बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्षको पूर्वसन्ध्यामा पोखरा, सौराहा र ठमेलका व्यवसायी निराश

मङ्गलबार, ३१ चैत २०७७, १९ : ५०
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौं । नेपाली क्यालेन्डर अनुसार २०७७ सालको समाप्तिसँगै भोलि (बुधबार) देखि ‘नयाँ वर्ष २०७८’ को औपचारिक शुरुवात हुँदैछ । तर, नयाँ वर्षको सँघारमा नेपालीहरुमा खासै उत्साह देखिएको छैन । कोभिड–१९ को डरले यसपालिको नयाँ वर्ष पनि नेपालीहरुले खुलेर मनाउन पाएका छैनन् ।
सरकारले कोभिड–१९ को दोस्रो लहर बढेको भन्दै सार्वजनिक भेटघाट, जमघट तथा आन्तरिक घुमघामलाई कडाइ गर्ने नीति लिएको छ । यसले गर्दा नयाँ वर्षमा हुने सार्वजनिक भेटघाट र घुमघामका कार्यक्रमहरु प्रभावित भएका छन् ।
नयाँ वर्षको पूर्वसन्ध्यामा पोखरा, सौराहा र ठमेलको पर्यटन व्यवसायको अवस्था कस्तो छ त ? हामीले यहाँ केही व्यवसायीहरूसँग कुराकानी गरेर रिपोर्ट बनाएका छौं  ।

 सुनसान छ पोखरा

‘यसपालिको नयाँ वर्ष ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ हुने भयो । कोभिडपछि ठूलो आशा बोकेर बसेका हामी पर्यटन व्यवसायीहरुलाई फेरि पनि प्रहार गर्ने काम भएको छ’ पश्चिमाञ्चल होटल व्यवसायी संघ, पोखराका अध्यक्ष विकल तुलाचनले रातोपाटीसँग भने, ‘प्रधानमन्त्रीले नै खुलेआम लकडाउनको भाषण ठोक्दै हिँडेपछि कहाँबाट पर्यटक बढ्छन् त ?’

पर्यटक र पर्यटन व्यवसायकै हब मानिएको पोखरा यतिखेर सुनसान जस्तै छ । नयाँ वर्षको संघारमै आइपुग्दा पर्यटकहरु पोखरामा खासै ओर्लिएका छैनन् । पार्कहरु खाली छन् । होटलले ग्राहक पाएका छैनन् । यस्तो अवस्थामा पोखरालाई नयाँ वर्ष नलागेको अध्यक्ष तुलाचन बताउँछन् ।

‘बरु केही दिन अघिसम्म पोखरामा पर्यटकहरुको चहल–पहल राम्रै थियो । विदेशीहरु नभए पनि स्वदेशी (आन्तरिक) पर्यटकले होटल भरिएका थिए,’ तुलाचन भन्छन्, ‘पोखराको करिब १५ देखि २० प्रतिशतसम्म व्यवसाय यिनै आन्तरिक पर्यटकहरुले धानेका थिए । तर, अहिले त्यो पनि गुम्न पुगेको छ । अहिले त सिंगो पोखराको व्यापार झण्डै ५ प्रतिशतमै खुम्चिन पुगेको छ, यस्तो अवस्थामा नयाँ वर्ष कसरी लाग्यो भन्ने ?’

कोभिड–१९ कै कारण अहिले पोखराको अधिकतम ९० प्रतिशतसम्म पर्यटन व्यवसाय खस्केको तुलाचन बताउँछन् । कोभिड–१९ पछि बल्लतल्ल उठ्न लागेको व्यवसायलाई थप संक्रमणको हल्लाले प्रभाव पारेको उनको गुनासो छ । यद्यपि नयाँ वर्षको व्यापार पोखराको पर्यटन व्यवसाय अधिकतम २० प्रतिशतसम्म पुग्नेमा आफू आशावादी रहेको तुलाचनले बताए ।

सौराहाको अवस्था उस्तै

पर्यटन बजारको अर्को नगरी चितवनको सौराहाको अवस्था पनि अहिले उस्तै छ । कोभिड–१९ को प्रभाव नयाँ वर्षको अघिल्लो दिनसम्म पनि सौराहामा पर्यटकहरुको उत्साहजनक उपस्थिति छैन । हाल मुस्किलले दैनिक करिब एक सयको हारहारीमा मात्र पर्यटकहरु सौराहा पुग्ने गरेको सौराहाका पन्छी विशेषज्ञ बासु बिडारी बताउँछन् । तर, यी पर्यटकहरु पनि अधिकांश सौराहामा नबसी सोही दिन फर्किने गरेको उनको भनाइ छ ।

‘केही दिनयता सौराहामा आउने पर्यटकहरुको उपस्थिति अत्यन्त न्यून छ’ उनले भने, ‘पछिल्लो समय कोरोनाको हल्लाकै कारण यहाँको पर्यटन व्यवसाय स्वात्तैै घटेको छ । कोभिडपछि सरदर दैनिक ६÷७ सयको नियमित भिजिट भइरहेकोमा हाल यस्तो संख्या एक सयको हाराहारीमा झरेको छ ।’

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका अध्यक्ष ज्योति काफ्लेले सरकारकै कारण पर्यटन व्यवसाय धरासायी भएको आरोप लगाए । बेमौसममा सरकारले अनावश्यक संक्रमण र लकडाउनको हल्ला चलाएर व्यवसायीलाई मारमा पार्ने काम गरेको उनको आरोप छ ।

काफ्लेका अनुसार हाल नयाँ वर्षको मौसममा समेत चितवन, सौराहा आसपासका होटलहरु खाली छन् । केही छिटफुट अफिसियल, एनजीओ/आइएनजीओका कार्यक्रमहरु बाहेक होटलले बिजनेस पाएका छैनन् ।

ठमेल रनभुल्लमा

काठमाडौंको ठमेलको अवस्था पनि उस्तै छ । ठमेलका अधिकांश होटल, रेष्टुरेन्ट बन्दकै अवस्थामा छन् । केही खुलेका होटल पनि ग्राहकको अभावमा खाली छन् । बाहिरी बजार, पसलहरु पनि सुनसान छन् । यस्तो दृश्यले ठमेललाई पनि नयाँ वर्ष नलागेको प्रष्टै देखाउँछ ।

‘२०७७ सालमा जस्तो घाटा कहिल्यै व्यहोरिएन, लकडाउनले ३÷४ महिना त पसल नै बन्द गर्नुप¥यो । त्यसपछि पनि नियमित खोल्न पाइएको छैन’ ठमेलमा २० वर्षदेखि पस्मिना व्यवसाय गर्दै आएका  भैरव पाण्डेले भने, भर्खर–भर्खर खुल्न थालेको बजारमा अब त केही हुन्छ कि भन्ने लागेको थियो, यो पनि सपना मात्रै होलाजस्तो छ । कोरोनाको दोस्रो लहरले अब हामीलाई रसातलमै पु¥याउँछ कि क्या हो !’

पर्यटन व्यवसायलाई जोगाउन अब राज्यले केही सोच्नुपर्ने बेला आएको ठमेल पर्यटन विकास परिषदका उपाध्यक्ष राजुमान डंगोल बताउँछन् । यस्तै अवस्था रहिरहे अब व्यवसायीहरु पेसाबाट पलायन हुने मात्र नभई भोकै मर्नुपर्ने अवस्था आउन सक्ने उनले चिन्ता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप