बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिपक्षको अवरोध सामना गरिरहेको प्रदेश १ को हिउँदे अधिवेशन अन्त्यको घोषणा

आइतबार, ०५ वैशाख २०७८, १५ : ३६
आइतबार, ०५ वैशाख २०७८

विराटनगर । प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । माघ ७ गते शुरू भएको प्रदेशसभाको सातौं अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका हुन् । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेको लागि बोलाइएको थियो ।

विपक्षी दलहरूले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरू सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुबर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने माग गर्दै पछिल्ला बैठक अवरुद्ध गरिरहेका थिए । आइतबारको बैठक शुरु शुरूमै प्रतिपक्षले उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले आफ्ना कुरा राख्न प्रतिपक्षलाई समय उपलब्ध गराएका थिए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले आफूहरूले उठाएका माग पूरा नभएसम्म विरोध जारी रहने दोहोर्‍याएका थिए । पटक पटक प्रतिपक्ष सांसदलाई बस्न आग्रह गरेपनि अटेर गरेपछि अवरोधका बीच सभामुख प्रदीपकुमार भण्डारीले  प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका थिए ।

आइतबारको बैठक पनि सुरु हुनसाथ विपक्षी दलहरुले उठेर विरोध जनाएका थिए । सभामुख भण्डारीले विपक्षी दलहरुले उठाएको विषयको जवाफ दिन मुख्यमन्त्री उपस्थित भएको भन्दै सांसदहरुलाई बस्न अनुरोध गरेका थिए। तर, नेपाली काँग्रेसका प्रमुख सचेतक  कार्कीले आफ्नै आसनबाट मुख्यमन्त्रीको भाषण सुन्न आफुहरु नआएको बताउँदै आफ्ना मागहरुको व्यवहारिक सम्बोधन नभएसम्म बैठक चल्न नदिने बताएपछि मुख्यमन्त्रीले सम्बोधन गर्न पाएनन् ।
प्रदेशसभाको यो अधिवेशनको कुनैपनि बैठकमा उपस्थित नभएका मुख्यमन्त्री राई अधिवेशन अन्त्य गर्ने निर्णय प्रदेश प्रमुखको कार्यालयमा पठाएर बैठकमा सम्बोधन गर्ने भन्दै सभामा पुगेका थिए । तर, विपक्षीको विरोधले सम्बोधन गर्न नपाई फर्कनु परेको छ ।

अधिवेशन अन्त्य भएपछि प्रदेश सरकारका प्रवक्ता एव आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रतिपक्षले सरकारलाई आफ्ना कुरा राख्ने मौका पनि नभएकाले अधिवेशन अन्त्यको गर्नु सरकारको बाध्यता भएको बताए । 
प्रतिपक्षको मागलाई सम्बोधन गर्न मुख्यमन्त्रीले सर्वदलीय बैठक आव्हान गरेपनि सहमति जुट्न नसकेकाले जारी अवरोध हट्ने अबस्था नरहेपछि अधिवेशन अन्त्य गर्न सरकारको बाध्यता भएको उनले बताए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले अधिवेशन अन्त्य गरेपछि त्यसका विरुद्ध अब कसरी जाने भनेर अन्य दलहरुसंगको छलफलबाट अबको बाटो तय गरिने पनि बताए । नेता कोइरालाले प्रदेश सरकारले अन्य दलहरूलाई पाखा लगाएर एकलौटी रुपमा  अघि बढिरहेकाले यसको व्यवहारका कारण अब सरकारको विकल्प खोज्ने तर्फपनि वातावरण तय हुदै गएको उनको प्रतिक्रिया थियो । 

 कार्यसूचीमा प्रवेश नगरी अधिवेशन अन्त्य
गएको  माघ ७ गतेबाट शुरु भएको हिउँदे अधिवेशन कुल २ घण्टा ३१ मिनेट चलेको थियो । यो अवधि  कुल आठ वटा बैठक संचालन भएपनि  कार्यव्यवस्था तथा परामर्श समितिको सल्लाहमा तय गरेको कार्यसूचीमा बैठक प्रवेश नै नगरी अधिवेशन अन्त्य भएको छ । विधेयक अधिवेशनको रुपमा चिनिने हिउँदे अधिवेशनमा एउटा पनि विधेयक प्रदेशसभामा टेबलसमेत भएन । प्रदेश सरकारले कृषि अनुदानसम्बन्धी एउटा विधेयक प्रदेशसभा सचिवालयमा लगे पनि प्रदेशसभामा त्यसले प्रवेश नपाई अधिवेशनको अन्त्य भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप