खेलाडीको दुःख : मेडल र पुरस्कार बोरामा राखेर माटोको भाडा बनाउँदै

person access_timeअसोज २६, २०७४ chat_bubble_outline0

भक्तपुर – विश्वमा खेलक्षेत्र नाम र दाम दुवै कमाउने माध्यमका रुपमा लिइन्छ । नेपालमा पनि धेरैले खेल क्षेत्रमा लागेर नाम र दाम कमाएका पनि छन् । तर, कोही भने खेलकुदमा लागेर परिवार पाल्न समेत नसक्दा आफ्नो पुर्खौली पेशामा फर्किन बाध्य छन् । 

भक्तपुर नगरपालिका प्रजापति टोल पोटरी स्क्वाएरका विनोद कुमार प्रजापति एथ्लेटिक्सका राष्ट्रियस्तरका निर्णायक र प्रशिक्षक हुन् । वि.स २०३८ साल साउन १९ गते भक्तपुरमा जन्मिएका बिनोदले माध्यमिक तहसम्म शिक्षा अध्ययन गरेका छन् । पन्ध्र सोहै वर्षको उमेरबाट खेलक्षेत्रमा लागेका उनले धेरै राष्ट्रियस्तरका प्रतियोगीतामा निर्णायक र प्रशिक्षक भूमिका निभाए । आफ्नो ठाँउमा समेत खेलकुदको विकाश गर्ने उद्देश्यले एथ्लेटिक्सको प्रशिक्षण केन्द्र खोले । 

विनोदले पाँचौं र छैटौं राष्ट्रिय खेलकुदमा आफ्नो निर्णायक कला समेत देखाए ।  एथ्लेटिक्स खेलमा लागेका बिनोदले नाम कमाए तर जिन्दगी चलाउन पुग्ने दाम कमाउन सकेनन् । 

उनको धेरै ठूलो सपना पनि थिएन । छोरी पूर्णीमा र छोरो एमनलाई राम्रो शिक्षा दिने । श्रीमती लक्ष्मी केशरी प्रजापतिको मृहारमा खुसी ल्याउने । अनी बुढाबुढी भएका माता पितालाई सुख दिने । 

तर, विनोदको यो सपना खेलकुद क्षेत्रले पूरा गर्न सकेन । प्रवेशिकासम्म पढेका उनीसँग राजनीतिक पावर थिएन । त्यसैले कुनै प्रतियोगीतामा विदेश जान पनि पाएनन् । राष्ट्रिय खेलकुद परिषदमा युवराज लामा सदस्य सचिव हुँदा जागिरको लागि निवेदन दिए । सयौं प्रमाणपत्र पेश गरे, उनीसंगैका केही साथीले जागिर पाए तर उनले पाउन सकेनन् । रातोपाटीसँग कुरा गर्दै विनोदले भने ‘मैले प्राप्त गरेका मेडल, पुरस्कार र प्रमाण पत्र बोरामा थन्काएर पुर्खौली पेशामा रमाए ।’

श्रीमानले यसो भनिरहँदा उनकी श्रीमती लक्ष्मीकेशरीको मुहारमा दुःख मिश्रीत हाँसो थियो । संगै पसलमा रहेकी छोरी ढोकामा आएर कुुराकानी सुन्दै थिइन् । छोरा एमन भने स्कुल गएका थिए । विनोदले सोचेर नै पुर्खौली पेशामा रमाउने  निर्णय गरेको समेत बताए । अन्य क्षेत्रमा लाग्न उनको शिप थिएन् । त्यसैले विगत ७/८ वर्षदेखि विनोदले पूर्ण रुपमा खेल क्षेत्र त्यागेर माटोको भाडाँ बनाउने पेशा अंगाले । अहिले यो पेशामा धेरै नसके पनि परिवारको मुहारमा खुशी ल्याउन सक्षम भएको अनुभव गर्छन् । 

खेलकुदमा लाग्दा भक्तपुरका केही विद्यालयमा समेत एथ्लेटिक्स सिकाएका उनले सुरुमा दुई हजार लिन्थे र समयसंगै पछि त्यो पाँच हजार  भएपनि उनको आवश्यकता पुरा भएन् । त्यो बेलामा आफुले नेपाली सेनालाई समेत प्रशिक्षण दिएको र  १५ हजार मासिक लिएको तर त्यो दिगो हुन नसकेको विनोदले बताए । २०७२ सालको बैशाखमा आएको भुकम्पले उनको घर भत्कियो । अहिलेपनि टहरोमा बसिरहेका छन्् । उनले भने ‘घर बनाउन पैसा छैन, कमाएकोले खर्च नै ठिक्क छ,।’

देशमा विनोद जस्तै धेरै खेलाडी छन् । जो आफ्नो न्युनतम पारिवारिक आवश्यकता पूरा गर्न खेलकुद नै त्यागेर अन्य व्यवसाय वा विदेशतिर लागेका छन् ।
 

हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ