शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमुख ३ दल बैठक : निर्वाचन मिति नसार्ने देउवाको प्रतिबद्धता

बिहीबार, २६ असोज २०७४, १७ : ४९
बिहीबार, २६ असोज २०७४

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति नसर्ने स्पष्ट पारेका छन् । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बैठक आयोजना गरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनेमा आश्वस्त पारेका हुन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विहिबार अपरान्ह बसेको बैठकमा प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन सरकार प्रतिबद्ध रहेको पनि बताएका हुन् । 

बैठकपछि निर्वाचनको मिति नसार्ने प्रतिबद्धता प्रधानमन्त्री देउवाले जनाएको एमाले वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए । बैठकले राष्ट्रिय सभा निर्वाचन विधेयकमा सहमति जुटाउने जिम्मेवारी प्रमुख तीन दलका शीर्ष नेतृत्वलाई दिएको छ । 

राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणको आधारमा तय गर्नुपर्ने सरकारको प्रस्तावमा प्रमुख प्रतिपक्ष एमालेको असहमति छ । सोही विषयमा सहमति जुटाउने जिम्मेवारी काँग्रेस सभापति देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय गरिएको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि विधेयक संसदमा विचाराधिन छ ।

आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने संवैधानिक बाध्यता छ । सरकारले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक कानुन निर्माण गरेपनि राष्ट्रिय सभा निर्वाचनसम्बन्धि कानुन बनाउने विषयमा भने दलीय सहमति जुटाउन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप