शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वाम गठबन्धनमा गडबड : किन यति धेरै पेचिलो बन्यो गोरखा–२ ?

बिहीबार, २६ असोज २०७४, ११ : ३७
बिहीबार, २६ असोज २०७४

काठमाडौँ– गोरखा–२ नम्बर क्षेत्रलाई लिएर गठबन्धनभित्र महाभारत सुरु भएको छ । यो यति ठूलो प्रतिष्ठाको विषय बनेको छ कि नयाँ शक्तिले बाबुराम भट्टराईलाई गोरखा–२ नदिए गठबन्धन नै छाडेर एक्लै अगाडि बढ्ने विकल्पमा छलफल सुरु गरेको छ । उता माओवादी केन्द्रले गोरखा–२ मा बाबुरामलाई छाड्नै नसक्ने अडान लिएको छ ।

‘गठबन्धन बनाएर अगाडि बढ्ने तर एउटा पार्टीको प्रमुख नेतालाई आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव लड्न नदिने हो भने गठबन्धनको औचित्य कसरी हुन्छ ? यस्तो अवस्थामा नयाँ शक्तिले विकल्प सोच्नुपर्छ ।’ नयाँ शक्तिका एक नेताले भने– ‘हामीले आन्तरिक रूपमा यो विषयमा छलफल गरेका छौँ । गोरखा–२ मा बाबुरामलाई टिकट दिइएन भने नयाँ शक्ति एक्लै चुनावमा जान्छ । बाबुराम आँखा चिन्ह लिएर त्यहीँबाट चुनाव लड्नुहुन्छ ।’


माओवादी केन्द्रका गोरखाका एक नेताले सूर्यचिन्ह लिएर चुनाव लड्न लागेका बाबुरामलाई सिट छाड्न नसकिने बताए । उनले भने– ‘गोरखा–२ माओवादी केन्द्रको जित सुनिश्चत भएको क्षेत्र हो । यहाँ बाबुरामलाई छाड्न सकिन्न ।’


एमाले, माओवादी र नयाँ शक्तिवीच बामगठबन्धन बनेको छ । अहिले गठबन्धनभित्र कार्यदल बनाएर टिकट बाँडफाँडको कुराकानी भैरहेको छ । यद्यपि कार्यदलले एक साता बित्दा पनि आफ्नो काम पूरा गर्न सकेको छैन । नयाँ शक्तिले कति प्रतिशत पाउने भन्नेसम्मको टुङ्गो लागेको छैन । नयाँ शक्तिले सूर्य चिन्ह लिएर गठबन्धनबाट चुनाव लड्ने निर्णय गरेको छ ।

गोरखा–२ मा लडाइँ किन ?


यो निर्वाचन क्षेत्रबाट केन्द्रका लागि नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठले चुनाव लड्ने तयारी गरेका छन् । स्थानीय तहको चुनावी नतिजा हेर्दा बाम गठबन्धन बन्दा यो क्षेत्रमा गठबन्धनको सहज जित हुने जस्तो देखिन्छ । यही जितको सुनिश्चतामा दुवै नेताले चासो राखेका छन् ।


गोरखामा प्रतिनिधिसभा सदस्यका लागि गोरखामा दुई निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । यसअघि गोरखामा तीन निर्वाचन क्षेत्र थिए । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा गण्डकी, सहिद लखन, भीमसेन, आरुघाट, धार्चे, चुमनुव्री गाउँपालिका र गोरखा नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ रहेका छन् । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका र सुलीकोट गाउँपालिका र गोरखा नगरपालिकाको वडा नम्बर ८, ९, १०, ११, १२, १३ र १४ रहेका छन् ।


निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्धारण गरेको गोरखा क्षेत्रल नं. २ मा दलहरूले पाएको कुल मत हेर्दा नेपाली काङ्ग्रेसलाई १७,०७० मत प्राप्त भएको छ । माओवादी केन्द्रलाई १७,८९४, नेकपा एमालेलाई ७,२०८ र नयाँ शक्ति नेपाललाई ७,९०० मत आएको छ । स्थानीय तहको मत अनुसार गोरखा २ मा बाम गठबन्धनसँग ३३ हजार २ मत छन्, जुन काङ्ग्रेसको भन्दा १५ हजार ९ सय २३ मत बढी हो । यही अग्रता गठबन्धनको चुनाव जितको आधार देखिन्छ ।


बाबुरामले बुधबार साँझ मात्र फेसबुकमा स्टाट्स लेखेर आफू गोरखा–२ बाट चुनाव लड्न लागेको भन्दै मतदातासँग भोट नै मागेका छन् । ‘आसन्न प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्ति पार्टीको तर्फबाट म गोरखा क्षेत्र न.ं २ बाट प्रत्यासी बन्ने निर्णय भइसकेको छ । त्यसमा कसैले कुनै द्विविधा राख्नुपर्दैन ।


तीव्र विकास र समृद्धि गोरखाली जनताको मुख्य चाहना र आवश्यकता हो । मेरो पनि रूचि, दक्षता र क्षमता त्यसैमा योगदान गर्ने हो । विगतमा छोटो कार्यकालमा पहिले कसैले कहिल्यै नगरेको विकासको पूर्वाधारको प्रारम्भिक जग बसाल्ने काम गरेको छु । अब त्यसलाई पूरा गर्ने जिम्मेवारी गोरखाली जनताले दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु।’ बाबुरामको स्टाटसमा छ ।


गत भदौ १९ गते बाबुरामले केही सञ्चारकर्मीसँग अन्तरक्रिया गरेका थिए । जहाँ पत्रकारहरूले कहाँबाट चुनाव लड्दै हुनुहुन्छ ? भन्ने प्रश्नमा बाबुरामको जवाफ थियो– ‘पार्टीको आधिकारिक निर्णय हुन बाँकी छ । म गोरखा २ बाट लड्ने मन बनाएको छु ।’ यहीँबाट बाबुरामले आफ्नो चुनावी मैदानबारे खुलासा गरे । उनी पहिलो संविधानभसामा गोरखा–२ बाट र दोस्रोमा १ बाट चुनाव जितेका थिए ।  

बाम गठबन्धनबाट बाहिरिने नयाँ शक्तिको धम्की


बाबुरामले चुनाव लड्ने क्षेत्रबारे आफ्नो धारणा बाहिर ल्याएको १५ दिनपछि माओवादी केन्द्रले पनि उम्मेदवारको सिफारिस गरेको थियो । मङ्सिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि माओवादी केन्द्र गोरखाले प्रस्तावित उम्मेदवारको नाम प्रदेशमा पठाएको थियो ।


गोरखा क्षेत्र नं १ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेताहरू हरि अधिकारी, कृष्ण धिताल र लोकप्रसाद बञ्जराको नाम प्रस्ताव गरिएको छ ।


प्रतिनिधि सभाकै क्षेत्र नं २ को प्रत्यक्षतर्फ नेता नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चूडामणि खड्का र लेखनाथ न्यौपानेको नाम प्रस्ताव गरेको र समानुपातिकतर्फ खोपबहादुर कँडेलको मात्रै नाम प्रस्तावित छ ।

नारायणकाजी श्रेष्ठको नाम यसरी प्रस्ताव भएपछि गोरखा २ मा बाबुराम र नारायणकाजीबीच चुनावी टक्करको सम्भावना बढेको थियो । यदि गठबन्धनमा सहमति बनेन भने बाबुराम र श्रेष्ठबीच भीडन्त हुनेछ । गोरखा दुवै नेताको गृह जिल्ला हो । २०७० को संविधान सभा चुनावमा श्रेष्ठ मकवानपुरबाट चुनाव लडेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप