बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

जहाँ सिद्धबाबा पनि ‘निरिह’ छन्

शुक्रबार, २७ असोज २०७४, ११ : ०६
शुक्रबार, २७ असोज २०७४

तेजेन्द्र के.सी. 

पाल्पा - पाल्पा तानसेन ७ का ४४ वर्षीय अनिल श्रेष्ठ सिद्धबाबाको पूजा गरेर फर्कंदै गर्दा पाल्पाको दोभानमा माथिबाट खसेको ढुङ्गाले लागेर गम्भीर घाइते भए । उनी बुटवल बस्छन् । नजिकै रहेको सिद्धबाबा मन्दिर जानु नै उनका लागि त्यस दिन अभिसाप बन्यो । 

गत वर्ष असार ७ गते लु १५ प ६७५० नम्बरको मोटरसाइकलमा माथिल्लो सिद्धबाबा पूजा गर्न पुगेका श्रेष्ठको १० गते उपचारका क्रममा भरतपुर मेडिकल कलेज चितवनमा मृत्यु भयो । 

श्रेष्ठ जस्तै नयाँ अटो विद्युतीय रिक्साको पूजा गर्न पुगेकी बुटवल–६ की लक्ष्मीनगरीकी भगवती रायमाझीको पनि सिद्धबावाले रक्षा गर्न सकेनन् ।  

अटो रिक्साको पूजा गरेर फर्कंदा अटो रिक्सा तिनाउ नदीमा खस्यो । घटनामा ३० वर्षीय रायमाझीसहित ४ जनाको मृत्यु भयो ।

प्रहरीकाअनुसार रायमाझीसहित दुर्घटनामा रिक्सामा सवार बुटवल–६ का ३६ वर्षीय पिताम्बर ज्ञवाली, ३५ वर्षीया हिरा आचार्य र बुटवल– १३ की तारदेवी गाहाको मृत्यु भएको थियो ।

भगवतीका श्रीमान यादव रायमाझीले माथिल्लो सिद्धबाबामा पूजा गरेर राम्रो आन्दानी गर्ने सपना तल्लो सिद्धबाबा आइनपुग्दै मृत्युमा फेरिएको सुनाए । ‘राम्रो होला भनेर सिद्धबाबामा पूजा गर्न गएकी थिइन् । तर झन् नराम्रो भयो । मैले श्रीमती, आफन्त र अटो रिक्सा गुमाएँ ।’

उनले सिद्धबाबाले खुसी रक्षा गर्न नसकेका दुःख पोखे । त्यस दिनको घटनाले जिगन्दी बाटो नै बदलिदिएको उनको भनाइ छ । भने– ‘सिद्धबाबा पनि कमजोर भए ।’ 

आफ्नो मनोकामना पूरा हुने आसमा सिद्धबाबा पुग्नेहरू यहाँको पहिरोबाट सधैँ त्रसित हुन्छन् । सडकमा कतिबेला पहिरो आउँछ भनेर पूजा गर्दा पनि भयवित हुने अवस्था छ । सिद्धबाबा दैनिक पूजा गर्नेहरूको सङ्ख्या ५ सयदेखि २ हजारसम्म रहेको मन्दिर व्यवस्थापन समितिको तथ्याङ्कमा छ । 

समस्या र भय सिद्धबाबा मन्दिरमा पूजा गर्न जानेहरूको मात्र होइन, बुटवल–पाल्पा आवत–जावत गर्ने सबैको यात्रुको हो । सबै सवारी साधनको हो । उनीहरूका लागि सिद्धबाबामा माथिबाट खस्ने पहिरोे सधँै जोखिमपूर्ण छ । 

घुले पहिरो र हिले पहिरो दुवैको त्रासका बीच यो मार्गमा दैनिक सानाठूला १८ सय सवारी सधान हिँड्छन् । त्यसमा यात्रा गर्ने सबै सिद्धबाबा पुग्दा एक पटक झसङ्ग हुन्छन् । 

उनीहरू किन झसङ्ग हुन्छन्, पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलको एउटा तथ्याङ्कमा जवाफ छ । ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार सिद्धबाबा क्षेत्रको साढे तीन किलोमिटर सडकमा १ सय १३ वटा साना–ठूला पहिरा छन् । जसले बर्सेनि यात्रुहरूको ज्यान लिइरहेका छन् । 

२०२८ सालमा खोलिएको  सिद्धार्थ राजमार्गमा माथि पहाड छ भने तल खोला छ । पटक पटक पहिराले धरैको ज्यान लिएप्छि  सिद्धार्थ राजमार्ग अहिले काल राजमार्ग परिणत भएको छ । यहाँ भएका दुर्घटनाका तथ्याङ्क केलाउने हो भने यो सडक कति जोखिमपूर्ण छ भन्ने सहज अनुमान लगाउन सकिन्छ । 

यही असोज ७ गते गुल्मीको बलेटक्सारबाट छोराको बिहेको सपिङ गर्न सुनैली हिँडेका दम्पती सिद्धबाबाको पहिरोमा परे ।

माथिबाट आएको पहिरोले कार किच्दा ५१ वर्षीय श्रीमान्  तिलकराम भण्डारीको घटनास्थलमा ज्यान गयो । उनकी श्रीमती राधिका भण्डारी घाइते भइन् । १ च ७९९४ कार चलाएर सुनैली जाँदै थिए । उनीहरूलाई सपिङ गराउनका लागि आएका छिमेकी बलेटक्सार ४ का यमलाल ज्ञवालीको पनि भण्डारीसँगै ज्यान गयो । 

सोही ढुङ्गाले किचेर ना ३ ख ६१९१ नम्बरको ट्रकका चालक तिनाउ गाउँपालिका ४ पाल्पाका माधव रानाको पनि मृत्यु भएको भयो । 

७२ साल असार २ गते पाल्पाको प्रभास मेडिकलबाट फर्किंदै गरेका एक चिकत्सक दाम्पतीको सिद्धबाबाको पहिरो परि ज्यान गएको थियो । पाल्पाबाट  अपरान्ह पाँच बजेतिर आफै  लु १ ज २७० नम्बरको सेतो निजी जिप्सी गाडीलाई चलाउँदै आएका चिकित्सक तरूण कोचरको घटनास्थलमै ज्यान गएको थियो भने उनकी श्रीमती यशोदा कोचर पनि रहिनन् । भारतीय नागरिक कोचर दम्पतीले नेपालमा विगत दश वर्षदेखि विभिन्न निजी अस्पालमा सेवा गरेका थिए । 

बुटवल र पाल्पाको सिमाना क्षेत्रमा पर्ने बुटवलदेखि दोभानसम्म पर्ने ५  किलो मिटर क्षेत्रमामा प्रत्येक वर्ष यात्रुले ज्यान गुमाउनु परेको छ
। 

भारत सरकारको सहयोगमा निमार्ण भएको सिद्धार्थ राजमार्गको अन्य क्षेत्रभन्दा सिद्धबाबा दोभान क्षेत्रमा धेरै पहिरोले क्षति पुर्याएको छ । चर्रचरे, झुस्मा, सिस्ने जस्ता ठाउँहरू पनि सना पहिरोले सताएको छ । 

बुटवल  र पाल्पा बीचमा पर्ने सिद्धबाबा क्षेत्रमा दुई मन्दिर छन् । दुवै मन्दिर  पूजा गर्न जानेहरू दैनिक भीड हुन्छ । 

बुटवलको चिडिया खोल पर्ने तल्लो सिद्धबाबा र पाल्पाको दोभानमा पर्ने माथिल्लो सिद्धबाबाबीच  करिब ५०० मिटर अन्तर छ । ती दुई मन्दिरबीचमा नै धरैले ज्यान गुमाउने  गरेका छन् । 

यो दशैँमा सिद्धबाबाले धरैको यात्रा कष्ठपूर्ण बनाइदियो । दशैँको नवमी अर्थात् १३ गते खसेको धुले पहिरो १४ गते दिउँसो २ बजे मात्र हटाएको दोभान प्रहरी चौकीको रेकर्ड छ । 

यो वर्ष पनि ठूला दुघर्टना भएका छन् । पहिरो खसेर, ढुङ्गा झरेर र दुघर्टना भएर मृत्यु हुने गर्छ । 

प्राविधिकहरूका अनुसार माटोको पत्रले अड्याएको चट्टाने भीर खोस्रेर सडक बनाउनु नै समस्या हो । 

ढुङ्गा खसेर खाल्डाखुल्डी बढी हुन्छ । सवारी साधन तीव्र गतिमा गुडाउन सक्दैनन् । 

सोमबार दिउँसो पहिरो स्थलमा भेटिएका असाई कमल क्षेत्रीले भने पहिरो हटाउने क्रम जारी छ । तर सानाठूला पहिरो आउने क्रम पनि  रोकिएको छैन् । 

सोमबार  बिहान १० बजेदेखी ४ बजेसम्म राजमार्ग बन्द गरेर पहिरो हटाउने काम भएको थियो । ४ वटा स्काभेटरले उक्त पहिरो हटाएका हुन् ।

पछिल्ला वर्ष धरै पहिरो जान थालेपछि दुवैतर्फ अपरेटर पनि तयारी अवस्थामा राखिएको छ । 

सिद्धबाबा क्षेत्रको ट्राफिक व्यवस्थापनमा प्रहरी पनि दिनरात खटाइएको छ । 

प्रहरीले पहिरो खस्न सुरू गरेको अवस्था वा खतरा महशुस भएमा तत्काल सवारी रोकिने प्रश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवल प्रमुख एस.पी. कृष्णहरी शर्माले बताए । 

खासगरी वर्षादको समयमा सिद्धबाबा दोभान क्षेत्रमा लोडर तैनाथ गर्न थालेको ४ वर्ष भयो । सडक डिभिजन कार्यालयका इन्जिनियर पवित्रमणि आचार्यले भने– ‘यस क्षेत्रको भौगोलिक संरचनाले नै समस्या ल्याएको छ । जसले गर्दा आरसीसी र पीसीसी टिकाउन समस्या छ ।’ 

सिद्धार्थ राजमार्ग पहिरो हटाउन र ममर्त सम्भारका लागि वार्षिक ५० लाखभन्दा धरै खर्च भएको छ ।  

उनले भने यस्तो सिद्धबाको  पहिरो लागि मात्रै ठक्कै बजेट नछुट्याएको तर  पहिरो हटाउन आवश्यक बजेट जसरी पनि व्यवास्था गर्नुपर्छ ।

सिद्धार्थ मार्गको विकल्प नभएर सडक अवरूद्ध गुल्मी, स्याङ्जा, कास्की, बाग्लुङ, पर्वत, मुस्ताङ म्याग्दी जिल्ला प्रभावित हुन्छन् 

दस वर्षमा ६६ जनाको मृत्यु 

आर्थिक वर्ष ७०/७१ सिद्धबाबा क्षेत्रमा मात्रै ११ जनाको मृत्यु भएको छ भने ५ वटा बससहित ११ वटै सवारी साधनमा क्षति भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको रेकर्ड छ ।  

आर्थिक वर्ष ७१/७२ मा ४ वटा बस ३ वटा ट्रक, एउटा जिप सिद्धबाबामा पुरिएका छन् भने ३ वटा मोटरसाइक पनि पहिरोले बगाएको छ । 
सावरी साधन मात्रै होइन ५ जनाले अकालमा ज्यान गुमाउनु परेको छ । 

आर्थिक वर्ष ७२/७३मा ४ वटा सवारी साधनमा क्षति भएको छ भने ४ जनाको नै ज्यान गएको छ । 

आर्थिक वर्ष ०७३।७४ मा एउटा ट्रक एउटा बस र दुईवटा मोटरसाइकलमा पुरिएका छन् भने २ जनाको ज्यान गएको छ ।  यो आर्थिक वर्षको असोजसम्म ४ बाट सवारी साधन दुर्घटना भएका छन्, जसमा ३ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०६४ देखि ७० बीचमा ४१ जनाको  मृत्यु भएको प्रहरीको रेकर्ड छ ।  

सिद्धबाबा क्षेत्रको ५ किलो मिटर क्षेत्रमा पछिल्लो १० वर्षमा मात्रै १८ वटा बस, ७ वटा ट्रक, ९ वटा जिप–कार र १९ वटा मोटरसाइकल च्यापिएका छन् । यिनै दुर्घटनामा परेर ६६ जनाको मृत्यु भएको छ । 

सिद्धबाबा सडकका विकल्पको सधैँ चर्चा, काम शून्य

खासगरी बुटवलदेखि झण्डै ५ किलोमिटर दोभानसम्मको सडककै कारण यो राजमार्ग हुँदै पर्यटकहरू लुम्बिनी आउन र पोखरा जान डराउँछन् । 

पटक पटक पहिरोले सवारी साधन र मानवीय क्षति पुर्याउँदा  को जाखिम मोलेर आउछ र ? यो सडक प्रयोग नभएर पोखराबाट लुम्बिनी आउने पर्यटकहरू मुग्लिन हँुदै आउने गरेका छन् । 

उनीहरूलाई पाल्पा हुँदै बुटवल ल्याउन नसक्नु  सडक जोखिम रहेको पर्यटन व्यावसयीहरूको भनाइ छ । 

भारत सरकारको सहयोगमा पाँच दशकअघि बनेको यो सडकको विकल्पमा धेरै योजनाहरू चर्चामा छन् । 

यसअघिको केपी ओली नेतृत्वको सरकारले सुरुङमार्ग निर्माणको अध्ययनका लागि करिब आधा करोड बजेट विनियोजनसमेत  गरेको थियो । 

सडक विभागले विदेशी कन्सल्टेन्सीको सहयोगमा  सुरुङ मार्गको अध्ययन गरेको छ । पाल्पाका सांसद सोमप्रसाद पाण्डे सिद्धबाबामा सुरुङ मार्ग बनाउनुको विकल्पै नभएको दाबी गर्छन् । 

अत्यधिक दुर्घटना बढेपछि सिद्धबाका क्षेत्र सडकको वैकल्पिक मार्ग खोजीलाई तीव्रता दिइएको हो । 

यसअघि पनि राजनीतिक दलको दबाबमा डिभिजन सडक कार्यालयले अग्रसरता लिएर वैकल्पिक मार्गको खोजी सुरु गरेको थियो । 

जब कुनै ठूलो दुर्घटना या सडक बन्द हुन्छ, यो बेला विभिन्न बहस बाहिर आउने गरेको तर काम कुनै नभएको पाल्पा दोभानका स्थानीय विष्णु पाण्डेको बुझाइ छ । 

उनी भन्छन्– हामीले हरेक दिनजसो दुःख पाएका छौँ तर उच्च कर्मचारी, ठुला नेताहरू २, ४ दिन चर्चामा आउन कुनै न कुनै योजनाको बहस चलाउँछन् ।
 
सडक सुरक्षित बनाउन बुटवलदेखि दोभान, झुम्सासम्मको सुरुङमार्ग, हाफ टनेल, बेन्च कट, रकनेटलगायत आधा दर्जन प्रविधि अपनाउन सकिने बहस चलेको वर्षौँ वितेको छ ।

स्थानीयले पोखेको आक्रोस जस्तै सरकारले केही नगरी बसेको चाहिँ नभएको सडक डिभिजन कार्यलाय पाल्पाका इन्जिनियर पवित्रमणि अचार्यको दाबी छ । उनका अनुसार सिद्धबाबाको विकल्पमा यस्ता सडकको खाजी भइरहेका छन् ।

यी हुन सक्छन् वैकल्प रोड
 

सुरुङ मार्ग
सिद्धबाबादेखि दोभानको हेटबक्ससम्म सुरुङ मार्ग निमार्ण गर्नको लागि अध्ययन भएको छ । ३.५  किलोमिटर  सुरुङ मार्ग चाहिन्छ । यो मार्गका लागि बजेट धेरै लाग्ने भएकाले मन्त्रालय नै अलमलमा देखिन्छ । 

प्रारम्भिक अध्ययनअनुसार एक किलोमिटर सुरुङ निर्माणमा ४ अर्ब लाग्छ । 

१२ अर्बलागत भए तीन किलोमिटर सुरुङ तयार हुने अध्ययन छ । 

सडक विभाग सुरुङमार्गसँगै भेन्टिलेसन, २४सै घण्टा विद्युतीय बत्ती राख्नुपर्दा लागत बढी हुने भएपछि अलममा परेको हो । 

ज्यामिरे चरङ्गे मार्ग 

पाल्पाको झुस्माभन्दा माथि पर्ने ज्यामिरे र बुटवलसँग जोडएको  रूपन्देही देवदह चरङ्गेबाट जाने ज्यामिरे चरङ्गे मार्गको सर्भे भएको थियो । 
 डिभिजन सडकले गरेको  पुरानो  सर्भेको फाइललाई अहिले जोडतोडले उठाएको छ ।  

यो मार्गमा १६  किलो मिटर क्षेत्र ट्र्याक खोल्ने क्रममा छ ।  पूर्व–पश्चिम राजमार्ग जोडिने बुटवलसँग नजिक पर्ने चरङ्गेबाट पाल्पाको ज्यामिरे जाँदा समय पनि बचत हुने छ  । यो मार्गको लागि सरकारले बजेट छुट्याको छ । 

सिद्धबाबा पहिरो जाँदा यहाँबाट सवारी सधान सहज रूपमा पाल्पा लैजान सकिने अपेक्षा छ । सिद्धबाबा सुरुङ मार्ग बनाउँदा  या सेमी टनेल बनाउँदा पनि वैकल्पिक मार्ग चाहिन्छ । इन्जिनियर आचार्य भन्छन्– वैकल्पिक मार्ग छिटो निमार्ण नगरी सुखै छैन् । ती मार्ग बनाएपछि मात्र सिद्धबाबामा काम गर्न सकिन्छ । पाल्पा जिल्लाका जनप्रतिनिधि, कर्मचारी तथा प्राविधीकहरूले यही हप्ता पदैल यात्रा  गर्दै यो मार्गका लागि उपयुक्त भएको दाबी गरेका छन् । 

बेलबास नुवाकोट झुस्सा 

यो सडकमा बुटवलको बेलबास हुँदै पाल्पाको तिनाउ गाउँपालिको नुवाकोटबाट सिद्धार्थ राजमार्गमै झारिन्छ । २२ किलोमटिर  रहेको बेलवास नुवाकोट झस्सा मार्गको ट्र्याक खोलिएको छ । पुल बन्न बाँकी छ  ।

दुईवटा पुलमध्ये एउटाको एउटा पुल अब आउने साउनसम्म सक्ने ठेक्का सम्झौता भएको छ भने अर्को टेन्डर भएको छ । 

यो मार्गबाट मोटरसाइकलहरू अहिले विकल्पमा रूपमा सञ्चालन हुन थालेका छन् । जब पुल बन्छन्, त्यो बेला योमार्गलाई वैकल्पिक रूपमा लिइनेछ ।
 
बाँसटारी गोठादी खैरेनी मार्ग 

६१ किलो  मिटर  लामो रहेको यो मार्गमा पाल्पातिरका ट्र्याक खोलिँदै छ । रूपन्देहीको देवदहबाट  जोड्ने योजना रहेको छ । 
यो मार्गले  पाल्पाका अन्य ग्रामीण बस्तीहरूलाई समेत लाभ दिने छ । यो मार्गलाई पाल्पाका ग्रामीण क्षेत्रसँग जोड्ने मार्गका रूपमा पनि सरकारले अघि सारेको हो । 
अन्य वैकल्पिक मार्गभन्दा लामो छ  । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणबाट बुटवल आउने सवारीसधानलाई बीच भागमा पर्ने देवदहबाट नै पाल्पा पठाउन सकिन्छ । यसो गर्दा सिद्धबाबामा सवारी सधानको चाप पनि घट्छ । 

सिद्धबाबाको  आशीर्वाद नमागी पाल्पा जाने र बुटवल आउन चाहनेहरूलाई यो अर्को उपयुक्त मार्ग  बन्ने छ । 

यी मार्गबाहेक सिद्धबाबामा सेमी टलेनको अध्यय पनि भएको छ । एक विदेशी संस्थाले गरेको डी.पी.आर. फाइल फेला परेको उनले बताए । 

इन्जिनियर आचार्यका अनुसार  सेमी टलेन निमार्ण गर्नुभन्दा अघि वैकल्पिक मार्गको निमार्ण गर्नुपर्छ ।

उक्त  सेमि टनेलको काम गर्दा सवारी सधानहरू सिद्धबाबामा  सञ्चालन गर्न मिल्दैन  । तसर्थ अर्को मार्ग छिटो निर्माण गर्नुपछ । 

हाल बुटवलको सिक्स लेन सडकमा कार्यरत इन्जिनियर लिलाबहादुर भण्डारी पनि केही विकल्पहरू दिएका छन् ।

उनका अनुसार पहाडमा बेन्चकट प्रविधि अपनाउने, हाफटनेल निर्माण गर्ने, तिनाउ नदीमाथि पुल निर्माण गर्ने र रकनेट प्रविधि अपनाउने गरी पाँच विकल्प छन् ।

तर ती विकल्पमध्ये रकनेट प्रविधिको मात्र सर्भेक्षण भइको छ । अन्य देखिने  गरी कुनै ठोस काम भएको छैन । 

पहिरोको पीडा खेतमा फेलको तरकारीसमेत रोकियो 

यो दसँैको अघिल्लो दिन घर जाँदै गरेका पाल्पाका सासद सोम प्रसाद पाण्डले सिद्धबाबामा ९ घण्टा कुर्नुपर्याे । 

नवमी दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म पहिरोले उनलाई रोक्यो ।

लामो हिँडाइपछि पहिरो भएको सडक काटेको अनुभव सुनाए । उनका अनुसार दुई वर्षअघि मात्रै सांसद पाण्डे र पाल्पाका अर्का संसाद हरि नेपालको झण्डै पहिरोले च्यापिएका थिए ।

पाल्पाको दोभान घर भएको विष्णु पाण्डे बुटवल पाल्प दैनिक आउजाउ  गर्नुपर्छ । 

बुटवलमा रहेको एम्स कलेज र पाल्पाको तिनाउ माविमा पढाउने पाण्डे लु २० प ४९५५ नम्बर मोटरसाइकलमा आउने जाने गर्छन् ।

पाण्डेले भने– जागिर छाड्न पनि नमिल्ने  आउजाउ गर्दा सधैँ पहिरोको त्रास छ । 

त्यस्तै समस्या त्यो बाटो हँुदै दैनिक हिँड्ने ५ सय विद्यार्थी, दर्जनौँ कर्मचारीहरूले भोग्दै आएका छन् ।

अन्य सावरी साधनको कुरै छाडौँ, यो दशैँको बेला लगातर सडक बन्द हुँदा सिद्धार्थ राजमार्ग हँुदै आवतजातव गर्ने हजारौँ यात्रु र सयौँ सवारी साधन रोकिनुपार्यो । 

पश्चिम  क्षेत्रीय ट्राफिक प्रहरीका अनुसार दशैँको अघिल्लो दिन अर्थात १३ गते राति १० बजेदेखि पहिरोले बन्द भएको सडक १४ गते  दिउँसो १ बजे खुलेको थियो । पुनः राति बन्द भयो । त्यसलगतै  खुल्ने र बन्द क्रम जारी छ ।

२३ गते बिहान १० बजेदेखि ४ बजेसम्म सडक बन्द गराएर ढुङ्गा हटाएको थियो ।  

दशैँमा  सिद्धबाबा सडक बन्द भएपछि पोखराबाट नारायणगढ हुँदै बुटवल सवारी सधान आए । पाल्पाबाट अर्घाखाँची हँुदै सवारी सधानहरू वैकल्पिक मार्ग रूपमा सञ्चालन भएका थिए । 

सिद्धार्थ राजमार्ग पोखरा पर्यटक पुराउने मात्रै होइन, गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा जिल्लाको कृषि उपज बुटवल ल्याउने मुख्य नाका हो ।

 यही नाकाबाट दैनिक लाखौँ मूल्यको तरकारी मात्रै भित्रिने गरेको छ । तर सडकको दुरावस्ताले किसानहरू बजार आउन समेत डराउनुपर्ने बाध्यता छ ।

पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले सडकको सञ्चालन पाल्पालीको रोजिरोटीसँग जोडिएकाले तत्काल सुधार गर्नुपर्ने बताउँछन् । उनले भने– खेतमा फलेको तरकारी बेच्न बजारसम्म जान सिद्धबाबाको पहिरोले रोकेको छ । 

दुर्दशाको सडक 
 

माथि पहाड छ, तल खोला छ, बीचमा साँधुरो बाटो छ । सवारी साधनको चाप उस्तै । त्यसैमा पनि खाल्डाखुल्डी छन् । भूकम्पको धक्कापछि चर्किएका पहाडका चट्टानहरू प्रष्ट देखिन्छन् । 

गाडीको झ्यालबाट हर्दा चट्टानहरू मथिबाट झरेर टाउकोमै लाग्ला जस्तो लाग्छ । 

यो देशैँमा गुल्मीको तम्घास जाँदै गरेका प्रदीप आचार्य भन्छन्– यस्तो बाटो छ । ड्राइभरले कसरी जोगाएर लैजाला निकै डर लाग्यो । कतिकति बेला  सनासना

चट्टानका टुक्राहरू  खस्छन् । सवारी चालकहरू ती चट्टान तर्काउँदै गाडी दुगुराउँछन् । भने अलि ठूलो  चट्टान खस्दा रोक्छन् । पहिरो नै आउँदा  भने प्रहरीले रोक्न सङ्केत गर्छ । प्रहरी सडकमा  तैनाथ छन् । 

यस्तो दर्दनाक सडक देखेका र सुनेकाहरू अर्को पटक यहाँ  हिँड्न सकभर चाहँदैनन् ।

जानकारहरूका अनुसार  दुई वर्षअघि आएको भूकम्पले पहाडमा रहेका चट्टानहरू  निकै कमजोर बनाएको छ ।  

सनो पानी पर्दा ती खसिहाल्छन् । अर्को कारण  साँघुरो सडकमा अत्यधिक भारका  टिपरहरू तीव्र गतिमा कुदाउनु पनि हो । 

सिजनमा यहाँ दैनिक तीन सय टिपरहरू पाल्पा बुटवल गर्छन् । खासगरी पाल्पाको  तिनाउ गाउँपालिका रहेका ढुङ्गा खानीबाट सिमेन्ट उद्योगलाई माल बोल्नको टिपरहरू सञ्चालमा छन् । 

उनीहरूको भार क्षमताले सडक थप समस्या  पुरिएको पश्चिम  क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका डी.एस.पी. माधव बुढाथोकीले बताए ।

चट्टान बिक्री गर्न व्यावसायीहरूको सुझाव 

रूपन्देही रोडाढुङ्गा व्यावसायी सङ्घ रूपन्देहीका अध्यक्ष गोपाल ज्ञवालीले  बेच्च कट आर्थात डाँडा काट्ने विकल्पमा आफूहरूले  सहमत बनेको बताए ।

इन्जिनियरले यो विधिबाट काम गर्दा  २ अर्ब लागत लाग्ने र  १० अर्बको माल निस्कने  अनुमान लगाएका छन् । त्यसको कुनै ठूलो सर्भेक्षण चाहिँ भएको छैन ।

नदीजन्य पदार्थका अभाव हटाउनका लागि पनि महत्वपूर्ण क्षेत्र हुने उनको बुझाइ छ । यसो गर्दा क्रसर व्यावासयीहरू सहभागी बन्ने छन् । 

यदि राज्यले  लगानी गर्न आफूलाई अनुमति प्रदान गरेमा लागनीको पूरै जिम्मा लिने ज्ञवालीले दाबी गरे ।

यो विधिबाट डाँडा काट्दा अत्याधुनिक मेसिन प्रयोग गरिन्छ । अहिले चलिरहेको सडक अवरुद्ध हुँदैन  ।

डाँडा काटिसकेपछि नयाँ सिटी निमार्ण गर्न पनि सकिने छ । सिद्धबाबाको डाडाँमाथि अर्को बस्ती निमार्ण हुने छ । 

उनले यस्तो काम गर्न वातावरणविदहरूले नदिने  भएकाले उनीहरूलाई राज्यले नै मनाउनुपर्ने सर्त राखे । 

राज्यलाई पनि अर्बौंको राजस्व उपलब्ध हुने छ भने कटान गरेको मालले नेपालका सबै ठूला आयोजनालाई पूरा गरी विदेश नियार्त गर्न सकिन्छ । यो व्यावसायीहरू काम गर्ने ठूलो  अवसर पनि बन्ने छ ।

रकनेट प्रविधि सफल 

दुई मन्दिरको बीचमा पर्ने भीरमा गत सालको माघ महिनामा  रक नेट प्रविधि जडान गरिएको थियो । उक्त क्षेत्रमा अहिले पहिरो खसेको छैन ।

एक सय २० वर्ग मिटरमा चार मिटर उचाइ र २७ मिटर चौडाइमा रकनेट जडान  गरिएको थियो ।

यो प्रविधिमा माथिबाट खसेको ढुङ्गा जालिमा रोकिन्छ र पछि प्वाल पारेर निकालिन्छ ।

उहिले सिद्धबाबामा यो प्रविधि प्रयोग भएको स्थानमा पहिरोले दुःख दिएको छैन । 

जियोटेक सोलुसन इन्टरनेसनल इन्जिनियरिङ कम्पनीले अष्ट्रियन प्रविधिको रक नेट जडान गर्दा करिब ६० लाख खर्च भएको थियो । 

भूगर्भविद् एवं त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक इन्जिनियर डा. रञ्जन दाहालले माथिबाट झरेर आउने ढुङ्गालाई जालीले अड्याएर राख्ने र सीधै सडकमा खस्न नपाउने हुँदा दुर्घटना न्यूनीकरणका लागि उपयोगी  बनेको दाबी गरे । 

उनले सिद्धबाबा रकनेट सफल भएको अयन्त्र पनि यस्तो विधि अब प्रयोगमा ल्याउने बताए । 

पहरो रोक्न पूजा 
 

असोज १३ गते आएको पहिरो नरोकिएपछि सिद्धबाबामा पहिरो रोक्नका लागि नागको पूजा गरिएको छ । 

पहिरोले सडक अवरुद्ध गर्ने र कहिले कार च्याप्ने कहिले मोटरसाइक पुर्ने गरेपछि सिद्धबाबा मन्दिरमा नागको विषेश पूजा  गरिएको हो ।

यही २० गते शुक्रबार पहिरो रोक्नका लागि नागको विशेष पूजा गरिएको सिद्धबाबा मन्दिरका साहयक पुजारी पुरुषोत्तम  बस्यालले बताए । 

उनले कतै नाग बाबा रिसाएर यस्तो भएको हो कि भन्दै पूजा गरिएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप