बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुली अस्पतालको सेवा : ‘काग कराउदै गर्छ पिना सुक्दै गर्छ’

बिहीबार, २६ असोज २०७४, १७ : १९
बिहीबार, २६ असोज २०७४

सिन्धुली– सिन्धुली सुनकोशी गाँउपालिकाकी रमिला तामाङ डेलिभरीको लागि दुईदिन पहिला जिल्ला अस्पतालमा भर्ना भईन् ।  सेतो पानी र रगत बग्ने समस्या भएपछि विरामी र आफन्त आत्तिन थाले । यस्तो भएको खण्डमा बच्चा र आमालाई जोखिम हुन्छ भन्ने कुराको बारेमा त्यही चिकित्सकहरुबाट जानकारी गराईन्छ । तर त्यो समयमा त्यहाँका नर्सहरुले यो सामान्य हो भन्दै थमौति दिए । बिरामीलाई झन गाह्रो हुँदै गएपछि रमिताको आफन्त डाक्टरको खोजिमा लागे ।
यतिसम्म गरेकी उनकी आमाजुले जिल्लामा आफुले चिनेको ठूला मान्छेसँग हारगुहार पनि गरिन् । तर ‘सामान्य हो अप्रेशन गर्नुपरे फोन गरेर डाक्टरलाई बोलाउछौ’ भन्दै अस्पतालबाट थुम्थुम्याएको १३ घण्टा वित्यो । त्यतिवेलासम्म विरामी र आफन्तले उपचार त के डाक्टरको अनुहारसम्म देख्न पाएनन् । डिस्चार्जका लागि अनुरोध गर्दा छिटो सुनुवाइ भएन । आफन्तको चर्को दबाबपछिमात्र बल्ल धुलिखेल अस्पतालमा पठाइयो । 

डाक्टर भेट्न फोर्स लगाउनुपर्छ 
 

रमिला त प्रतिनिधि पात्र मात्रै हुन् । अस्पतालको सेवाप्रति चित्त नबुझ्नेहरुको संख्या धेरै छ । रातको समयमा चिकित्सक नहुने । राम्रो कुराको बारेमा जानकारी लिन खोज्दा झर्किने बानीले सिन्धुलीका नागरिकलाई दिक्क बनाएको छ । अस्पतालमा उपचारका लागि भर्ना हुने जोकोहीलाई डाक्टर भेट्नै गाह्रो हुन्छ । अनि बिरामीका आफन्त सोच्न थाल्छन् – ‘जिल्लामा चिनेका ठूला नेता तथा व्यक्तिहरु को छन् भनेर । 

के भन्छ प्रशासन ?

यो अस्पतालमा राम्रो उपचार नहुभएपछि जनकपुर,बर्दिवास र काठमाडौ जानु विरामीको बाध्यता छ । तर, बिरामीको गुनासोबारे अस्पताल विकास समितिका अध्यक्ष सुवास कार्कीको जवाफ अर्कै छ । ‘दशै,तिहार र बर्खे बिदा एकै पटक बस्ने हुदा पनि अस्पतालमा चिकित्सकको कमी भएको हो, तरपनि उपचार भने भईरहेको छ ।’ उनको भनाई छ । 

कार्कीकै अनुसार पनि निर्देशक सुमित्रा गौतमको सरुवाभएपछि उनि काठमाडौंमै छन् । उनको ठाँउमा नयाँ निर्देशक आएका  छैनन् । वि.स २०३५ सालमा स्थापना गरेको यस अस्पताल १६,२५ हुदै ५१ वेडमा स्तरउन्नती भएको छ । ५ जना स्थायी र ११ जना डाक्टर करारमा छन् । तर अहिले कति जना अस्पतालको सेवामा छन् भन्ने कसैलाई थाहा छैन । दुई वर्षदेखि वर्थिङ सेन्टर सुरु गरेको यस अस्पतालमा प्रसुतिको लागि दुई जना डाक्टर राखिएको छ । तर, एक जना बिदामा र अर्काे एक जनालाई भेट्नै मुस्किल पर्छ ।

त्यति मात्र होइन, अस्पतालका कर्मचारीले बिरामीप्रति गरेको ब्यवहारले पनि अस्पताल पटक÷पटक विवादमा पर्ने गरेको छ । एक जना सेवाग्राहिले अस्पतालको व्यवस्थापनप्रति व्याङग्य गर्दै भने ‘ यहाँ यस्तै छ, काग कराउदै गर्छ पिना सुक्दै गर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप