शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : एक सांसदका कारण सरकार परिवर्तनको खेल अवरुद्ध

‘फ्लोर क्रस’ को सम्भावनाले सरकार चिन्तित
आइतबार, ०५ वैशाख २०७८, १४ : ५७
आइतबार, ०५ वैशाख २०७८

बुटवल । लुम्बिनी प्रदेशमा शंकर पोखरेलको नेतृत्व सरकारलाई निरन्तरता दिने कि सत्ता बाहिरका दलहरूको गठबन्धनमा नयाँ सरकार बनाउने भन्ने सन्दर्भमा निर्णायक भूमिका निर्वाह गर्ने तहमा रहेको जसपा नेपाल अझै अलमलमा छ ।

प्रदेशसभामा ६ सांसद रहेको जसपा नेपालका पाँच सांसद एकैठाउँमा रहे पनि एक सांसद अनिर्णयको बन्दी बनेका कारण सत्ता समीकरणको लेखाजोखाले सार्थकता पाउन नसकेको हो ।

खासगरी काँग्रेस, माओवादी केन्द्र र जसपा नेपालबीचको सहकार्यमा नयाँ सरकार गठन गर्नका लागि जसपा नेपालका सबै अर्थात् ६ संसदकै समर्थन आवश्यक पर्दछ । तर जसपा नेपालको संसदीय दल समायोजन नभएको र पूर्वराजपाका एक सांसदले विपक्षी गठबन्धनमा सरकार बनाउन चासो नदेखाएका कारण एमाले नेतृत्वको सरकारले निरन्तरता पाइरहेको हो ।

केन्द्रमा महन्थ ठाकुर र राजेन्द्र महतोले केपी शर्मा ओली नेतृत्वको एमालेसँग सहकार्य गर्ने संकेत दिइरहेको समयमा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले ओलीसँग कुनै पनि हालतमा सहकार्य हुन नसक्ने अडान राख्दै आएका छन् । प्रदेशमा पनि महन्थ ठाकुर र राजेन्द्र महतो निकट मानिएका एक सांसदले साथ नदिएका कारण एमाले नेतृत्वको सरकार ढाल्ने विपक्षीहरूको योजना साकार हुन सकेको छैन ।

यस्तो छ अंक गणित

८७ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रले आफ्ना दुई सांसदमाथि कारवाही गरेको छ । योसँगै प्रदेशसभामा कुल सांसद संख्या ८५ मा खुम्चिएको छ । सत्तारुढ नेकपा एमालेका ४१ सांसद छन् । बहुमतका लागि कम्तीमा ४३ सांसद आवश्यक पर्छ ।

प्रदेशसभामा माओवादी केन्द्रका सभामुखबाहेक १७, नेपाली काँग्रेसका २० र जसपा नेपालका ६ सांसद छन् । यसरी विपक्षी गठबन्धनले जसोतसो प्रस्ट ४३ मत जुटाउन सक्ने अवस्था रहे पनि जसपा नेपाल एक ढिक्का नभएका कारण विपक्षी दलहरु प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन हिचकिचाइरहेका छन् ।

 


 

सरकारले भने अविश्वास प्रस्ताव कुनै पनि बेला आउने संकेत पाएर प्रदेशसभाको अधिवेशन अन्त्य गरिसकेको छ ।

कहाँ अड्कियो हलो ?

सत्ता गठबन्धनका लागि निर्णायक रहेको जसपाका ६ सांसदमध्ये पाँचजना उपेन्द्र यादवनिकट मानिन्छन् भने एक सांसद कल्पना पाण्डे पूर्वराजपा पृष्ठभूमिकी हुन् । उनले साथ नदिएको अवस्थामा संसदीय अंकगणितको खेलमा विपक्षी गठबन्धन  कमजोर हुने देखिन्छ । जसपा संसदीय दल समायोजन नभएका कारण उनलाई जसपा नेपालले ह्वीप जारी गर्न सक्दैन ।

लुम्बिनी प्रदेशमा केही दिन अघिसम्म राजपाबाहेक अन्य सांसदहरु माओवादी र नेपाली काँग्रेससँग सहकार्य गर्न सहमत भएका थिए । तर राजपा सांसद कल्पना पाण्डेले केन्द्रको निर्देशन विपरीत हस्ताक्षर नगर्ने अडान लिएपछि विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको हो ।

जसपाको संसदीय दलका सचेतक सन्तोष पाण्डे आफ्नै दलका सबै सांसद  एकजुट नहुँदा समस्या देखिएको स्वीकार गर्छन् । यद्यपि आफ्नो पार्टीले कुन पक्षलाई साथ दिने भन्नेबारे अझै औपचारिक निर्णय नगरेको उनको भनाइ छ ।

उनले भने, ‘अहिलेसम्म संसदीय दलको बैठक नबसेको र केन्द्रबाट पनि प्रस्ट निर्देशन नआएको कारण निर्णयमा पुग्न ढिलो भएको हो ।’

 


 

उता, सांसद कल्पना पाण्डे भने आफ्नो नेता महन्थ ठाकुर रहेकाले उताबाटै निर्देशन नआएसम्म आफूले कतै पनि समर्थन गर्न नसक्ने बताउँछिन् । ‘राजपाका नेताले जता मत दिन भन्नुहुन्छ, म त्यतै मत दिन तयार छु,’ उनले भनिन् ।

जसपालाई दुवै पक्षले फकाउँदै

सत्ता समीकरणका लागि निर्णायक भूमिका निर्वाह गर्नसक्ने जसपा नेपाललाई प्रदेश सरकार र विपक्षी दलहरु गरी दुवै पक्षले फकाइरहेका छन् । तर आन्तरिक कारण देखाउँदै जसपा नेपालले अहिलेसम्म आफ्नो भूमिका ‘क्लियर’ गरेको छैन ।

नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुद्दीन खान भन्छन्, ‘हामीले पटकपटक जसपाका नेताहरुलाई भनेका छौं, तर उहाँका विभिन्न आन्तरिक समस्या छन्, त्यसैले हामीलाई औपचारिक रुपमा केही निर्णय दिनुभएको छैन ।’

माओवादी केन्द्र र काँग्रेसबीच भने एक प्रकारको सहमति भइसकेको छ । काँग्रेसले माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउन सहमति जनाइसकेको छ । दुवै दल हिउँदे अधिवेशन अन्त्य नहुँदै अविश्वासको प्रस्ताव दर्ता गर्ने योजनामा थिए । तर जसपा नेपालले अलमल गरेका कारण दुवै दल पछाडि हटेका हुन् ।

कर्णाली प्रकरणले एमालेमा तरङ्ग

कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा एमालेका चार सांसदले फ्लोर क्रस गर्दै सरकारलाई विश्वासको मत दिए । संसदीय अंकगणितमा अल्पमतमा परिसकेको प्रदेश सरकारले एमालेका चार सांसदकै कारण विश्वासको मत हासिल ग¥यो ।

अहिले लुम्बिनी प्रदेशमा एमाले तुलनात्मक रुपमा बलियो र सुरक्षित छ । तर अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा आफ्नै पार्टीका सांसदले फ्लोर क्रस गरेर सरकारलाई ढाल्ने हुन् कि भन्ने खतरालाई प्रदेश सरकारले महसुस गरिसकेको छ ।

 


 

केन्द्रमा नेकपा एमालेभित्र देखिएको शक्ति संघर्षकै कारण कर्णालीमात्र नभएर अन्य प्रदेशमा पनि खनाल–नेपाल पक्षले ओली पक्षलाई राजनीतिक रुपमा पराजित गर्न ‘फ्लोर क्रस’लाई मुख्य हतियार बनाउन सक्ने सम्भावना बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप