ओलीको निरंकुश शैली नै वर्तमान समस्याको जड हो : माधव नेपाल
![ओलीको निरंकुश शैली नै वर्तमान समस्याको जड हो : माधव नेपाल](https://rpcdn.ratopati.com/media/albums/madhav_nepal_jhapa_1_GJeN48PUfo.jpg)
झापा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली चरम व्यक्तिवादी र आत्मकेन्द्रित भएको आरोप लगाएका छन् । शुक्रबार झापामा आयोजित जिल्ला कार्यकर्ता भेलामा बोल्दै नेता नेपालले केपी ओलीमा भएको व्यक्तिवादी र गुटवादी चिन्तन साथै निरंकुश शैली नै वर्तमान समस्याको जड भएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेपालले आफूसँग असहमत भएका मान्छेको पत्तासाफ गर्न ओली लागिपरेको बताए । ओलीले आफूसँग असहमति राख्नेहरूलाई कमिटीबाट निकाल्ने गरेको उनको भनाई छ । पार्टी विधानले महाधिवेशनबाट निर्वाचित भएका सदस्यलाई अर्को महाधिवेशनसम्म हटाउन नमिल्ने स्पष्ट उल्लेख भएको भएपनि ओलीलाई विधानको कुनै मतलब नभएको उनले बताए । ‘उहाँले निकालिसक्नुभयो’ उनले भने, ‘घनश्याम भुषाल अहिले उपमहासचिव होइन, झलनाथ कमरेड वरिष्ठ नेता होइन । महाधिवेशनबाट चुनिएका दुइटा मान्छेमात्र छन्; केपी ओली अध्यक्ष र ईश्वर पोखरेल महासचिव ।’ ओलीले पटक पटक झुटो बोल्दै आएको नेता नेपालले बताए । ‘झुटको पुलिन्दा यत्तिकै भनिएको होइन, झुटको खेती गर्ने भनेर यत्तिकै भनिएको होइन । कमरेड केपी ओली झुटको खेती गर्न सिपालु हुनुहुन्छ ।’
ओलीले नेताहरुसँग पटक–पटक लिखित तथा मौखिक सहमति गरेको र कार्यान्वयन गर्ने समयमा थाहा नभएको झैँ गरेर झुट बोल्ने गरेको नेपालको भनाई थियो । ओलीले झुटको खेती गर्न साइबर स्याल नामको समूह निर्माण गरेको समेत उनले बताए । नेकपा एमाले २०७५ जेठ २ को अवस्थामा फर्किए पार्टीमा मिलेर जान सकिने नेता नेपालको भनाई छ ।
कार्यक्रममा सहभागी अर्का नेता घनश्याम भुषालले केपी ओलीले अङ्गीकार गरेको जनताको बहुदलीय जनवाद भनेको चुनावदेखि चुनावसम्म भएको आरोप लगाए । नवौँ महाधिवेशनमा दलाल पूँजीवादलाई नियन्त्रण गर्दै, राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादको तयारी गर्ने माधव नेपाल नेतृत्वको समूहको प्रस्ताव पारित भएको तर नेता ओली चुनिएको उनले बताए । ओलीले चुनाव जितेदेखि कम्युनिष्ट आन्दोलन बर्बादीतिर गएको भुसालको भनाई थियो । ‘जुन दिन ओलीजीले चुनाव जित्नुभयो त्यहाँदेखि कम्युनिष्ट आन्दोलनको स्खलन शुरु भयो, यसको बर्बादी शुरु भयो र आज हामी यहाँसम्म आएका छौँ, उनले भने । ओलीले राजनीतिक हिसाबले फुटाएको नेकपालाई अदालतले कानुनी हिसाबले टुङ्ग्याएको उनले बताए । ओलीले नेकपा एमालेलाई उठ्न नसक्ने गरी घाटसम्म पु¥याएको समेत उनले आरोप लगाए । ‘नेकपा एमालेलाई उठ्न नसक्ने गरी ओलीले घाटसम्म पु¥याउन लागेका छन्,’ उनले भने,‘घरभित्रै, परिवार भित्रै यस्तो तत्व जन्मियो, हुर्कियो र ताण्डव नाच्दैछ ।’ कम्युनिष्ट आन्दोलनमा झापाली स्पिरिट सबैभन्दा शक्तिशाली भएको स्मरण गर्दै उनले भने,‘झापा आन्दोलनले नेपाली आन्दोलनमा कीर्तिमान राखेको छ ।’
कार्यक्रममा विगतमा रहेको १०५ सदस्यीय जिल्ला समितिलाई बेदराज रेग्मीको अध्यक्षतामा ३५१ सदस्यीय, राजु धिमालको अध्यक्षतामा १५१ सदस्यीय युवा संघ र जंग रसाइलीको अध्यक्षतामा ७५ सदस्यीय नेपाल उत्पीडित जातीय मुक्ति समाजको जिल्ला समिति विस्तार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र दोरम्बा शैलुङ गाउँपालिकाको अध्यक्षमा टिका
-
शरतसिंह भण्डारीको मन्त्री पद धरापमा !
-
नयाँ शक्तिको निर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण
-
ठमेलमा प्रहरीलाई कुट्ने अनेरास्ववियुका नेता कमल जोशी पक्राउ
-
प्राकृतिक ग्यास आयात गर्न नेपाली कम्पनीलाई भारतले दियो अनुमति
-
नयाँ शक्तिको निर्वाचित कार्यसमितिको शपथ ग्रहणमा होहल्ला