‘नई ईश्वर वल्लभ अवार्ड’ बसन्त चौधरीलाई

काठमाडौं । नई प्रकाशनले साहित्य क्षेत्रकै प्रतिष्ठित ‘नई ईश्वर वल्लभ अवार्ड’ यो वर्ष कवि तथा साहित्यकार बसन्तकुमार चौधरीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
नई प्रकाशन संचालक समितिका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले यो वर्षका लागि ‘नई ईश्वर वल्लभ अवार्ड’ साहित्यकार चौधरीलाई दिने निर्णय गरेको हो ।
विश्व काव्य यात्रामार्फत नेपाली भाषा र साहित्यको विश्व माझ प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान दिएका कारण चौधरीलाई प्रतिष्ठित अवार्ड प्रदान गर्ने निर्णय भएको नई प्रकाशनले जनाएको छ ।
चौधरीले पाउने पुरस्कार १ लाख राशिको हो । यसअघि नई प्रकाशनले बैशाख ३० गते काठमाडौंमा आयोजना गर्न लागेको नई प्रकाशनको रजतजयन्ती तथा शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ औं जन्मोत्सवको अवसरमा साहित्यकार चौधरीलाई पुरस्कृत गर्ने योजना बनाएको थियो । तर, कोभिड संक्रमणका कारण पुरस्कार वितरण गर्ने कार्यक्रम केही पछि धकेलिएको नई प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।
नेपालका कवि, साहित्यिक पत्रकार र नेपाली भाषा तथा साहित्यमा विशिष्ट योगदान गर्नेहरुलाई यस्तो अवार्ड प्रदान हुँदै आएको छ । नई प्रकाशन २०५२ सालमा स्थापना भएको थियो । चर्चित कवि तथा साहित्यिक पत्रकार ईश्वर बल्लभको निधन भएपछिका वर्षदेखि उहाँको नाममा अवार्ड वितरण गर्न थालिएको थियो ।
प्रत्येक वर्ष प्रदान गरिने यो विधा तर्फको अवार्ड यसअघि जयदेव भट्टराई, प्रकट पगेनी शिव, विश्व विमोहन श्रेष्ठ, प्रदीप नेपाल, विजय चालिसे, सञ्जय राई, कञ्चन पुडासैनी लगायतले पाउनुभएको थियो ।
चौधरीले केही वर्षअघिदेखि सुरु गरेको विश्व काव्य यात्रा विश्वभर चर्चित भएको थियो । सन् २०१२ को अगस्टदेखि अमेरिकाको न्यूयोर्कबाट सुरु भएको उहाँको विश्व काव्य यात्रा ११ वटा देशको २० वटा शहरसम्म पुगेको थियो । गत वर्ष कोरोनाको संक्रमण बढेपछि उहाँको काव्य यात्रा स्थगित गरिएको छ ।