघि पनि सोही पदमा उम्मेदवारी दिएर निकटतम प्रतिस्पर्धी रहेका क्षेत्री फेरि किन त्यही पदमा उम्मेदवारी दिइरहेका छन् ? उनको उम्मेदवारीलाई केन्द्रमा राखेर हामीले क्षेत्रीसँग लामो अन्तर्वार्ता गरेका थियौं । प्रस्तुत छ, त्यही अन्तर्वार्ताको केही अंश ः

तपाईंले फेरि एकपटक उपाध्यक्षमै उम्मेदवारी दिनु भएछ । आखिर किन फेरि उपाध्यक्षमै उम्मेदवारी दिनु भएको हो ?

मैले यसअघिको चुनावमा उपाध्यक्षमा उम्मेदवारी दिएको थिएँ ।  निकटतम् प्रतिस्पर्धी रहे पनि विजयी हुन सकिनँ । मैले त्यो पराजयलाई स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका आधारमा भएको पराजय ठानेको थिएँ । मैले जुन पृष्ठभूमि र परिस्थितिमा उम्मेदवारी दिएको थिएँ, त्यसलाई आधार मान्दा मैले जति मत पाएँ, त्यो मेरा लागि ठूलो उपलब्धि थियो । संसारभरकै एनआरएनमाझ पुगेर उहाँहरूको मन जित्ने प्रयास गरेँ, कम्तीमा अमेरिका पनि एनआरएनको नेतृत्वका लागि तयार छ है भन्ने खालको सन्देश दिएँ । त्यो मेरा लागि मात्र हैन, एनआरएन अमेरिकाका लागि पनि उपलब्धि भएको ठानेको छु । मैले यसबीचमा एनआरएनका लागि केही योगदान गर्ने अवसर पनि पाएको छु । धेरै साथीहरूसँग सहकार्य र मित्रता बढेको छ । उहाँहरू सबैले यसपटक उठ्नुहोस्, हामी सघाउँछाँै भनेका छन् । त्यसैले फेरि एकपटक प्रयास गर्ने निर्णय गरेको हुँ ।

तपाईंले यसअघि उम्मेदवारी दिँदाको पृष्ठभूमि र परिस्थितिको कुरा गर्नुभयो । त्यसमा अहिले केही फरक आएको छ ?
अमेरिकामा रहेका सबै एनआरएन साथीहरूलाई थाहा छ, मैले अघिल्लो पटक अमेरिका क्षेत्रको क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने सोच बनाएको थिएँ । त्यस पदमा सोनामजीले पनि इच्छा राख्नु भयो । हामी दुवैजना एउटै पदमा चुनावी प्रतिस्पर्धा गर्नुभन्दा सोनामजीले आरसी र मैले उपाध्यक्षमा चुनाव लड्दा ठीक हुन्छ भनेर साथीहरूले भने । त्यसो गर्दा सबैको सहयोग पुग्ने र चुनाव जित्न सजिलो हुने बताइयो । वास्तवमा त्यतिबेला मेरो एनआरएन आईसीसीको उपाध्यक्षका लागि तयारी नै पुगेको थिएन । संसारभरका एनआरएन साथीहरूमाझ म खासै पुगेको पनि थिइनँ । अन्तिम समयमा उम्मेदवारी दिएकाले आफ्नै साथीहरूसँग  चुनावमा तालमेल पनि गर्न सकिएन ।  त्यतिबेला आईसीसीमा एउटा लहर आएको थियो, आफू त्यो लहरभित्र पनि पर्न सकिएन । चुनावका लागि आवश्यक पर्ने रणनीति र चाणक्यनीतिहरू पनि बनाउन सकिएन । अझ अमेरिकाकै सबै साथीहरूलाई पनि मेरो उम्मेदवारी अमेरिकाकै प्रतिष्ठाको विषय हो भनेर बुझाउन पनि सकिएन, सबैको साथ र सहयोग पनि लिन सकिएन । यी विविध कारणले चुनावमा सम्मानजनक प्रतिस्पर्धा गरे पनि जीत भने हात पार्न सकिएन ।

जहाँसम्म पहिला र अहिलेको परिस्थितिमा के फरक आएको छ भन्ने कुरा हो मैले गत चुनावको बेला निकै महँगो मूल्य चुकाएर केही पाठ सिकेको छु । संसारभरका एनआरएन साथीहरूले पनि मेरो आवश्यकता र औचित्य बुझ्नुभए जस्तो लागेको छ । यसबीचमा मैले आईसीसी सदस्य र नागरिकतासम्बन्धी कार्यदलको सह–अध्यक्षका रूपमा काम गरेर अनुभव पनि बटुलेको छु । सरकारले पनि मेरो विशेषज्ञता, योग्यता, अनुभव, क्षमता र समपर्णको सम्मान गर्दै गैरआवासीय नेपालीसम्वन्धी मानार्थ सल्लाहकारको जिम्मेवारी दिएर संसारभरका एनआरएनहरूको सेवा गर्ने मौका दिएको छ । अमेरिकाका साथीहरूले पनि मेरो उम्मेदवारीलाई व्यक्तिगतभन्दा पनि माथि उठेर सहयोग गर्ने वचन दिएका छन् । मलाई लाग्छ, प्रस्तुत पृष्ठभूमिमा  मेरो पक्षमा पहिलाको भन्दा सकारात्मक माहौल बनेको छ ।  

तपाईं उठ्नैपर्ने केही वस्तुगत कारणहरू बताइदिनु हुन्छ कि ?
म नै हुनुपर्छ भन्ने म्यान्डेटरी त केही छैन तर अरू पनि मजस्तै कोही उपाध्यक्ष हुने भएकाले म नहुनुपर्ने कारण पनि मैले केही देखेको छैन । म मूलतः दुई कारणले हुनुपर्छ भन्ने मलाई लाग्छ, पहिलो नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गर्न मैले सुरूदेखि नै काम गरेको छु । फलतः अहिले त्यो व्यवस्था त भएको छ तर त्यसलाई कानुनतः व्यवस्थित गर्न अझै धेरै काम गर्न बाँकी छ । त्यसका लागि मेरो जस्तो अनुभव, विशेषज्ञता हासिल भएका मानिस पदाधिकारीमा हुँदा धेरै सहज हुन्छ । अझ म सरकारको तर्फबाट पनि एनआरएन सम्बन्धी सल्लाहकार भएकाले दुवैतर्फबाट एकै व्यक्तिले थप समन्वय गरेर काम गर्न सहज हुन्छ । दोस्रो, संसारकै ठूलो एनआरएन राष्ट्रिय समन्वय समिति हो अमेरिका । यसले एनआरएनका लागि पर्याप्त योगदान गरेको छ । तर, संस्थागत भएपछि अमेरिकाले कुनै पदाधिकारीको भूमिका पाएको छैन । अब त हाम्रो पनि त पालो आउनुपर्ने हो नि । संसारभरका साथीहरूले हाम्रो त्यो योगदानको कदर गर्ने भनिरहेका छन् । त्यसैले पनि मैले उम्मेदवारी दिएको हुँ । तेस्रो कुरा, गत निर्वाचनमा म थोरै मतले निकटतम प्रतिस्पर्धी भएको हुँ । त्यतिबेलाका उपाध्यक्षमध्ये भवनजी अध्यक्षमा चुनाव लडिरहनुभएको छ भने कुमारजी पुनः उपाध्यक्षमै उम्मेदवारी दिइरहनु भएको छ । त्यसैले उहाँहरूसँगै प्रतिस्पर्धा गरेर निकटतम प्रतिस्पर्धी भएको मैले पनि एनआरएनमा आफ्नो विशेषज्ञता प्रयोग गरेर योगदान दिएको छु । त्यसैले मैले उपाध्यक्षमा उम्मेदवारी दिएर एनआरएनको सेवा गर्ने इच्छा राखेको हुँ ।

तर, अमेरिकाबाटै सोनाम लामाले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ नि ?
मैले पनि सुनेको छु । तर, गत निर्वाचनमा पनि मैले उहाँलाई अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजकमा  सघाएर  आफूले उपाध्यक्षमा उम्मेदवारी दिएँ । त्यतिबेला उहाँलाई रोजी पद थियो भने मेरो लागि छाडी पद थियो । मैले अधिकतम प्रयास गर्दा पनि सफलता हात पार्न सकिनँ । यसपटक म पुनः त्यही पदमा एकपटक प्रयास गर्छु भन्दा उहाँले उपाध्यक्षमै उम्मेदवारी दिनुहुन्छ जस्तो मलाई लागेको छैन । मेरो विचारमा उहाँजस्तो एनआरएनमा लामो योगदान र सक्रियता भएको व्यक्तिले नैतिक रूपले पनि त्यसो गर्नुहुन्छ जस्तो लागेको छैन । मलाई विश्वास छ, मैले उपाध्यक्षमा उम्मेदवारी दिइसकेको अवस्थामा उहाँले त्यही पदमा उम्मेदवारी दिनु हुने छैन । हामी अमेरिकाकै दुईजनाले उपाध्यक्षमा उम्मेदवारी दियौँ भने संसारभरका एनआरएनमाझ सकारात्मक सन्देश जाँदैन । एनआरएन आईसीसीमा हुने दुई उपाध्यक्षमा हामीलाई नै जिताउनुस् भन्न नैतिकरूपले पनि सजिलो हँुदैन ।

एनआरएनको चुनावमा अमेरिकाको १८१ मत छ । जितका लागि पर्याप्त नभए पनि निर्णायक मत हो यो । यो मत नै एक ढिक्का भएर तपार्इंको पक्षमा खस्ला त यस पटक ?
हामीले गत निर्वाचनमा ठूलो मूल्य चुकाएका छौँ । संसारको ठूलो एनआरएन राष्ट्रिय समन्वय समिति भएर एकजना पदाधिकारी पनि नजिताई रित्तोहात फर्केका छौँ ।  यसबाट हामी सबैमा लज्जाबोध भएको छ ।  हामी सबैले ठूलो पाठ सिकेका छौँ । मलाई विश्वास छ, यसपटक अमेरिकी एनआरएनको प्रतिष्ठाका लागि पनि सबै एक भएर हामी उपाध्यक्ष जितेरै फर्कनेछौँ । यो मेरो मात्र हारजितको प्रश्न हैन, यो एनआरएन अमेरिका र अमेरिकामा रहेका हामी सबै एनआरएनको इज्जत र प्रतिष्ठाको विषय  पनि हो । त्यसैले हामी जात, धर्म, वर्ग, सम्प्रदाय, लिङ्ग, वाद, राजनीतिक आस्था सबैबाट माथि उठेर एनआरएन अमेरिकाको इज्जत र प्रतिष्ठाका लागि यसपटक जुट्नेछौं । यही आशा र विश्वासका साथ मैले आफ्नो उम्मेदवारी दिएको हुँ । सबै साथीहरूले पनि यसलाई यसरी नै बुझेर आआफ्नो ठाउँबाट योगदान पुर्याउनु हुनेछ भन्नेमा म विश्वस्त छु ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप