मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

वडाध्यक्षको गुनासो : खै ! यसरी त कति दिन चल्न सकिएला र ?

बिहीबार, २६ असोज २०७४, १७ : १३
बिहीबार, २६ असोज २०७४

गुल्मी–सदरमुकाम तम्घासबाट साढे आठ वजे नै खाना खाएर १४ किलोमिटर पश्चिम धुर्कोट गाउँपालिका अन्तरगत वडा नम्वर ४ मा रहेको वडाकार्यालयको डिउँटी सम्हाल्न जान्छन वडाध्यक्ष मानबहादुर जोगी कुँवर । साँझ पाँचे सम्मको कार्यभार सकेर मोटर साईकलमा फर्किन्छन् उनि ।
 जननिर्वाचत हुन अघिदेखि सदरमुकाममा होटल व्यवसाय गर्दै आएका कुँवरको कारोवार अहिले लथालिङ्ग छ । उनी होटल बेच्न ग्राहक खोज्दै हिडेका छन् । चुनावमा लागेको ऋण, दैनिक वाईकमा पेट्रोल खर्च  र मोवाईल खर्च पुराउन हम्म्मे हम्मे परेको दुखेसो गर्छन् उनि ।
यस्तो समस्या उनको मात्र होईन, वडा नम्वर १ नयाँगाउँका वडाध्यक्ष कमल थापाको पीडा उहि छ । जसले विगतमा सुन्तला खेती गरेर पारिवारिक गुजरा चलाउँदै आएका थिए । वडा कार्यालयमा दश पाँचको डिउँटी, विहान वेलुका विकास निर्माण, छलफल कचेरी आदिमा व्यस्त हुँदा उनको सुन्तला खेती व्यवसाय टाट पल्टिने अवस्थामा पुगेको छ ।
वडा नम्वर २ पिपलधाराका वडाध्यक्ष नविन जिसीले त सदरमुकाममा रहेको पसल बेचेर गाउँतिरै सरेका छन् । वडा नम्वर ३ हाडहाडेका वडाध्यक्ष विष्णु श्रीस् कृषि व्यवसाय गर्दथे । अहिले उनको वारीमा के फलेको छ भनेर हेर्ने फुर्सद समेत पाएका छैनन् । वडानम्वर  ५ वस्तुका वडाध्यक्ष ढुण्डीराज भण्डारी आफ्नो होटल बेच्नै पर्ने अवस्थामा पुगेको र दैनिक खर्च चलाउन मुस्कील परेको गुनासो गर्छन् । पहिलो पटक दलित समुदायबाट धुर्कोटरजस्थलको जनप्रतिनिधीहरुको नेतृत्व सम्हालेका वडा नम्वर ६ कृष्ण नेपालीलाई अहिले भलादमी बनेर हिड्न खर्च तगारो बनेको छ ।
  वडा नम्वर ७ वाग्लाका वडाध्यक्ष हिमप्रसाद पन्थी शिक्षक थिएर घर राम्ररी चलेको थियो । शिक्षकको जागिर छाडे पनि वडाध्यक्ष त भए  तर महिनै पिच्चे आउने अर्थिक श्रोतको कुलो ठप्प भए पछि उनलाई पनि मुस्कील परेको छ ।
 धुर्कोट गाउँ कार्य समितिको बैठकले वडाध्यक्षहरुलाई मासिक १० लिटर पेट्रोल र ५ मासिक ५ सय संञ्चार खर्च छुट्टाएको छ । त्यसले दश दिन पनि पुग्दैन भन्छन् वडाध्यक्षहरु । डेढ लाख सम्म वडाध्यक्षहरुले विपद्मा परेका जनतालाई सम्वोधन गर्न सक्ने निर्णय भए पनि त्यो रकम वडाध्यक्ष आफैले सिधै दिन सक्दैनन् ।  गाउँपालिकालाई सिफारिस मात्रै गर्ने हुन् ।
४ का वडाध्यक्ष कुँवरले भने ‘अस्ती एउटा परिवारको घर जल्यो त्यहाँ गएर मैले दशवटा हजार राहत दिन चाहेर पनि दिन सकिन् । साह्रै निरही भईयो ।’ विकास निर्माण वडाध्यक्ष आफैले फरफारक गर्न पाउँदैनन् । सिफारिस मात्रै गरेर गाउँपालिकामा पठाउने हो । यो धुर्कोट गाउँपालिकाबाट गरिएको जिल्लाभरका वडाध्याक्षहरुको  प्रतिनिधी मुलक समस्याको अध्ययन हो ।  जिल्लाका हरेक वडामा वडाध्यक्षहरु बेतलवी सचिव सरह कार्यालयमा नियमित खटेका छन् । सचिवले तलव खान्छन् ,उनिहरुको लवाई खुवाई र  ‘लिभिङ्ग स्टाण्डर’ वडाध्यक्षको भन्दा फरक छ ।
वडाध्यक्षले महिनामा दुईपटक हुने प्रति बैठक ८ सय ५० कुरेर बस्ने हो । जताततैका वडाध्यक्षहरु आर्थिक अवस्थाले अत्तालिएको बताउँछन् । ‘खै यसरी त कति दिन, कसरी चल्न सकिएला र ?’ हरेक वडाध्यक्षहरुले यहि प्रश्न गर्छन् । चुनाव हुनुअघि नगर गाउँ प्रमुख र वडाध्यक्षहरुलाई सरकारले प्रस्ताव गरेको तलवको अहिले अत्तोपत्तो छैन् ।
 अन्य जिल्लाका कतिपय पालिकाहरुमा वडाध्यक्षको तलव तोकेको बताईएपनि  गुल्मीका कुनै पनि पालिकाले तलव छुट्टाएका छैनन् ।  जिल्लाको दुर्गम गाउँपालिका कालिगण्डकीका प्रमुख उपप्रमुख र वडाध्यक्षहरुलाई झन आर्थिक संकट परेको छ ।
त्यहाँका गाउँप्रमुख वेदबहादुृर थापा मगरे लौरो टेकेर असिना पसिना गर्दै  गाउँ गाउँमा पुग्छन् । सवै वडाहरुमा मोटरबाटो जोडिएको छैन् । फोनले खासै काम गर्दैन । सञ्चार सेवा प्रयाप्त नहुँदा एकदम गाह्रो परेको त्यस गाउँपालिकाका कार्यकारी अधिकृत वावुराम पल्ली बताउँ छन् । विशेषतः वडाध्यक्षहरु वढि खट्नु पर्ने भएकोले उनिहरुको आर्थिक समस्या तलवका रुपमा नभएर खट्न पटन्को सम्मान स्वरुप राज्यले हेरफेर गर्नुपर्ने धारणा राख्छन् नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डे । उनि भन्छन्–‘ जनप्रनिधिीहरुको डिउँटी होईन जनतालाई निस्वार्थ सेवा दिने दायित्व हो, उनिहरुलाई तलव तोक्नु भनेको सम्मान गुमाउनु हो यसर्थ खटनपटन खर्चलाई राज्यले भत्ताका रुपमा सम्वोधन गर्न नसके भोली अराजकता बढ्न सक्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप