बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कलाकारको वर्ष दिन : कोको तानिए विवादमा ?

महानायकको विवाददेखि पलको गिरफ्तारीसम्म
मङ्गलबार, ३१ चैत २०७७, १४ : ४३
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौँ । विसं २०७७ आजदेखि बिदा हुँदैछ । कोरोना कहरमै सुरु र अन्त्य भएको यो वर्ष नेपाली कला क्षेत्रका लागि सुखद रहन सकेन । जम्मा ४ वटा मात्रै फिल्म प्रदर्शनमा आएकाले यो वर्ष फिल्म निर्माणका हिसाबले पनि निराशाजनक रह्यो ।

गीतसङ्गीतको कुरा गर्ने हो भने यो वर्ष साङ्गीतिक बजारमा थुप्रै गीतसङ्गीत भित्रिए । तर, कालजयी र सदाबहार गीतको अभाव भने खड्किरह्यो । अश्लील एवं भद्दा शब्दले भरिएका केही गीत र रिमेक भर्सनले भने साङ्गीतिक बजार तताउन सफल रहे ।

काम र सिर्जनाको हिसाबले शून्यजस्तै रहेको २०७७ बिर्सन लायकको वर्ष बनेको छ । नेपाली कलाकारका विवाद वा स्क्यान्डल भने यो वर्ष धेरै देखिएको छ । तीमध्ये दर्जन (१२) घटना यस्ता छन् ।

१) महानायक विवाद :

नेपाली कला क्षेत्रमा वर्षकै चर्चित घटनाका रूपमा ‘महानायक’ विवादलाई हेर्न गरिन्छ । एक टेलिभिजन कार्यक्रममा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल पनि महानायक हो र ?’ भनेर दिएको अभिव्यक्ति देश तथा विदेशमा मात्र चर्चित भएन । यसले मिडियामा ‘महानायक को हो ?’ भन्ने बहस सिर्जना गरायो ।

दीपाश्रीले उक्त अन्तर्वार्ताका कारण मानसिक तनावसमेत झेल्नुपर्‍यो । सामाजिक सञ्जालमा उनका ट्रोल बने । अश्लील गाली समेत खेपेकी दीपाश्री अझै सो घटनाबाट मुक्त हुन सकेकी छैनन् । पछि अभिनेता राजेश हमालले अभिव्यक्तिमार्फत घटनाको सटडाउन गरे ।

२) पल शाहविरुद्ध उजुरी :

अभिनेता पल शाहविरुद्ध गत फागुनमा इलाका प्रहरी कार्यालय धरानमा दुव्र्यवहार र कुटपिटका विषयमा परेको उजुरीले पनि यो वर्ष मिडिया तताउन सफल रह्यो ।

फिल्मभन्दा म्युजिक भिडियोमा अभिनय धेरै गर्ने पलविरुद्ध चलचित्रकर्मी महासङ्घ प्रदेश १ का अध्यक्ष अरुण प्रधान प्रहरीमा पुगेका थिए । म्युजिक भिडियोको सुटिङका लागि धरान पुगेका पलले आफूमाथि आक्रमण गर्न लगाएको प्रधानको आरोप थियो । प्रहरीले पल र प्रधानलाई सँगै राखेर छलफल गराएपछि विवाद मिलेका थियो । दुवैले प्रहरीको अगाडि एक अर्काेसँग माफी माग्दै विवाद मिलाएका थिए ।

३) भुवनलाई साम्राज्ञीको आरोप

वर्षका चर्चित घटनामध्ये अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको विवाद पनि पर्छ । अभिनेत्री शाहले केसीलाई फिल्म छायाङ्कनका क्रममा विभेद गरेको, ह्यारेसमेन्ट लगायतका केही आरोप मिडियामार्फत लगाएकी थिइन् ।


साम्राज्ञीको आरोपलाई गलत भन्दै खण्डनमा उत्रिएका भुवन शाहविरुद्ध जिल्ला अदालतमा पुगेका छन् । अदालतमा यो मुद्दा विचाराधीन छ । विवादले आगामी दिनमा कस्तो मोड लिन्छ अदालतको फैसलापछि मात्र भन्न सकिन्छ ।

४) कोमल वली विवाद :

गायिका एवं राष्ट्रिय सभा सदस्य कोमल वलीको विषयमा नेकपा एमालेका नेता रघुजी पन्तले गरेको टिप्पणी पनि यो वर्ष मिडियाको प्राथमिकतामा प¥यो ।

पन्तले गत फागुन १५ गते एक कार्यक्रममा पिँडौला देखाएर सांसद भएको भन्ने अभिव्यक्ति दिएका थिए । पन्तको टिप्पणीविरुद्ध वलीले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिन् । आफू अन्यायमा परेको भन्दै मुद्दा दायर गरेकी वली र पन्तबीचको विवादको विषय अहिले अदालतमै अल्झिएको छ ।

 

५) पूजा– प्रकाश लफडा :

 

अभिनेत्री पूजा शर्मा र सञ्चारकर्मी प्रकाश सुवेदीबीचको विवादले यो वर्ष राम्रै चर्चा पायो । सुवेदीले एक टेलिभिजन कार्यक्रममा ‘दारा भएकी नायिका’का रूपमा टिप्पणी गरेका थिए, जुन टिप्पणीविरुद्ध पूजा रुँदै कलाकार सङ्घ र मिडियामा पुगेकी थिइन् ।

कलाकार सङ्घ र सुवेदी कार्यरत एपी वान टेलिभिजन बीचको छलफलबाट विवाद मिलाइएको थियो ।

६) दुर्गेशको अज्ञानता :

गायक दुर्गेश थापा पनि यो वर्ष विभिन्न कारणले चर्चामा रहिरहे । एकपछि अर्को गल्ती गर्दै उनले आफूलाई चर्चाको केन्द्रमा राखे । दुर्गेशको गीत ‘बीच्च बीच्चमा २’ मा एउटा पुरानो गीतका दुई लाइन हुबहु चोरेकोदेखि टेलिभिजन कार्यक्रममा बाल्ने नजानेरसमेत चर्चामा रहे । उनको यो गीतको शब्द मात्र होइन, म्युजिक भिडियो पनि विवादमा पर्यो ।

म्युजिक भिडियोमा दुर्गेशसहितका पुरुष कलाकारहरु साडी लगाएर महिलाको भेषमा प्रस्तुत भएका थिए । यो विषयमा महिलाहरुको अपमान भएको भनेर आलोचना गरियो ।

ऋषि धमलालाई दिएको अन्तरवार्ताका कारण पनि दुर्गेश थप विवादमा मुछिए । अन्तरवार्तामा उनले ‘स्वर सम्राट नारायण गोपालको भनेर भक्तराज आचार्यको र यम बरालको भन्दै रामकृष्ण ढकालको गीत गाएका थिए । दुवै गीत बेसुरमा गाएका दुर्गेश बेसुरा गीत गाएको र सङ्गीतको ज्ञान नभएको भन्दै ट्रोलदेखि मिडियासम्मको निसानामा परे ।

७) स्वेताको समाजसेवा :

अभिनेत्री स्वेता खड्काको विवाह र समाजसेवा यो वर्ष विशेष चर्चाको विषय बन्यो । उनको विवाहले मिडियामा राम्रो प्रथामिकता पायो नै त्योभन्दा बढी चर्चा उनले सिन्धुपाल्चोकमा निर्माणको क्रममा अलपत्र छोडेको ‘एकीकृत माझी बस्ती’को भयो ।

केही सञ्चार माध्यमले उनले माझी बस्ती अलपत्र छोडेको, बस्ती निर्माणको पैसा विवाह र भोजभतेरमा खर्च गरेको समेत समाचार बनाए । यही कारण उनले माझी बस्तीको विषयमा सामाजिक सञ्जालमार्फत पटक पटक स्पष्टीकरण पोस्ट गरिन् ।

८) मनिषा र वर्षाको नक्सा अभिव्यक्ति :

भारतले आफ्नो दाबी गरेको लिम्पियाधुरा–लिपुलेक–कालापानी सहितको नक्सा नेपाल सरकारले आफ्नो नयाँ नक्सामा समेटेर जारी गरेको थियो । उक्त नक्साको विरुद्धमा भारतीय मिडियाले कोकोहोलो गर्दै विभिन्न भ्रामक समाचार बनाए । भारतीय फिल्म नगरीबाट चर्चा कमाएकी अभिनेत्री मनिषा कोइरालाले समेत नक्साको विषयमा नेपालको समर्थन गरिन् ।

अभिनेत्री वर्षा राउतले भने यो विषयमा अन्तरवार्तामा सीमा विवादले भारतका साथीहरुसँग ‘फेस’ गर्न गाह्रो भएको अभिव्यक्ति दिइन् । उनको यो भनाइलाई लिएर सामाजिक सञ्जाल लगायत चारैतिरबाट उनीमाथि प्रहार भयो । ‘वर्षा लैजा लिम्पियाधुराले’ जस्ता नारासमेत गुन्जिए ।

ट्रोलर तथा मिडियाका निसानामा परेकी वर्षाले सामाजिक सञ्जालमार्फत लामो स्टाटस पोस्ट गरेर माफी मागिन् । कतिले माफीलाई ठिकै भने, कतिले नाटक बताए ।

मनिषा कोइरालाले भने भारतविरोधी अभिव्यक्तिका कारण नेपालमा प्रशंसा पाइन् । भारतमा भने उनको चर्को आलोचना भयो ।

९) ‘भिटेन’ पक्राउ :

गीत सङ्गीतमा अश्लील र भद्दा शब्द प्रयोग गरेर बेलाबेलामा आलोचना र सामाजिक प्रयोगकर्ताको तारो बन्दै आएका नेपाली र्‍यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ यो वर्षको कात्तिकमा पक्राउ परे ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले उनलाई जावलाखेलबाट पक्राउ गर्‍यो । अश्लील गीतहरू गाएको आरोपमा पक्राउ परेका उनी गीत युट्युबबाटै हटाएपछि तारेका छुटेका थिए ।

१०) सुष्माको क्लबमा लफडा :

अभिनेत्री सुष्मा कार्की र पत्रकार उत्सव रसाइलीबीच एक क्लबमा भएको विवाद प्रहरीमा पुग्यो । उत्सव र आरती खड्का लगायतले क्लबमा आफूमाथि कुटपिट गरेको भन्दै सुष्माले प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रहरी प्रभाग, दरबारमार्गले दुवै पक्षको छलफलबाट उक्त विवाद मिलाएको थियो । छलफलमा उत्सव र आरतीले सुष्मासँग माफी मागे ।

११) ‘दोहोरी च्याम्पियन’मा कल्पना :

नेपालमा पहिलोपटक यो वर्षबाट सुरु भएको ‘दोहोरी च्याम्पियन’ सुरुमै विवादमा फस्न पुग्यो । यसका निर्णायकले कलाकारको बेइज्जत गरेको भन्दै सामाजिक सञ्जाललगायत सबैतिर आलोचना भयो ।

निर्णायक चन्द्र शर्माले लोकदोहोरी गायिका कल्पना दाहाललाई भाइरल साइरन वाली भन्दै कार्यक्रममार्फत बेइज्जत गरेका थिए । यो विषयलाई लिएर सामाजिक सञ्जालदेखि सबैतिर निर्णायक र आयोजकको आलोचना हुन थाले पनि आयोजकले पत्रकार सम्मेलनमा स्पष्टीकरण दिएर घटना टुङ्ग्याउने काम गरे ।

१२) राष्ट्रिय झण्डाको दुरुपयोग :

मकवानपुर जिल्लाको बागमती गाउँपालिकास्थित विष्णु आधारभूत विद्यालयको प्राङ्गणमा खिचिएको एक म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको विषयसमेत यो वर्ष चर्चामा रह्यो ।

यही अभियोगमा गत भदौमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गायक ग्याल्जोम दोर्जे तामाङसहित ९ जनालाई गिरफ्तारसमेत गरेको थियो ।

‘देशद्रोही’ शीर्षकमा मङ्गोल हप अफिसियल युट्युब च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो अपलोड भएपछि यसको तीव्र विरोध भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप