शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ को नाम ‘मधेस’ राख्न जसपा र माओवादीको प्रस्ताव

एमालेले सर्वदलीय बैठकपछि टुंगो लगाउने
आइतबार, ०५ वैशाख २०७८, १९ : ४४
आइतबार, ०५ वैशाख २०७८

जनकपुर । प्रदेश नम्बर २ को प्रदेशसभा सचिवालयले प्रदेश र स्थायी राजधानीको नामको लागि प्रस्ताव गर्न सूचना आह्वान गरेपछि सत्तापक्ष र प्रतिपक्षले प्रस्ताव दर्ता गराएका छन् । प्रदेशको नामकरण र स्थायी राजधानीका लागि सत्तासीन जनता समाजवादी पार्टी (जसपा)का र नेकपा (माओवादी केन्द्र)  सांसदहरुले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।

प्रदेशको नामकरण र स्थायी राजधानीका लागि २÷२ वटा प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए ।

प्रदेशको नामकरणका लागि जसपा नेपालका प्रमुख सचेतक शैलेन्द्र कुमार यादव र नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साह तथा राजधानीका लागि (जसपाका प्रदेशसभा सदस्य परमेश्वर साह तथा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले प्रस्ताव दर्ता गराएको सचिव यादवले बताए ।

दुबै दलका नेताले प्रदेशको नाम ‘मधेश’ र स्थायी राजधानी ‘जनकपुरधाम क्षेत्र’ कायम हुने गरी सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।

जसपाको तर्फबाट राजधानी ‘जनकपुरधाम क्षेत्र’ को सवालमा प्रदेशसभा सदस्य परमेश्‍वर साहको प्रस्तावमा प्रदेशसभा सदस्यहरु चमेली देवी दास, सञ्चमाया मोत्तान र मिरा कुमारी साहले समर्थन जनाएका छन् भने प्रदेशको नामकरण ‘मधेश’ प्रदेशको सवालमा प्रमुख सचेतक शैलेन्द्र कुमार यादवको प्रस्तावमा प्रदेशसभा सदस्यहरु रानी कुमारी तिवारी र बबिता कुमारीले समर्थन जनाएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्रको तर्फबाट राजधानी ‘जनकपुरधाम क्षेत्र’ र प्रदेशको नामकरण ‘मधेश’ प्रदेशको सवालमा संसदीय दलका नेता भरतप्रसाद साहले दर्ता गराएको प्रस्तावमा संसदीय दलका उपनेता जगत प्रसाद यादव र प्रमुख सचेतक दिलिप कुमार साहले समर्थन जनाएको माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले जनाए ।

यता नेकपा एमाले भने सर्वदलीय बैठक डाक्ने सोचमा रहेको बुझ्नमा आएको छ । एमालेका संसदीय दलका नेता शत्रुधन महतोले भने– ‘अहिले नै हतारमा प्रदेश र स्थायी राजधानीको लागि नाम प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराउनु भन्दा सर्वदलीय बैठक बसेपछि एमाले संसदीय दलको बैठक बसेर टुंगो लगाउँछौं । त्यसपछि अन्तिम समयसम्ममा प्रदेशसभा सचिवालयमा प्रस्ताव लैजाने छौँ ।’

त्यस्तै नेपाली काँग्रेसले पनि आन्तरिक तयारी थालेको जनाएको छल । काँग्रेसका संसदीय दलका नेता रामसरोज यादवले आफूहरु पुरानै अडानमा कायम रहेको बताए । मिथिला भोजपुरा प्रदेशको नाम र स्थायी राजधानीमा जनकपुरधाम क्षेत्र नै राख्ने प्रस्ताव दर्ता गराउने  काँग्रेसको तयारी छ । 

यस अघिको नाम र राजधानीका लागि तत्कालीन समाजवादी पार्टी र राजपाले प्रदेशको नाम मधेस प्रस्ताव गरेको थियो भने नेपाली काँग्रेसले मिथिला भोजपुरा प्रस्ताव दर्ता गराएको थियो । त्यस्तै तत्कालीन ‘नेकपा’ले प्रदेशको नाम जानकी र स्थायी राजधानी जनकपुरधाम क्षेत्र प्रस्ताव गरेको थियो । प्रदेशसभा सचिवालयले त्यतिबेला राजधानीको नाम र पछि प्रदेशको नाममा भोटिङ गर्ने सूचना जारी गरेपनि तत्कालीन सत्तापक्ष सपा र राजपाले सो निर्णय उल्टाउँदै पहिला प्रदेशको नाममा भोटिङ गर्न लगाएर बार्गेनिङ गर्न खोजेको भन्दै नेकपाले आक्रोश व्यक्त गरेको थियो ।

त्यतिबेला काँग्रेसकै प्रदेशसभा सदस्य राजेश्वर साहले मध्य मधेस प्रदेशको नाम समेत  प्रस्ताव दर्ता गराएका थिए । यसअघि प्रदेशको नाम र स्थायी राजधानीका लागि सचिवालयले गरेको प्रयास असफल भएको थियो । प्रदेशसभामा नामसम्बन्धी ४ वटा प्रस्ताव र स्थायी राजधानीसम्बन्धी ३ वटा प्रस्तावमाथि मतदान भएको थियो । तर नाम र राजधानीका लागि दर्ता गराइएका प्रस्तावहरू मध्ये कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाई मत परेन ।

प्रदेश नम्बर २ को सरकारले प्रदेशको नाम र स्थायी राजधानी तोक्न नसकेको भन्दै आलोचना भइरहेको बेला प्रदेशसभाले बैशाख २ मा प्रदेशको नाम र स्थायी राजधानीका लागि बैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेशसभा सचिवालयमा प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने सम्बन्धी प्रस्ताव दर्ता गराउन आह्वान गरेको थियो ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले एक सूचना जारी गर्दै प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गराउन आह्वान गरेका थिए ।


सचिव यादवले जारी गरेको सूचनामा प्रदेशको नामकरणको सवालमा नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशको नामकरण प्रदेश सभाको दुई तिहाई बहुमतबाट हुने भएकाले प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७३ (ख) को उपनियम (२) बमोजिम प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव दर्ता गर्न चाहने प्रदेश सभा सदस्यले सोही नियमावलीको अनुसूची ३ (ख) बमोजिम वैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा दर्ता गराउन सूचना प्रकाशन गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै, राजधानीको सवालमा नेपालको संविधानको धारा २८८ को उपधारा (२) बमोजिम प्रदेशको राजधानी प्रदेश सभामा तत्काल कायम रहेको दुई तिहाई बहुमतबाट हुने भएकाले प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७३ क. को उपनियम (२) बमोजिम प्रदेशको राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न चाहने प्रदेश सभा सदस्यले सोही नियमावलीको अनुसूची ३ (क) बमोजिम वैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा दर्ता गराउन सूचना प्रकाशन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप