बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्पेन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुग्छ : अध्यक्ष तिमिल्सिना

आइतबार, ०५ वैशाख २०७८, १८ : २७
आइतबार, ०५ वैशाख २०७८

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल र स्पेन बीचको सम्बन्ध विस्तार र राष्ट्रहितका लागि  भर्खरै भएको आफ्नो भ्रमण निकै फलदायी रहेको बताएका छन् । स्पेन भ्रमणबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले स्पेनमा बनाउन लागिएको लुम्बिनी उद्यान परियोजना दुई देशबीचको सम्बन्ध सेतुका रुपमा रहने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले भने, ‘बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको अझ प्रचारप्रसारका लागि क्याथेरेश शहरमा  स्थापना हुने गार्डेनले महत्वपूर्ण भूमिका खेल्नेछ, बौद्ध दर्शन र धर्ममा लाग्नेलाई गौतम बुद्धको जन्मथलोको भ्रमण गर्न प्रेरित गर्नेछ, नेपाल र यहाँका कला संस्कृति, जातीय विविधता, हिमाल र प्रकृति बुझ्न सहज हुनेछ ।’
स्पेन भ्रमणका क्रममा भएको शान्ति सम्मेलनमा र अन्य उच्चस्तरीय भेटघाटमा अध्यक्ष तिमिल्सिनाले शाक्य मुनि बुद्धको शान्तिको सन्देश संसारभर फैलाउन सबैसँग अनुरोध गरिएको जानकारी दिए । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपालका तर्फबाट विश्व शान्ति र भाइचाराका लागि अनुरोध गर्दै उहाँले बौद्ध दर्शनको अद्वितीय गुण भनेकै जीवन र प्रकृति प्रतिको नवीनतम सोच भएको र खुशी प्राप्तिका लागि कसैले अर्को जन्म र भिन्नै विश्वको प्रतीक्षा गर्नु नपर्ने धारणा राखेका थिए ।
 लुम्बिनी गार्डेन फाउण्डेशनका अध्यक्ष जोशे म्यानुएल भिलानोभा आलेमनले अध्यात्म र शान्तिसँग जोडेर नेपालको पवित्र भूमि र दुुई देशबीचको सम्बन्ध विस्तारका विभिन्न पक्षबारे धारणा राखे । फाउण्डेशनको उपाध्यक्ष गोविन्द सुवेदीले परियोजना अघि बढेसँगै स्पेन र नेपालबीचको सशक्त मैत्रीपूर्ण  सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने विश्वास व्यक्त गरे ।

कतिपय विकसित मुलुक सम्पन्न  हुँदाहुँदै पनि हत्या र हिंसाका घटना भइरहेका र शान्तिको खोजीमा रहेको परिस्थितिमा बौद्ध दर्शनको महत्वपूर्ण पाटो अहिंसा र शान्तिलाई अघि बढाउन चाहेकाले स्पेनले शान्ति प्रवद्र्धनका लागि सम्मेलनको आयोजना गरेको जनाइएको छ । 

स्पेनको एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुुइलेरम्मो फर्नाण्डेज भारका निमन्त्रणामा त्यहाँ आयोजित शान्ति सम्मेलनमा भाग लिने सिलसिलामा उनले गत चैत २३ देखि यही वैशाख १ गतेसम्म भ्रमण गरेका थिए । लुम्बिनी गार्डेन फाउण्डेशनका आयोजनामा भएको सम्मेलनमा अध्यक्ष तिमिल्सिनाका साथ लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रप्रसाद गुप्ता, देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीलगायतका सहभागिता थियो । 

बुद्ध र बौद्ध दर्शनसँग जोडिएका चारवटै पालिकाबाट लगिएको माटामा नेपालकै पीपलको वृक्ष रोपेर उद्यान निर्माणको  शुभारम्भ भएको जनाइएको छ । उद्यानमा अत्यन्तै महँगो अर्थात् रु दुई अर्ब मूल्य अनुमान गरिएको  धातुको ४० मिटर अग्लो बुद्धको मूूर्ति स्थापना गर्ने सोच अघि बढाइएको छ ।  एकसय सात हेक्टर जमीनमा निर्माण हुने उद्यानको मुख्य प्रवेशद्वारमा बुद्ध नेपालमा जन्मिएका हुुन् भन्ने सन्देश लेखिने जानकारी दिइएको छ । उद्यानमा नेपालको कला, कौशल, सांस्कृतिक वेषभूषा, पोखरी, ढुङ्गेधारा, शान्ति स्तूप, अशोकस्तम्भजस्ता संरचना निर्माणले नेपालको लुम्बिनी क्षेत्रका झझल्को दिनेछ । उद्यान स्थापनाले दुुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप