शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अस्थिरताको प्रयासलाई सफल हुन दिँदैनौँ : मुख्यमन्त्री शाही

बुधबार, ०१ वैशाख २०७८, १२ : ०३
बुधबार, ०१ वैशाख २०७८

   
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा केही  व्यक्ति र  समूहले सुरु गरेको अस्थिरताको प्रयासलाई  सफल हुन नदिने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिँदै शाहीले यस्तो बताएका हुन् ।  

उनले भनेका छन्, ‘व्यक्ति र समुहले गरेको अस्थिरता कर्णालीका सचेत जनताले सफल हुन नदिने विश्वास व्यक्त गर्दछु । हाम्रो चासो र चिन्ता भनेकै कर्णाली प्रदेशको तीव्र विकास र आर्थिक समृद्धि हासिल गर्ने नै हो । त्यसका लागि राजनीतिक स्थायित्व नै अहिलेको प्रमुख आवश्यकता हो । हामीले जनताको बिचमा मत माग्दै गर्दा राजनैतिक स्थायित्व र कर्णालीको समृद्धिको यात्रा तय गर्ने भनेर गरेको कबुल कसैले पनि भुल्नु हुँदैन ।’ 

शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रा सामु आइपरेका सबै बाधा अवरोध र चुनौतीहरूलाई पन्छाउँदै विकास र समृद्धिको अभियान सफल बनाइ समतामूलक समृद्ध समाजवादी देश निर्माणमा सफल हुने विश्वास गर्दछु ।’ 

प्रदेश सरकार गठन पश्चात हालसम्म १२५० कि.मी. सडकको नयाँ ट्रयाक निर्माण, १६७ कि.मी. सडक ग्राभेल र १८ कि.मी. सडक कालोपत्रे गरिएको शाहीले बताएका छन् ।

प्रदेश राजधानी सुर्खेतको चक्रपथ निर्माणको सम्भाव्यता अध्ययन, सुर्खेत उपत्यका खानेपानी योजनाको विस्तृत सम्भाव्यता अध्ययन, सुर्खेत विमानस्थल स्तरोन्नतिका लागि नेपाल सरकारको समन्वयमा जग्गा प्राप्तिको कार्य थालनी लगायत प्रदेशको भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण टेवा पुग्ने कार्यहरु सुरु भएको पनि मुख्यमन्त्री शाहीले दावी गरेका छन।

कर्णाली प्रदेशमा विद्युतीकरणका लागि नेपाल सरकारसँगको समन्वयमा आवश्यक बजेट व्यवस्था गरी राष्ट्रिय प्रशारण लाइन सदरमुकामका साथै ग्रामीण क्षेत्रसम्म विस्तारको काम अगाडि बढाइएको छ ।

तत्काल राष्ट्रिय प्रशारण लाइन पुग्न नसक्ने क्षेत्रमा कर्णाली उज्यालो कार्यक्रम मार्फत लघु जलविद्युत र सौर्य विद्युत प्रणालीको विकास गरी विद्युतीकरणको प्रयास थालनी गरिएको पनि शुभकामना सन्देशमा शाहीले उल्लेख गरेका छन् ।

साथै मुख्यमन्त्री शाहीले  स्वास्थ्य, शिक्षा, रोजगारी र सामाजिक सुरक्षा लगायत संविधानप्रदत्त नागरिकका मौलिकहकको ग्यारेन्टीका लागि पनि प्रदेश सरकार गम्भीर रहेको उल्लेख गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप