बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो

शनिबार, ०४ वैशाख २०७८, ०८ : ३२
शनिबार, ०४ वैशाख २०७८

गर्मी बढेसँगै सर्लाही सदरमुकाम मलङ्गवा सहित तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ । गर्मी मौसम शुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भए पनि  मलङ्गवा नगरपालिकाले समयमा  औषधि नछर्किँदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो । 

नगरपालिकाले समयमै लामखुट्टे मार्ने औषधि नछर्किँदा मानिसमा  लामखुट्टेको टोकाइबाट हुने विभिन्न प्रकारका रोग  लाग्न सक्ने सम्भावना बढदै गएको मलङ्गवाका स्थानीयवासी सुन्दर श्याम यादवले बताए । 

 सरसफाइ व्यवस्थापन र लामखुट्टेको न्यूनीकरणमा मलङ्गवा नगरपालिका अन्तर्गतका १२ वटै वडा एकजुट भएर लाग्नुपर्ने अर्का स्थानीयवासी राजेश पासवानले बताए । उचित सरसफाइ हुन नसक्दा मलङ्गवा बजार क्षेत्र तथा  टोलबस्तीमा यतिबेला लामखुट्टेको प्रकोप बढेको छ । 

गत वर्ष  नगरपालिकाले छर्केको औषधि युक्त धुवाँले पनि लामखुट्टेलाई केही फरक नपरेको मलङ्गवा नगरपालिका–२ का स्थानीयवासी विजय साहले बताए । स्थानीय बासिन्दाले यस वर्ष समयमै नगरपालिकाले प्रभावकारी औषधि खरिद गरेर छर्नुपर्ने माग गरेका छन् ।
  
मलङ्गवाको बजार क्षेत्र र टोल बस्तीमा नियमित  सरसफाइ नहुँदा लामखुट्टेको प्रकोप बढेको स्थानीयवासीको अनुमान छ । दैनिकी रुपमा सरसफाइ गर्नुपर्ने उनीहरुको माग रहेको छ भने नगर प्रमुख निरसल साहले आफ्नो नगरपालिकाले राखेका सरसफाइकर्मीले नगर क्षेत्रको नियमित सरसफाई गरिरहेका बताए । 

साथै उनले आफ्नो नगर क्षेत्रको लामखुट्टेको बढी प्रकोप हुने स्थानमा यस वर्ष पनि औषधि छर्किने बताए । नगरपालिकाले सकेको गर्दै गर्दा पनि लामखुट्टेको प्रकोप रोक्न सबै नगरवासी पनि सजग भएर लाग्नुपर्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप