बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जात्रामय बन्यो भक्तपुर र थिमि, बिस्का जात्रामा हजारौँको भीड

बुधबार, ०१ वैशाख २०७८, १६ : १९
बुधबार, ०१ वैशाख २०७८

–रमेश गिरी
भक्तपुर । नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न आज विभिन्न जिल्लाबाट सर्वसाधारणको भीड लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्का जात्रा आज बिहानैदेखि शुरु भएको छ । जात्रा हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायतका बिभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ । 

जात्राको चौथो दिन चैत ३१ गते अर्थात् पुरानो वर्षको बिदाइको पूर्वसन्ध्यामा भक्तपुर नगरपालिका–५ योसिङ्खेलमा ५५ हात लामो लिङ्गो ठड्याउने परम्परा भए पनि यसवर्ष आज दिउँसोसम्म पनि लिङ्गो उठाउन सकेको छैन । हिजो साँझदेखि नै हजारौँ स्थानीयको सहभागितामा लिङ्गो उठाउन खोज्दा पनि दिउँसोसम्म लिङ्गो उठाउन सकिएको छैन ।  

पचपन्न हात लामो उक्त लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ३१ गते उठाएर १ गते दिनभर जात्रा गरी साँझ ढाल्ने परम्परा रहेको छ । लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठवटा डोरीले तानेर उक्त लिङ्गो ठड्याइने प्रचलन रहेको छ । 

लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाश भैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्ध बिस्काको  लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छ भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविद्हरू बताउँछन् ।

चरखण्डीमा रातिदेखि नै भीड 

आजै सूर्यविनायक नगरपालिका–१ सिरुटार र दधिकोटको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा स्नान गरी महादेवको पूजा गरे शरीरका सबै रोग नाश भई गरेको काम सफल हुने जनविश्वास रहेको स्थानीयवासी एवं संस्कृति अनुसन्धानकर्ता रत्न सायमीले बताए ।

किम्बदन्तीअनुसार सिकारीले मारेको भङ्गेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण पुनः जीवित भएर उडेको भनाइ छ । यहाँको कुण्डमा नुहाए जीउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने बुढापाकाको भनाइ छ भने यही विश्वासले आज यहाँको कुण्डमा स्नान गर्ने बिहान ४ बजेदेखि नै भीड लागेको छ । 

प्रत्येक वर्ष वैशाख १ गते मनाइने चारखण्डी मेलामा मन्दिर परिसरमा युवाहरुले शरीरमा बत्ती बालेर बसेका छन् । शरीरमा बत्ती बालेर बसेमा पाप नष्ट हुने एवं पुण्य प्राप्त हुने जनविश्वास रहिआएको वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थले जानकारी दिए । यस मन्दिरमा बिहान ५ बजेदेखि नै तीनवटा खटसहितको खट जात्रासमेत गरिएको छ । दधिकोटको विभिन्न क्षेत्र परिक्रमा गराई बिहानै ल्याइएको खट पुनः मन्दिर परिसरमा राखेर पूजा गर्ने गरिन्छ ।

त्यसैगरी दधिकोटको चित्रपुरस्थित छुमा गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ भने गणेशको खट जात्रासमेत गरिएको छ । दधिकोट र सिरुटारका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन् । यता सिरुटार, बालकोट र ललितपुरको टीकाथली जोड्ने दोभानस्थित गुप्तेश्वर महादेव मन्दिरमा पनि मेला लागेको छ 
यता सिरुटार, बालकोटका बासिन्दाले यहाँको गुप्तेश्वर महादेव मन्दिरमा खट यात्रा गरी जात्रा मनाएका छन् । धिमे बाजाका साथ रथलाई टोलटोलमा घुमाएर पूजा गर्दै जात्रा मनाएको स्थानीय भाइकृष्ण श्रेष्ठले जानकारी दिए ।

थिमिमा चान्हेसिया अर्थात रात्रिको जात्रा मनाइयो 

चैत मसान्तको दिन साँझबाट शुरु गरी रातभर सञ्चालन हुने चान्हेसिया अर्थात रात्रिको जात्रा आज बिहान थिमिमा सम्पन्न भएको छ । मध्यपुर थिमिका बासिन्दाले मनाउने उक्त जात्रामा हिजो साँझ बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरी बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा शुरु गरिएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

चान्हेसिया जात्रामा सर्वप्रथम त दिगुटोलस्थित दिगु भैरवलाई आचाजु कर्माचार्यको घरबाट लायकूमा ल्याइन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याएर जात्रा मनाइन्छ । त्यसपछि भने खटमा राखी बालकुमारी मन्दिरमा विराजमान गराइन्छ । 

जात्रामा थिमिका अधिकांश घर घरबाट चिराग बालेर र धिमाय बजाई दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुनः बालकुमारीबाट शंखधर चोक हुँदै क्वाछेँ स्थित दक्षिण बाराही मन्दिर परिक्रमा गराएको थियो । 
त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराई बालकुमारी मन्दिरमा ल्याईपु¥याएर पाँच पटक परिक्रमा गराएपछि सोही स्थानमा आ–आफ्नो आसनमा खटहरुलाई राखेपछि जात्रा सम्पन्न भएको थियो । यो जात्रा हिजो साँझ शुरु भई आज बिहान करिब ४ बजे सम्पन्न भएको थियो । यहाँको जात्रा मनाउँदा प्रत्येक घरबाट चिराग बालेर हात हातमा लिएर मन्दिर परिक्रमा गर्ने गरिन्छ । यो पर्व लोप हुन नदिन नगरपालिकामा ‘चिलाख (चिराग) गुठी’ नै स्थापना गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

थिमिमा आज विष्णुवीर सिद्धिकाली जात्रा 

त्यस्तै मध्यपुर थिमिका बासिन्दाले प्रसिद्ध विष्णुवीर एवं सिद्धिकाली जात्रा आज साँझ थिमिमा मनाउँदै छन् । विष्णुवीरलाई सुङ्गा टोलबाट तछुटोलको गणेश, प्रथम गणेश, वामुने गणेश, थासमा गणेशलगायत विभिन्न देवगणसहित इनाय् टोल, हात्ती महाङ्काल, भुलाँखेल, चोडे, सिवाटोल, दथुटोल, लाछी, वामुने टोल हुँदै पुनः तछुटोल र सुङ्गा टोलमा परिक्रमा गर्दै बालकुमारी मन्दिरसमेत परिक्रमा गराइन्छ । 

विष्णुवीरलाई सुङ्गाटोलबाट पाङ्गु टोलमा लैजाँदा नेवारी परम्पराअनुरूप मान्छे मर्दा बजाइने सिबाजा बजाउँदै लाने प्रचलन रहेको छ । त्यस्तै सिद्धिकालीका साथै अन्य विभिन्न देवगण थिमिको हात्ती महाङ्काल, कुमाननी, तुलाननी हुँदै जात्रा चपाचो पुर्याई स्वङ्गापुखुको दुना फल्चा परिक्रमा गराई भुलाँखेल हुँदै चपाचो सिद्धिकालीको आफ्नै स्थानमा विराजमान गराइएको छ । त्यसैगरी विष्णुवीर, दक्षिण बाराही, बालकुमारीलगायत अन्य देवगणलाई सिन्दुर चढाई आ–आफ्नो स्थानमा विराजमान गराएपछि आजको जात्रा विसर्जन गरिने स्थानीयवासी रमेश श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप