पोखराको सेती खोंचमा ८ करोडको लगानीमा बन्जी निर्माण, नयाँ वर्षसँगै व्यावसायिक सञ्चालनमा आउने

काठमाडौं । पर्यटकीय राजधानी पोखरा साहसिक खेलहरूका लागि निकै प्रख्यात छ । साहसिक खेलहरु मध्येको बन्जी अब पोखराको सेती खोँचमा पनि शुरु भएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालिले पोखरा रातोपैरा (माउन्टेन म्युजियमको आडैमा) बनाएको बन्जीको सफल परीक्षण भएको छ।
लेक साइडबाट करिब ३ किलोमिटर दुरीमा रहेको बन्जी नयाँ वर्षसँगै व्यावसायिक सञ्चालनमा आउने बताइएको छ । सन्तोष भट्टराई अध्यक्ष रहेको कम्पनीमा राजु कुँवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, भूपाल बहादुर बराल क्षेत्रीको ८ करोड २५ लाख लगानी रहेको बताइएको छ ।
अध्यक्ष भट्टराईले न्युजिल्यान्ड, जापान, मकाउ लगायत देशमा बन्जी मास्टरको रूपमा लामो समय काम गरी स्वदेश फर्केर हाल आफ्नै साथीहरूको समूह बनाइ बन्जीमा लगानी गरेका हुन् ।
क्यान्टिलिभर ब्रिजको डिजाइनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट बन्जी जम्पका लागि ५५ मिटर लामो प्लेटफर्म निर्माण गरिएको छ । सेती नदीको खोंचमा बनेको र फराकिलो हिमशृङ्खला हेर्दै जम्प गर्न पाइने भएकाले बन्जीमा आकर्षण बढ्ने भट्टराईको दाबी छ।
बन्जीको २ वटा प्लेटफर्म नदी देखि १०१ र १०५ मिटरमा छन् । दुई फरक उचाइमा जम्प गर्ने नेपालको पहिलो जम्प साइट भएको भट्टराईको दाबी छ। साधारण बन्जी १०१ मिटर अग्लो प्लेटफर्मबाट गराइने र साइकल जम्प, बकेट जम्प लगायत विशेष जम्प १०५ मिटर अग्लो प्लेटफर्म बाट गराइने अध्यक्ष भट्टराईले बताए ।
यो बन्जी आईएसओ स्ट्यान्डर्डमा निर्माण गरिएको भट्टराईको दाबी छ । अन्तर्राष्ट्रिय स्तरमा बन्जीको लोकप्रिय नाम ‘गो बन्जी’ सँगको फ्रेन्चाइज भएकोले गो बन्जीकै प्राविधिक सहयोगमा आईएसओ स्ट्यान्डर्ड अनुसार तयार गरिएको भट्टराई बताउँछन् । बन्जी साहसिक खेल भएकोले सुरक्षा सावधानीमा जोड दिँदै पेट्जल र मामुट कम्पनीका हार्नेस लगायतका उपकरण प्रयोग गरिएको भट्टराईले बताए।
परीक्षणको पहिलो जम्प गो बन्जी (बन्जी जापान)का संस्थापक बीउ रिटालिकले गरेका छन् । रिटालिकसँगै बन्जीको सञ्चालनको लागि जापानबाट बन्जी जापानकै जनरल म्यानेजर डेबिड पनि पोखरा आइपुगेका छन् ।
बन्जीकै लागि बनाइएको ३५ मिटर अग्लो टावरमा नेपालमै पहिलो र एसियाकै अग्लो टावर क्लाइम्बिङ सुरु गरिएको भट्टराईले बताए। बन्जी परिसरमै रेस्टुरेन्ट समेत निर्माण भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरु तस्करी प्रकरणमा भइरहेका छानबिनमाथि प्रदेश प्रहरी कार्यालयले निगरानी गर्दै
-
राजेशकाशी श्रेष्ठको ‘व्यक्तित्व योगदान’ पुस्तक लोकार्पित
-
पूर्वराजाको आह्वानले जनता सडकमा उत्रिन सक्ने अवस्था निम्तिएको छ : अध्यक्ष थापा
-
पशुपति जलहरी प्रकरण : अख्तियारद्वारा सर्वोच्च अदालतमा पुनरावेदन
-
सरकार अध्यादेशको पासोमा पर्यो : माओवादी केन्द्र
-
नागरिकता विधेयकमा ३५ संशोधन प्रस्ताव