शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘गोली हान्दे’ भन्दै प्रहरीले पेस्तोल तेर्स्याएपछि... (भिडियो)

प्रहरी भन्छ, ‘प्रहरीमाथि नै जाइ लागेपछि विकल्प थिएन’
आइतबार, ०५ वैशाख २०७८, २१ : ४९
आइतबार, ०५ वैशाख २०७८

महोत्तरीमा प्रहरीले सर्वसाधारणलाई ताकेर बन्दुक तेर्स्याएको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । यो घटना गएराति महोत्तरीको महोत्तरी गाउपालिका वडा नम्बर–२ स्थित बजार क्षेत्रमा भएको हो ।

पक्की घरको छत ढलान गरिरहेको समयमा प्रहरीले ढलान रोक्न भनेपछि स्थानीयवासी र प्रहरीबीच तनाव उत्पन्न भएको थियो । स्थानीयवासीहरुको अनुसार सञ्जिव कापर र मिथिलेश देवी कापरलाई प्रहरी सहायक निरीक्षक मुक्तिनाथ यादवले ‘गोली हान्दे’ भन्दै पेस्तोल तेर्स्याएका हुन् । सो क्रममा शैलेन्द्र कापरलाई प्रहरीले कुटपिटसमेत गरेको आरोप स्थानीयले लगाएका छन् ।

शुक्रबार बिहानैदेखि घरको छत ढलानमा जुटेका घरधनी रामबहादुर कापरले रातिसम्म कार्यलाई निरन्तरता दिएका थिए । घरधनी रामबहादुर कापरका अनुसार राति ८ बजेको समयमा एक्कासी प्रहरीले घरमा आएर जथाभावी गालीगलौज गर्न थालेपछि विवाद सिर्जना भएको बताए ।

यता, महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले भने चर्को स्वरमा गीत बजाउँदै काम गरिरहेकोले बाजा बन्द गराउने क्रममा प्रहरीमाथि स्थानीय जाइ लागेकाले प्रहरीले आत्मसुरक्षाको लागि प्रतिरोध गर्नुपर्ने अवस्था आएको बताए । प्रहरी नायब उपरीक्षक विष्टले भने, ‘घरको छत ढलानका लागि घरधनीले बिहानैदेखि चर्को स्वरमा बाजा बजाइरहेको र रातिको समयमा एक जनाले प्रहरीलाई चर्कोस्वरमा गीत बजाउदैँछ भनेर गुनासो गरेपछि प्रहरी टोली सो स्थानमा गएको थियो । उनका अनुसार प्रहरीले गीत बन्द गर्न भनेपछि घरधनी र छत ढलान कार्यमा खटिरहेका मिस्त्रीहरु मिलेर प्रहरीमाथि जाई लागेका थिए ।

उनले भने– प्रहरीमाथि जाई लाग्न थालेपछि प्रहरीलेसमेत प्रतिरोध गर्नुको विकल्प थिएन । सो क्रममा पेस्तोल देखाएर अवस्थालाई साम्य पारिएको थियो । तर कुनै पनि व्यक्तिलाई पिस्तोल तेर्साएको छैन, कसैलाई कुटपिट पनि गरिएको छ ।

उनले स्थानीयवासीलाई राति सुत्ने समयसम्म पनि चर्को स्वरमा गीत बजाउँदा स्थानीयले पटक–पटक साउण्ड कम गर्न आग्रह गर्दा तर दादागिरी शैलीमा वास्ता नगरेपछि स्थानीयहरुले प्रहरीले पटक–पटक फोन गरि गीत बन्द गराउन पहल गरेपछि प्रहरीले त्यहाँ पुगेको नायब उपरीक्षक विष्टको दावी छ ।

यता, घरधनी कापरले भने आफूहरुले कुनै पनि किसिमको बाजा नबजाएको र ढलान नरोकेको भनेर प्रहरीले पिस्तोल निकालेर मानिसहरूलाई लखेटेर भगाएको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप