शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिलाको हत्या गरी औँलाहरु बिक्री गर्न बजार पुर्‍याउँदा...

शुक्रबार, ०३ वैशाख २०७८, २१ : ४७
शुक्रबार, ०३ वैशाख २०७८

कपिलवस्तुमा तान्त्रिक विधिका लागि हातको औँला बिक्री हुने भन्दै महिलाको हत्या गर्ने गिरोह पकाउ परेको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–५ मनहरपुर बुडन्तपुरस्थित माइतीघरमा विगत १३ वर्षदेखि बस्दै आएकी ४२ वर्षीया सरजहाँ दर्जीको हत्या गरी हातका औँलाहरु तान्त्रिक विधिको लागि भन्दै बजारमा बिक्री गर्न बजार पुर्याउने गिरोह पकाउ गरेको प्रहरीले जनाएको छ ।

उक्त गिरोहले यही चैत १२ गते कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ स्थित बेतिया नदी छेउमा दर्जीको हत्या गरेर हातका औँलाहरू काटी विभिन्न स्थानमा विक्रीका लागि सप्लाइ गरेको प्रहरीको भनाइ । पक्राउ पर्नेमा कपिलवस्तु शुद्धोधन गाउँपालिका–२ नन्दनगर बस्ने ३९ वर्षीय अव्दुल कलाम मुसलमान, ४५ वर्षीय बेलाल अहमद मुसलमान, कपिलवस्तु शुद्धोधन गाउँपालिका–५ का ५५ वर्षीय रामहरव यादव, रुपन्देही सैनामैना नगरपालिका वार्ड–१ बनकट्टाका ६७ वर्षीय कर्णबहादुर सुनार र नवलपरासी साविक तम्सरिया गाविस–२ हाल मध्यविन्दु नगरपालिका–७ का खेम बहादुर मल्ल रहेको प्रहरी उपरिक्षक (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।

यस्तो थियो घटना  

कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ बेतिया नदीमा बोरामा महिलाको शव भेटिएको थियो । स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी अनुसन्धानपछि शव ४२ वर्षीय सरजहाँ दर्जीको थियो । शवको प्रकृति हेर्दा हत्या गरेर बोरा हालेको प्रहरीले शुरु मै पत्ता लगायो । त्यसमा पनि अझै हातका औँला नै काटिएपछि प्रहरीले अनुसन्धान गम्भीर रुपमा गर्न थाल्यो । अनेक कोणबाट अनुसन्धान गर्दा एकपछि अर्को गर्दै हत्याका रहस्य खुल्दै गए ।

प्रहरीका अनुसार गत वर्षको चैत १२ गते राति दर्जीलाई अब्दुल कलाम मुसलमान र बेलाल अहमद मुसलमानले फोन गरी भेट्न बोलाए । त्यसपछि उनीहरुले कपिलवस्तु शुद्धोधन गाउँपालिका–३ हर्दिहवाबाट दर्जीलाई फकाएर बेतिया नदी छेउको चउरमा लगेर केहीबेर गफ–गाफ गरे ।

पछि उनीहरुले दर्जीको घाँटी थिचेर हत्या गरे । हत्यापछि उनीहरुले दुवै हातका औँलाहरू काटेर लाशलाई बोरामा राखी पानीमाथी लाश नतैरीयोस भनि सोही बोरा भित्र ४ वटा ढुंगासमेत राखेर फाले ।

त्यसपछि कृष्ण कुर्मीमार्फत् २ वटा औँला रामहरक यादवलाई र २ वटा औँला कर्णबहादुर सुनारलाई बिक्री गर्नका लागि दिए । त्यस्तै रामहरक यादवले पनि कृष्ण कुर्मीबाट २ वटा औँला लिइ बिक्री प्रयोजनको लागि लिए । प्रहरीले कुर्मीले दिएका औँलाहरु ६७ वर्षीय कर्णबहादुर सुनारले २ वटा औँला बिक्री प्रयोजनको लागी खेमबहादुर मल्ललाई दिएको समेत फेला पारेको छ ।

उनीहरुले हातका औँलाहरु लाखौँ रुपैयाँमा बिक्री हुने बताएका छन् । प्रहरीले एकपछि अर्को गर्दै सबै व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको छ । प्रहरी उपरिक्षक (एसपी) नवराज अधिकारीले सबैलाई जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान शुरु गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप