बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

काँग्रेस, माओवादी र जसपा मिल्नु घाम र जुन मिल्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ

शुक्रबार, २७ चैत २०७७, २१ : ४२
शुक्रबार, २७ चैत २०७७

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र सङ्घीय समाजवादी पार्टी (जसपा)मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताएका छन् । 

मुख्यमन्त्री गुरुङले आज बेँसीशहर–१ उदिपुरमा आयोजित कार्यक्रममा तीन दलका आ–आफ्ना स्वार्थका कारण मिल्न नसक्ने बताए । 

वर्तमान सरकारलाई हटाउन सजिलो नभएको भन्दै मुख्यमन्त्री गुरुङले भने, “एमालेसँग तीन दलमध्ये जुन मिल्दा पनि बहुमत पुग्छ । उनीहरुको अवस्था सजिलो छैन ।” उनले  गण्डकी प्रदेश सरकार पनि बलियो रहेको बताए ।
मुख्यमन्त्री गुरुङले २०४७ देखि २०७४ सम्म आइपुग्दा प्राप्त हुन नसकेको महत्वपूर्ण उपलब्धि वर्तमान सरकारले हासिल गरको बताए । मुख्यमन्त्री गुरुङले भने,“समृद्धिका लागि जग बसालेका छौं । थप नतिजा छिट्टै देखिन्छ ।” उनले गण्डकी प्रदेश सरकारले सभ्य समाज र समृद्ध प्रदेश बनाउने अभियानका साथ काम गरिरहेको बताए । ग्यासको सट्टामा बिजुलीको चुलो वितरण गर्न लागेको, प्रदेशमा चक्लाबन्दीको अभियान थाल्न लागेको उनको भनाइ छ ।

 मुख्यमन्त्री गुरुङले भने, “रु ३५ अर्बमध्ये २० अर्ब भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले खर्च गर्दै बढीभन्दा बढी प्राथमिकतामा दिँदै आइरहेको छ । गण्डकी प्रदेशमा पाँच लाख ७८ हजार घरधुरी रहेकामा यसै वर्षभित्र विद्युत् नपुगेका घरधुरीमा विद्युत् पु¥याउँछौँ । अर्को वर्ष आधारभूत खानेपानी नपुगेका सबै घरधुरीमा एक घर एक धारा पुग्छ, उनले भने ।

मुख्यमन्त्री गुरुङले बेँसीशहर नगरपालिकाले बेँसीशहर–१ स्थित प्रवेशद्वारमा निर्माण गरेको प्रवेशद्वार, उदिपुर–डिही खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले प्रदेश सरकार र स्थानीयवासीको सहकार्यमा निर्माण गरेको एक घर एक धारा र जनकल्याण माध्यमिक विद्यालयको चार कोठे भवनको एक दिन उद्घाटन गरेका थिए । तीनवटै आयोजनाको उद्घाटनपछि संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको हो । 

बेँसीशहर नगरपालिकाले करीब २२ लाखमा डुम्रे–बेँसीशहर सडक खण्डको उदिपुरमा प्रवेशद्वार निर्माण गरेको हो । त्यस्तै ६२३ घरधुरी लाभन्वित हुनेगरी निर्माण सम्पन्न भएको उदीपुर–डिही खानेपानी रु दुई करोड ९८ लाख ३६ हजारको लागतमा सम्पन्न भएको हो । 

त्यसैगरी जनकल्याण माध्यमिक विद्यालयको चार कोठे भवन रु ६८ लाख ३२ हजार ९९१ मा राष्ट्रिय प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) लमजुङले निर्माण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप