शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

खगेन्द्र संग्रौलाको विश्लेषण : प्रसंशाले ओली भस्मासुर बने, प्रचण्ड पाउमा पुगे

शनिबार, ०४ वैशाख २०७८, १८ : ५७
शनिबार, ०४ वैशाख २०७८

काठमाडौं । लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओली अति प्रशंशाले प्रफुल्लित भएपछि भस्मासुर बनेको टिप्पणी गरेका छन् । त्यसैगरी, अग्रगामी जनयुद्धका नायक प्रचण्डले पनि कालान्तरमा जनयुद्धका अभिष्टहरु र एजेन्डाहरुको सबैभन्दा विरोधीको पाउमा लगेर राखिदिएको संग्रौलाको टिप्पणी छ ।

‘प्रशंशाले मलाई डर लाग्यो । तपाई–हामी सबैलाई थाहा छ, श्रीमान् खड्गप्रसाद शर्मा ओलीलाई अहिलेको अवस्थामा अहंकारी, अराजक, असहिष्णु, सारा विधि व्यवस्थामाथि तोडफोड गर्ने पात्रका रुपमा स्थापित गर्नमा हाम्रो पनि धेरथोर योगदान होला । तर, सबैभन्दा ठूलो भूमिका मौसमी राष्ट्रवादले खेलेको छ ।’

शनिबार अनामनगरमा ‘पहिचान सम्मान’ बाट सम्मानित भएपछि संग्रौलाले प्रधानमन्त्री ओलीमाथि टिप्प्णी गर्दै भने, ‘मुखले भन्दाखेरि एकताकारी राष्ट्रवाद, व्यवहारमा विखण्डनकारी राष्ट्रवाद । प्रसंशाको मण्डपबाट झन्डै हिटलर, झन्डै भस्मासुर जन्मियो । त्यसको पीडा अहिले हामीले भोग्नुपरेको छ ।’

संग्रौलाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि आलोचना गरे । प्रचण्ड पनि अति प्रसंशाको शिकार भएको बताउँदै उनले भने, ‘नेपालका विराट जनयुद्धका नायक प्रचण्डले जनयुद्धमै ‘प्रचण्डपथ’ नामक मण्डप बनाउनुभयो । मण्डप वरिपरि माओवादीका सबै भेला भएर गरेको तारिफ हेर्दा प्रचण्डलाई संसारको सबैभन्दा बुद्धिमान मैं हुँ, दुरदर्शी र शक्तिशाली मै हुँ भन्ने भयो होला । उनले कसैलाई टेरेनन्, कसैलाई गनेनन् ।’

संग्रौलाले थपे, ‘ऊ जो अग्रगामी जनयुद्धको नायक थियो, कालान्तरमा जनयुद्धका अभिष्टहरु र एजेन्डाहरुको सबैभन्दा विरोधीको पाउमा लगेर, सिद्धान्त, आदर्श र एजेन्डा सबै राखिदियो । त्यसैले तपाईहरुको प्रसंशा सुनिरहदाँ मलाई डर नै लागेको छ, तथापि प्रसंशा राम्रो हो ।’

पहिलो संविधानसभा विघटन भएयता नै देशमा राजनीतिक प्रतिगमन सुरु भएको संग्रौलाले बताए । ‘यो समाजको सीमान्त कुनाका, सम्पत्ति नभएका, जात नभएका , प्रतिष्ठा र पहुँच नभएका धेरै मानिसहरु विराट जनयुद्धबाट पहिलो संविधानसभामा आएका थिए’ संग्रौलाले भने, ‘ती गुमनाम थिए, उनीहरुलाई  शक्ति र सत्ता र साधन–स्रोतले कहिल्यै चिनेको थिएन । ती सबै मानिसहरु पहिचानका मुद्दा लिएर आएका थिए । पहिलो संविधानसभा जब विघटित भयो, तब प्रतिगमनको यात्रा सुरु भयो ।’

पहिचानको मुद्दा स्थापित नभएसम्म समतामूलक समाज निर्माण हुन नसक्ने उनले बताए । ‘जब प्रतिगमन सुरु भयो, तब सुन्दर संज्ञाहरुलाई पनि विकृत र कलंकित बनाइयो’ उनले भने, ‘अहिले पहिचानको कुरा गर्दा  विखण्डन गर्ने, सामाजिक सद्भाव फैलाउने, राम्रोसँग मिलिरहेको समाजमा कलह सिर्जना गर्नेलगायतका आरोप लगाइन्छ । समाजका शिक्षित, धनाढ्य र शक्तिमा रहेकाहरुमा यस्तो धारणा बनेको पाइन्छ ।’

पहिचानको विरोध गर्नेहरु नै जातिवादी रहेको संग्रौलाले बताए । ‘सत्य के हो भने समाजका धेरै जातिहरु राज्यको केन्द्रबाट सीमान्तमा छन् । राज्यबाट बाहिर फालिएका छन् । पहिचान लुटिएकाहरुको पहिचान जबसम्म स्थापित हुँदैन, तबसम्म नेपाली समाज न्यायको जग, समानताको जगमा पुग्दैन । असमानता, अन्याय र विभेद व्याप्त भइरहन्छ,’ उनले भने, ‘त्यसैले पहिचानको मुद्दा जातिवाद होइन, यसलाई जसले जातिवादी भन्छ भने त्यो आफैं जातिवादी हो ।’

संग्रौलाको सम्वोधनअघि कार्यक्रममा उनलाई यस वर्षको ‘पहिचान सम्मान’ प्रदान गरिएको थियो । पहिचान पुरस्कार कोषका अध्यक्ष नरेश काङमाङ राईले नगद ४ लाख २ हजार २ रुपैयाँसहित संग्रौलालाई सम्मान गरे ।

कोभिड १९ महामारीका कारण कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसकेका बैरागी काइँलाले प्रमुख अतिथिका रुपमा संग्रौलालाई बधाइ दिँदै अडियो सन्देश पठाएका थिए ।

कार्यक्रममा युवा नेताहरु रामकुमारी झाँक्री, अजम्बर काङमाङ, लेखक राजन मुकारुङलगायतको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप