बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साउथ सुडानमा राष्ट्रसंघको विश्वास जित्दै नेपाली सेना

बुधबार, २५ असोज २०७४, २२ : ०४
बुधबार, २५ असोज २०७४

राजेश भण्डारी

साउथ सुडान – साउथ सुडानको राजधानी जुबा स्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १९ किलोमिटर अगाडी बढेपछी संयुक्त राष्ट्रसंघको मुख्य क्याम्पमा पुगिन्छ । जहाँ नेपाली सेनाको दोस्रो बटालियन आफ्नै शानका साथ तैनाथ छ । सगरमाथाको स्केचसँगै ‘क्याम्प एभरेष्ट, होम अफ गोर्खाज’ लेखिएको गेटबाट भित्र प्रवेश गरेपछि स–साना अस्थायी घरहरु देखिन्छन्, जहाँ विगत १३ महिनादेखि पशुपती प्रसाद गणको झण्डामुनि ८ सय ५० जना नेपाली सैन्य फौज कार्यरत छ ।

‘अब हामी फर्कने तयारीमा छौं’ पशुपति प्रसाद गणका गणपति प्रमुख सेनानी डिक बहादुर थापा भन्छन्, ‘वितग १३ महिनामा संयुक्त राष्ट्रसंघको साउथ सुडान मिसनले दिएको जिम्मेवारी हामीले सफलापुर्वक सम्पन्न गरेका छौं ।’

पशुपति प्रसाद गणमा कार्यरत ८ सय ५० फौजलाई अर्का प्रमुख सेनानी उज्वल थापाको कमाण्डमा साउथ सुडान पुगेको सिद्धीबक्स गणले रिप्लेस गरिसकेको छ ।

साउथ सुडानमा संयुक्त राष्ट्रसंघले विशेषगरी ‘पिओसी मिसन’ अर्थात युद्धका कारण आन्तरिकरुपमा विस्थापित भएकाहरुलाई सुरक्षा प्रदान गर्दै आएको छ । पिओसी मिसनको एउटा महत्वपुर्ण तत्वको रुपमा नेपाली सेनाले भुमिका खेल्दै आएको छ ।

साउथ सुडानी राष्ट्रपती साल्भाग्यको फौज एस.पि.एल.ए ‘सुडान पिपुल्स लिवरेसन आर्मी र विद्रोही समुह ‘सुडान पिपुल्स लिवरेसन आर्मी ईन अपोजिशन’ बिचको युद्धका कारण विस्थापित भएकाहरुलाई संयुक्त राष्ट्रसंघले जुबामा क्याम्प बनाएर राखेको छ । आन्तरिक शरणार्थिको क्याम्पमा निरन्तर पट्रोलिङ गर्दै आएको नेपाली सेनाले विश्व खाद्य कार्यक्रमले वितरण गर्ने सामग्री सुरक्षीत ओसार–पसारका लागि सुरक्षा दिँदै आएको छ ।

‘समस्याग्रस्त ठाउँमा गएर जनतासँग अन्तरक्रिया गर्दै वेस बनाएर सुरक्षा प्रदान गर्छौ’ कर्णेल डिक बहादुर थापा भन्छन्, ‘युगान्डा र केन्याबाट आउने पेट्रोलियम पदार्थलाई सुरक्षित रुपमा देशका विभिन्न भागमा लैजानका लागि हामीले स्कर्टीङ गर्ने गरेका छौं ।’

साउथ सुडानमा करिब २ सय ५० किलोमिटर सड्क मात्र कालोपत्रे गरिएको छ । त्यसबाहेक अधिकांश कच्चि सड्क स्तरउन्नति गर्ने कार्य र नयाँ सड्क निर्माणको कामलाई पनी नेपाली सेनाले नै सुरक्षा दिने गरेको छ ।  

६ महिनामै पुरस्कार !

विश्वमै ‘बहादुर गोर्खालीको’ पहिचान बनाउन सफल नेपालीको प्रतिनीधि नेपाल आर्मीको  पशुपति प्रसाद गण साउथ सुडानमा खटिएको करिब ६ महिनामै पुरस्कृत भयो । ‘हाम्रो कामको प्रसंसा गर्दै संयुक्त राष्ट्रसंको सुडान मिसन हेड्क्वार्टरले यहाँ आएको ६ महिनामै पुरस्कार दिएको थियो’ लेफ्टीनेन्ट कर्णेल थापा  भन्छन्, ‘संयुक्त राष्ट्रसंघबाट पाएको प्रशंसा पत्रलाई हामीले उपलब्धि मानेका छौं ।’

साउथ सुडानको जुनसुकै भु–भागमा चुनौतिपुर्ण परिस्थीतिका बावजुद पुगेर काम गर्न तयार भएकै कारण राष्ट्रसंघले नेपाली सेनालाई अर्को उपहार पनि दिएको छ । त्यो के भने, १ सय ५० जनाको विशेष फौज ‘फोर्स रिजर्भ बटालियन’ अहिले जुबाकै दुरुपी वेस्टमा क्याम्प बनाउँदै छ ।

साउथ सुडान मिसमा राम्रो काम गरेबापत संयुक्त राष्ट्रसंघले नेपालबाट थप १ सय ५० जनाको ‘हाई रेडिनेस फोर्स’ परिचालन गरेको छ । प्रमुख सेनानी युवधिर मानसिंह अधिकारीको कमाण्डमा नेपालबाट थप फोर्सको रुपमा साउथ सुडान पुगेको उक्त फौज विशेष बन्दोबस्तिका सामान र अत्याधुनिक ठुला हतियार सहित सुडानको जुनसुकै भागमा परिचालित हुनेगरी तैनाथ भएको छ । ‘हामी फोर्स हेड्क्वार्टरको आदेश आउनासाथ तत्काल मुभ हुनेगरी खटिएका छौं’ प्रमुख सेनानी अधिकारी भन्छन्, ‘अहिले राजधानी जुबा आसपासमा रहेका आन्तरिक शरणार्थी क्याम्पको सुराक्षालाई हामीले प्राथमिकता दिएका छौं, परिआएका बाखत हामी साउथ सुडानभर परिचालित हुन्छौं ।’

साउथ सुडानमा विगत ५ महिनादेखि खटिएको हाई रेडिनेस गुल्म अहिले संयुक्त राष्ट्रसंघका अधिकारीहरुले पनि प्रशंसनिय फौज बनेको छ । अनमिन (संयुक्त राष्ट्रसंघिय मिसन साउनथ सुडान) स्थित फोर्स हेड्क्वार्टरका पब्लिक ईन्फर्मेसन अफिसर  लेफ्टनीनेन्ट कर्णेल जेरार्डले नेपालले राम्रो काम गरेबापत ‘हाई रेडीनेस फोर्स’ उपहार पाएको बताए । ‘नेपाली सेना तत्काल रेस्पोन्समा जान्छ  यो ज्यादै सराहनीय छ’ जेरार्डले भने, ‘जुबामा रहेका आन्तरिक विस्थापितको सुरक्षामा पनि नेपाली सेनाले गरेको योगदान प्रशंसनिय छ ।’  

          रुम्बेकमा ७ सय फौज

राजधानी जुबाबाट ३ सय ८४ किलोमिटर टाढा रहेको लेक्स स्टेट स्थित रुम्बेकमा अन्य देशका सैन्य अधिकारीको उपस्थिती देखिँदैन् । तर, सन् २०१२ देखि रुम्बेकमा खटिएका नेपाली फौजको संख्या भने अहिले ७ सय पुगिसकेको छ । ‘अप्ठेरोका बावजुद यो ठाउँमा हामीलाई युएनले दिएको जिम्मा सफलतापुर्वक पुरा गर्दै आएका छौं’ रुम्बेकस्थित रिपुमर्दन गणको कमाण्ड सम्हालिरहेका गणपति अञ्जन केशर खत्रीले भने, ‘नियमिती पट्रोलिङ, सड्क निर्माण कार्यमा सुरक्षा दिने, संयुक्त राष्टङसंघको बन्दोबस्तीका सामान ढुवानी गर्ने लगायतका कार्य सफलतापुर्वक सम्पन्न गर्र्दै आएका छौं ।’

संयुक्त राष्ट्रसंघको साउथ सुडान मिसनमा शसस्त्र प्रहरी बलको तर्फबाट १ सय ६० जना खटिएका छन् । नेपाली सेनाबाट अनमिसको कार्यालयमा खटिएका स्टाफहरु समेत कुल दुई हजार नेपाली सुरक्षा अधिकारी साउथ सुडान मिसनमा खटिएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप