वाम एकताको परिदृश्य

person access_timeअसोज २६, २०७४ chat_bubble_outline0

यनिसले ‘द ग्लोबल मिनोटौर’मा लेखेका छन्– अधिकतम राजनीतिज्ञहरू सिद्धान्तवादी हुन सक्दैनन् किनभने प्रथमतः तिनीहरू बिरैले चिन्तन र विषयवस्तुलाई विश्लेषण गर्छन् ।

दोस्रो– तिनीहरू तडकभडकमा यतिसम्म तल्लीन हुन्छन् कि ठूला विचारहरू प्रत्युत्पादन गर्न समय नै बाँकी राख्दैनन् । तर सबभन्दा ठूलो कुरा के हो भने सिद्धान्तवादी हुनलाई ‘आफू गलत’ छु भन्ने सम्भावनालाई साक्षात्कार गर्नै चाहँदैन्, ‘अल्पज्ञानी छु’ भन्ने मान्दैनन् र ‘सिद्धान्तको विचलन’बाट उब्जिने समस्याको भयङ्कर चक्रव्यूहलाई तोड्नै सकिँदैन भन्ने विचार नै नगरी दम्भको प्रदर्शन गर्र्दै राजनीतिक बजारीकरणमा व्यस्त भइदिन्छन् ।

यो प्रसङ्ग यथास्थितिको चुनावी वाम–गठवन्धन र गर्भाष्य अवस्थाको वाम–एकतालाई पूर्ण रूपमा सम्बोधित गर्छ । दसैँको शुभबिहानीसँगै सभागृहमा ‘सुपरम्यान’को आवरणमा नेताहरू इन्ट्री गरे र कुम्भ मिलाएर भ्रमयुक्त मुस्कान छर्किंदै सौहार्दताको नाटक मञ्चन गरेर सबैलाई चकित पारे । मङ्गलबारको त्यो साँझ कतिका अनुहार चम्किला थिए भने कतिको ‘निरश, विवश, लाचार, कुन्ठित र रोदनले भरिपूर्ण थिए । महान कमरेड ‘प्रचण्ड’ दिनरात जति बेला पनि चमत्कार गर्न सक्ने खुबी राखेको हुँदा पिरोलिनु पर्ने ठाउँ रहेन तर दोस्रो दर्जाका प्रचण्डका सैनिकहरू र विकल्पवादी डा. भट्टराईको बलि चढिसकेको भान उनीहरूलाई भए पनि त्यो ‘गम’लाई ‘नम’ पारेर आर्टिफिसियल मुस्कानले चित्त बुझाउनु पर्यो ।

भट्टराईको वैकल्पिक शक्तिको ‘शरणम गच्छामी’ को दृश्य हेर्न लायक थियो । माकेको दोहोरो चरित्र दिन र रात जत्तिकै छर्लङ्ग छ । चुनावपछि माकेको अवतार कुरेर बसौँ । बाँकी ‘वाम–पुर’को सर्वशक्तिमान र हस्ती केपी शर्मा ओली र उनका दरबारियाहरूको हकमा यो वर्ष फलिफलाप भयो । एउटा प्रभुको शरणबाट उहिले अर्को प्रभुको शरणमा आफूलाई अर्पण गरिसकेका ‘कलियुग पुरुष’ले ‘माके’ र अन्य ‘वामे’को नरवली भेटी चढाई प्रभुलाई प्रसन्न पारिसकेका छन् । ‘आँखो देखी कूर्सी’का लागि महासङ्ग्रामको तयारी पूर्ण रूपमा गरिसकेको ठान्छन् र जितपूर्वको उन्मादमा आफ्ना दरबारियाका साथ ‘सूर्य’ आराधनामा मग्न भएका छन् । यो नाटक मञ्चन सबैले देखेकै हो, अब वास्तविकतातिर जाऔँ ।

वामपन्थी एकता– भु्रण, गर्भाष्य, जन्म र भविष्य 
पुष्पलालको अगुवाइमा विस २००६ मा कम्युनिस्ट पार्टी स्थापित भई वामपन्थिविचार र राजनीतिको सुरुवात भई हालसम्म आउँदा कम्युनिस्टहरू धेरै चोटी जुटे–फुटे । नेपालमा वामपन्थी जुट्नु र फुट्नु नियति नै बनेको छ । जहिले जुट र फुटको शृङ्खला हतारोको परिणाम नै हुन्छ । हालभएको वाम एकताको ‘उद्घोषणमा’ भट्टराईले ‘आकस्मिकता’को उच्चारण गरेर त्यसलाई पुष्टि गरिदिए । अरू नेता भने वर्षाैंदेखिको वैचारिक मन्थनबाट भएको भने पनि त्यसमा सत्यता विल्कुलै छैन ।

नेपालको संविधान २०७२ निर्माणमा भारतको खुला हस्तक्षेप र दलीय प्रतिकारबाट रन्थनिएको भारतले अघोषित नाकाबन्दी जस्तो आत्मघाती कदम चाल्यो । जसले राष्ट्रिय स्तरमा भारतविरोधी भावनाको विकास भयो । ‘स्लिपिङ ड्र्यागन’ले यो मौकालाई आफ्नो हित अनुकुल प्रयोग गरी भारतको एक मात्र छत्रछायाँलाई जसरी पनि अस्त पार्ने अठोट गर्यो । नाकाबन्दीको असफलताले भारतको ‘अङ्गुर खट्टे’ भन्ने मनोभावनाले ‘अङ्गुर’बाट केही दिन टाढै रहने र ‘वाचडग’को भूमिका अख्तियार गर्ने सोच्यो । भारतको समयअनुकूल कूटनीतिले दुरदराज सोच्न छाडिसकेको थियो । भारत विरोधी भावनालाई निर्मूल पार्न र आत्मरक्षाका लागि पनि भारत ‘डिफेन्सिभ’ पोलिसि अपनायो । भारतको ‘डिफेन्सिभ’मा चीनले धैर्यतापूर्वक ‘अफेनसिभ’ पोलिसी अङ्गिकार गर्यो र दीर्घकालीन रणनीतिका लागि ‘वामएकता’को बहस सुषुप्त हिसाबले कूटनीतिज्ञहरूबाट एमालेभित्र लविङको विषय बनायोे ।

भारतको सक्रियतामा अविश्वासको प्रस्ताव ल्याई ‘वामपन्थी सरकार’ ढल्योे । यो अपमान माकेभित्र रहेको सरकारमा सहभागी नारायणकाजी श्रेष्ठ र टोपबहादुर रायमाझीलाई अपच नै थियो । यता एमाले पनि भारतलाई अब पूरै बाइपास गर्ने ‘मुड’मै थियो र त्यही बेला चीनको सफ्ट सक्रियता, रिजिड पोलिसी र ‘प्यासोनेट डिप्लोमेसी’ले  माकेको दोस्रो दर्जाको नेता र एमालेबीच बहस स्वरूप ‘वाम एकता’को भ्रूण प्रत्यारोपण भयो ।

गर्भाष्य र जन्म 
प्रचण्ड र देउवाको केमेस्ट्री प्रचण्डको सरकारप्रमुख हुँदासम्म ठिकै थियो तर प्रचण्डको अवसानपछि प्रचण्डले आफ्नो ‘केमिकल फर्मुला’ नै फेरे । फल स्वरूप दोस्रो तहका नेताहरूको नियमित ‘वाम एकता’को लागि देबाव्ब आयो र पछि एमालेसँग प्रष्ट रूपमा लबिङ गर्ने जिम्मा प्रचण्डले तिनै नेतालाई दिए । आफू भने माके–काङ्ग्रेसको गठबन्धनलाई तुरुन्तै छोड्दा देशैभरी नराम्रो सन्देश जाने र भारतले सोको छनक मात्रै पाए एकता भाडिने हुँदा  काङ्ग्रेस  र भारतको रणनीतिमा होमा हो थप्दै गयो । काङ्ग्रेस र भारतलाई अल्झाएर राख्दै अन्त्यतिर सिथिल बाबुरामलाई काँध थाप्दै ‘वाम एकता’को गर्भाष्यको अवस्थाबाट गत हप्ताको  मङ्गलबार ‘वामएकता’को जन्म चुनावी तिथिपछि हुने उद्घोष गरे । 

भविष्य 
हतारो वामपन्थी चुनावी गठजोड र गर्भाष्य अवस्थाको वाम एकता सफल हुने सम्भावनाको आँकलन सजिलो हिसाबले रोमाञ्चक देखिन्छ तर यथार्थ धरातलमा निकै जटिल छ । वामपन्थीहरूको यो मिलन राम्रो ढङ्गले नभएको भान सर्वत्र छ । वामपन्थीको मिलन ‘टाउके मिलन’ मात्र भयो पुच्छरको अत्तोपत्तो नभएको मिलनको टाउको छुटिए घिस्रिने अवस्थामा वामपन्थीहरू पुग्न सक्छन् । एमालेलाई वाम एकता असहज र भट्टराईको शब्दमा आकस्मिक थिएन । त्यसका लागि सत्ताको कार्यभारदेखि बिदाको समयमा एमालेले गहन छलफल गरी आफ्ना कार्यकार्ता व्यवस्थापन गर्ने स्पष्ट खाका तयार गरी सशक्त तयारीका साथ मैदानमा उत्रियो तर माके र नयाँ शक्तिको भने यो आकस्मिकताको सम्बोधन मात्रै हो । शीर्ष नेताहरूको व्यवस्थापन सिवाय तल्लो तहसम्म जानकारी र छलफलबिना भएको एकताले कार्यकर्ताहरू विक्षुब्ध र अन्यौलमा छन् ।

हाललाई टिकटको लोभ र चुनावी माहोलमा साम्य रहेको माकेका कार्यकार्ताहरू धेरैबेर मौन बस्दैनन् । जनयुद्धको चरम दुःख खेपेर आएका नेता तथा माकेका कार्यकार्ताहरू सत्ताको स्वाद नलिई राजनीतिक जीवन ओझेलमा देख्दैछ । माकेका कार्यकार्ताहरू एमालेका सम्मानान्तर तहका नेताभन्दा आफूलाई तुलनात्मक रूपामा कमजोर ठान्छन् । अर्कोतिर एमालेको कार्यकर्ताको दम्भले माकेका कार्यकर्तालाई एकताको धरातलमा धेरै टिक्न गाह«ै छ । एमालेका कार्यकर्ताले माकेका कार्यकर्तालाई नगन्ने परीपाटी पनि हावी भएको बेला एमालेको अगाडि माके कालान्तरमा निरिह सावित हुनेछ । वाम एकताको आवश्यकता नबुझाई र कार्यकर्ताहरू तल्लो तहसम्मै व्यवस्थापन नगर्दा यो मङ्गले वाम एकाताको गर्भाष्य जन्म तिथि अगाडि नै गर्भपात हुनसक्छ ।  

काङ्ग्रेसको भविष्य
वाम एकतापछि काङ्ग्रेस आत्तिएको छ, जुन स्वाभाविक पनि हो तर हठात गरी हाल्नुपर्ने स्थिति पैदा भएको छैन । वाम एकताले काङ्ग्रेस नामेट हुने डर निराधार हो तर खिइएको पाङ्ग्राले नै दौडने र जित्ने अन्धविश्वासमा छ भने भन्न सकिने अवस्था रहन्न  ।

वाम एकताले काङ्ग्रेसलाई क्षणिक घाटा देखिए पनि त्यसलाई रणनीतिक हिसाबले लिए धेरै लाभ छ । हिजो जनता माओको डरले काङ्ग्रेस छोडे र वामपन्थीहरूको शरणमा पुगे फेरि काङ्ग्रेसको आफ्नै कमजोरीका बाबजुद पनि जनताले पत्याइरहे । जनता केही नलागेर बूढो काङ्ग्रेसलाई कति हलो बेर्नु भनी दिक्दार भएर वाम सत्तातिर लम्किए तर वामहरूको स्वार्थ र सत्तामुखी गठ्बन्धनलाई जनता सामु काङ्ग्रेसले उजागर गर्न सके, आफूलाई सच्याएर गुट उपगुट र भाड्भैलोको व्यवस्थापन गरी लोकतान्त्रिक रोड्म्याप स्पष्टसाथ अघी सारे यही चुनाव पनि फलदायी हुन सक्छ । प्रजातान्त्रिक शक्ति परीक्षाको घडीमा  उभिएको छ ।

एकातिर सत्ताका लागि वामहरू एक भएको बेला काङ्ग्रेस आफैभित्र रहेको स्वार्थलाई निर्मूल पारी काङ्ग्रेसभित्रै एकता कायम गर्न नसके काङ्ग्रेस वाम शक्ति र जनताले हैन आफ्नै ढङ्गले हारेको ठहर हुनेछ । 

वाम एकता र अबको विदेशनीति
वाम एकता स्वच्छ मनोभावनाले भइदिए देशको वृहत्तरहित र छिमेकीलाई कडा सन्देश जान्थ्यो तर कतै नदेखेको सैद्घान्तिक र आत्ममिलनले उज्ज्वल भविष्यको सम्भावना शून्यप्राय छ । वाम एकतामा ‘ड्रयागन रणनीति’को जित देखिए पनि कतिको फलदायी र टिकाउ हुनेछ त्यो हेर्न केही समय धैर्य गर्नै पर्छ । भारतको पक्षमा वाम एकताको विषयमा जानेको नहुनु अथवा जानेर पनि केही गर्न नसक्नु उसको रणनीतिक हार हो ।

वाम र लोकतान्त्रिक पक्षधरको किचलोले विदेशी शक्तिको आगमन तथा आमन्त्रणा अब बढ्ने छ । एकले अर्कालाई निस्तेज पार्न जुनसुकै राजनीतिक कदम चाल्ने हुँदा देशमा राजनीतिक ज्वारभाटाले सङ्कलित राजनीतिक उपलब्धि दुर्बल हुने र गुम्ने खतरा पनि बढ्न सक्छ । वाम तथा लोकतान्त्रिक शक्तिले आफू अनुकुल वैदेशिक शक्तिको भरमजदुर प्रयोग गर्ने हुनाले देशमा भाँडभैलो निम्तिन सक्छ । जसको खतरा लोकतन्त्रमाथि हुनेछ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ