बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘श्री’ मा लकडाउनको पीडा

आइतबार, २९ चैत २०७७, १७ : १५
आइतबार, २९ चैत २०७७

काठमाडौंँ । ‘श्री’ गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । प्रचारप्रसारसहित नयाँ वर्षमा आउने तयारीमा रहेको तीन फिल्म ‘लप्पन छप्पन २’, ‘मनसँग मन’ र ‘कृष्ण लीला’ ले रिलिज सारेपछि ‘श्री’ ले प्रदर्शन अवसर पाएको हो ।
नयाँ वर्षका लागि भन्दै सिंगल थिएटर र मल्टिप्लेक्स दुबैमा एकसाथ प्रदर्शन आएको फिल्मलाई दर्शकले मन पराएको वितरक करण क्रेजीले जानकारी दिए ।

एभरेष्ट सूर्य बोहोराको निर्माण तथा निर्देशन रहेको फिल्मको शुक्रबार दिउँसो सुन्धाराको सिभिल मलस्थित क्यूएफएक्स प्रेस शो गरिएको थियो । उक्त शोमा फिल्म हेर्ने अधिकांशले राम्रो बनेको प्रतिक्रिया दिएका थिए । सो अवसरमा धेरैले फिल्म मनोरञ्जनात्मक रहेको प्रतिक्रिया दिए । केहीले भने फिल्म यर्थाथ परक रहेको बताए ।

कोरोनाको कहरका कारणले दर्शक हलमा भरिभराउ नभएपनि फिल्मले राम्रै दर्शक तानेको वितरक श्रेष्ठले बताए । ‘दर्शक आउँछन् कि आउँदैनन् भन्ने डरै डरमा हामीले फिल्म रिलिज गरेका थियौं’ श्रेष्ठले भने, ‘फिल्मले दर्शक पाएको देख्दा उत्साह लागेको छ ।’ फिल्मको अभिनेता सन्दीप क्षेत्रीको भूमिका दर्शकले धेरै मन पराएको करणले सुनाए ।

फिल्मले कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले लगाएको कडा लकडाउनमा सर्वसाधारण मात्र होइन एउटा करोडपति व्यापारीलाई समेत कसरी धरधरी रुन बाध्य बनाएको छ भन्ने देखाइएको छ । फिल्ममा अभिनेता सन्दीप क्षेत्रीले व्यापारीको भूमिका निर्वाह गरेका छन् ।

पैसाको पछाडि दौडिने, सम्पत्तिलाई महत्व दिने र  गरिव–निमुखालाई बेवास्ता गर्ने व्यक्ति लकडाउनको चपेटामा कसरी निहिर बन्न पुग्छ भन्ने विषय समेत फिल्ममा समेटिएको छ । जुन विषयलाई हरेकले आफ्नो कथा महसुस गर्ने तरिकाले निर्देशक बोहोराले प्रस्तुत गरेका छन् ।

आम मानिसले कोरोना जोखिममा भोगेको विषय समेत समेटिएको फिल्म सन्दीपकै वरिपरि घुमेको छ ।  फिल्ममा सन्दीपको अलवा वर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, वसुन्धरा भुसाल, रविन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय रहेको छ ।

कोभिड–१९ को मारमा परेका कलाकर्मी तथा प्राविधिकलाई केही राहत होस् भनेर निषेधाज्ञाकै क्रममा यो फिल्म निर्माण गरिएको हो । एउटै लोकेशनमा धेरै दृश्यहरु खिचिएको फिल्म रमाइलो र टाइम पासका लागि  उपयुक्त भएको निर्माण युनिटको दाबी रहेको छ । स्वास्थ्य मापदण्ड अपनाउँदै हाल काठमाडौं लगायत देशैभर प्रदर्शनमा आएको फिल्मले नेपाली चलचित्र क्षेत्रलाई थोरै भए पनि राहत दिलाउने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप