बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

क्यालिफोर्नियाको डढेलोबाट २३ जनाको मृत्यु  करिब ६ सयजना बेपत्ता

बिहीबार, २६ असोज २०७४, १७ : ४२
बिहीबार, २६ असोज २०७४

सान फ्रान्सिस्को – अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि ठूलो जनधनको क्षति भएको छ र त्यसमा परी मृत्यु हुनेको सङ्ख्या पनि बढेर २३ पुगेको छ । 

जङ्गलमा लागेको डढेलो पछि सहर बस्तीमा छिरेको थियो । त्यसमा परी अहिलेसम्ममा ठूलो क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । 

गत आइतबार रातिदेखि लागेको भिषण डढेलोमा परी ज्यान जाने व्यक्तिको सङ्ख्या २३ पुगेको र अरु कैयौँ व्यक्ति हराइरहेका बताइएको छ । तर डढेलो अझै पनि नियन्त्रणमा आउन नसकेको अधिकारीहरुले जानकारी दिएका छन् । 

क्यालिफोर्निया राज्यको ५० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा डढेलो सल्किएको छ । अहिले पनि यसको पूर्ण रुपमा नियन्त्रण हुन सकिरहेको छैन । करिब २०० अग्निनियन्त्रकले आगो निभाउने काम गरिरहेका बताइएको छ । 

उक्त राज्यको सोनोमा काउन्टी सबैभन्दा बढी प्रभावित भएको छ । उक्त काउन्टीमामात्र १७ जनाको ज्यान गएको छ । त्यसैगरी सो जिल्लाबाट धेरै व्यक्ति हराएका छन् । 

डढेलोका कारण प्रभावित भएका कम्तीमा पनि २५ हजार जनालाई त्यहाँबाट अन्यत्रै सारिएको बताइएको छ । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको उक्त राज्य सरकारले जनाएको छ । 

हजारौँ स्थानीय नागरिकले घर छोडेर भाग्न बाध्य भएका छन् । कतिपय आफै भाग्न सकेका थिए भने अरु कैयौँलाई प्रभावित क्षेत्रबाट उद्वार गरेर अन्यत्रै राखिएको छ । 

बिहीबार प्राप्त समाचारअनुसार करिब पाँच हजार जनालाई शिवीर बनाएर राखिएको छ । सो शिवीरमा बस्ने नागरिकको घरबास जलेको र अन्य भौतिक सम्पत्ति पनि क्षति भएको छ । 

पछिल्लो जानाकारी अनुसार अहिलेसम्ममा तीन हजार ५०० भन्दा बढी घर खरानी भएका छन् । अरु पनि स्थानीय नागरिकका आधारभूत संरचनाहरु डढेर खरानी भएका छन् । 

अहिले पनि डढेलो पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेकोले करिब २०० वटा अग्निनियन्त्रक र सेनाले डढेलो नियन्त्रणको प्रयास जारी राखेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप