शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इशारै इशारामा रवीन्द्र मिश्रले गरे ज्ञानेन्द्र शाहमाथि यस्तो हमला

बुधबार, २५ असोज २०७४, १४ : ३६
बुधबार, २५ असोज २०७४

काठमाडौं– विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सामाजिक सञ्जाल फेसबुकमा विवादास्पद शब्दसहित स्टाटस लेखेका छन् 

सो स्टाटसमा उनले नामै नकिटेको भएपनि इशारै इशारामा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि हमला गरेका छन् । 

उनले चिकित्सा क्षेत्रको वेथितिको अन्त्य गर्न माग गर्दै अनसनरत डाक्टर गोविन्द केसीलाई मार्न चाहनेहरु जब्बर हुँदै गएको  भन्दै  गलत कार्य गर्नेहरुलाई  एक न एक दिन पाप लाग्ने बताएका छन् । 
सामाजिक सञ्जाल फेसबुकमा गोविन्द केसीको अनसनप्रति ऐक्यबद्धता जनाउँदै मिश्रले भनेका छन्, ‘ आज म उनलाई भेट्न जाँदा सदा झैं उनको दृढता र आँट स्पष्टै देखिन्थ्यो। मैले मनमनै भनेँ, तपाईं ३ करोड नेपालीका लागि मर्न तयार हुनुहुन्छ तर चुनावमा तपाईंलाई मार्न चाहानेहरू झनझन जब्बर हुँदैछन्, कस्तो विडम्वना !’
 उनले गलत कार्य गर्नेहरुलाई एक न एक दिन पाप लागिछाड्ने दावा गर्दै भनेका छन्, ‘हेर पाप त एक दिन लाग्छ, लाग्छ । कि आज लाग्छ, कि भोलि लाग्छ । देखेनौ तिमीले उहीले देउता चोर्नेहरूलाई आज श्राप लागेको छ ।’
कुनै बेला पूर्वराजा ज्ञानेन्द्र शाहमाथि जे आरोप लाग्ने गरेको थियो । त्यही संकेत रवीन्द्र मिश्रले आफ्नो स्टाटसमा उल्लेख गरेका हुन् । मिश्रको  यो स्टाटस  विवादमा आउन सक्छ । पूर्वराजा ज्ञानेन्द्र शाह  बुहारी हिमानीसहित हाल थाइल्याण्डको बैककमा छन् । 
उनले जो कोहि गोविन्द केसी हुन नसक्ने भन्दै  सन्सारमैं उनीजस्ता मान्छे औंलामा गन्न सकिने मात्र हुने बताएका छन् ।  उनले  आफू त्यस्तो बन्न नसके पनि त्यस्ता मान्छेहरूलाई जुन तहबाट जसरी सकिन्छ त्यसरी नै सहयोग गर्न पनि अपिल गरेका छन् । 
आगामी प्रतिनिधिसभा निर्वाचनमा मिश्रलाई विवेकशील साझा पार्टीले काठमाडौं  क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।  चुनावको मुखमा स्टाटस हालेर मिश्रले  विवेकशील साझा पार्टीलाई विवादास्पद तान्ने खतरा देखिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप