बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सहरका ५० प्रतिशत नागरिकले हात्तीपाइले रोगको औषधि सेवन गर्दैनन्

बुधबार, २५ चैत २०७७, ११ : ३९
बुधबार, २५ चैत २०७७

काठमाडौँ– सिन्धुलीकी ३४ वर्षीया (निसा तामाङ) नाम परिर्वतनलाई एक्कासि हातगोडामा नीला र काला धर्सा देखापरे । काठमाडौँमा बस्दै आएकी उनले केही समयपछि स्तन फुलेर ठूलो भएको महसुस गरिन् । त्यसपछि ज्वरो आउने, धेरै जाडो भएको महसुस पनि भयो । अनि उपचारका लागि धेरै ठाउँ धाएपछि मात्र उनलाई हात्तीपाइले रोग लागेको थाहा भयो । वर्षौंदेखि हात्तीपाइले रोगविरुद्धको निःशुल्क औषधि सेवन अभियान सञ्चालन भइरहेको थाहा पाए पनि उनले औषधि खान आवश्यक ठानिनन् ।

यता दाङकी समीक्षा पोखरेलले दुई पटकसम्म हात्तीपाइले रोगको औषधि सेवन गरिन् । त्यसपछि उच्च शिक्षा हासिल गर्न उनी काठमाडौँ उपत्यका प्रवेश गरिन् । उपत्यकामा हात्तीपाइले अभियान चलिरहेको छ तर पनि त्यसको औषधि सेवन गरेकी छैनन् । काठमाडौँ प्रवेश गरेको करिब तीन वर्ष भयो । उनलाई औषधि सेवन गर्नुपर्छ भन्ने थाहा छ । तर पढाइ र कामको व्यस्तताले वास्ता गरिनन् ।

पहिलो पटक हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्दा ५७ वर्षीय बाबुलाल जोशीलाई टाउको दुख्ने, ज्वरो आउने, वाकवाकी लागेर गाह्रो भयो । काठमाडौँका जोशी पेसाले इन्जिनियर भए पनि पहिलो पटक औषधि खाँदा स्वास्थ्यमा समस्या आएकाले त्यसपछि सो औषधि सेवन नगरेको सुनाए ।

यसरी कतै व्यस्ता त कतै अज्ञानता र कसैलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै औषधि सेवनमा धेरैले रुचि देखाएनन् । विशेष गरेर सहरी क्षेत्र, त्यसमा पनि काठमाडौँ उपत्यकामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्ने व्यक्ति कम छन् । ग्रामीणभन्दा सहरी क्षेत्रमा हात्तीपाइले औषधि सेवन गर्नेको सङ्ख्या ५० प्रतिशत नै कम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रमुख डा. प्रकाश शाह बताउँछन् । ‘हात्तीपाइले रोगविरुद्धको औषधि अभियानका क्रममा गाउँगाउँमा पहिलो दिन विभिन्न बुथमार्फत ख्वाउने कार्यक्रम हुन्छ । त्यसमा छुटेकालाई स्वास्थ्यकर्मी र स्वयंसेविकाले कार्यक्षेत्र र घरघरमा पुगेर औषधि सेवन गराउँछन्,’ उनले भने, ‘काठमाडौँ उपत्यका जस्ता सहरमा घरघरमा  गएर ख्वाउन सम्भव छैन ।’

सहरमा व्यस्ताका कारण शिक्षित वर्ग नै औषधि सेवनप्रति  चासो दिँदैनन् । हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आम औषधि सेवन कार्यक्रमबारे विभिन्न सञ्चार माध्यममार्फत जानकारी दिइँदै आएको छ । यो औषधि सेवन किन गर्ने भन्ने बारे जनचेतना फैलाइरहेको भए पनि गाउँका तुलनामा सहरिया नागरिकले औषधि कम सेवन गरेको सरकारको दाबी छ । यद्यपि सरकारले हात्तीपाइले रोगविरुद्धको औषधि अभियानका बारेमा सर्वसाधारण जनतालाई बुझाउन नसक्दा ग्रामीण भेगका ७० प्रतिशत र सहरी क्षेत्रमा ५० प्रतिशत नागरिकमा मात्रै सहभागी भएको जनस्वास्थ्यविद् बताउँछन् ।

गाउँतिर औषधि सेवनबारे चाँडै मोटिभेटिभ भए पनि सहरमा कतिपय शिक्षित वर्गले हात्तीपाइले रोग नै छैन भन्ने गरेको पाइएको उनले सुनाए । हात्तीपाइले रोग निवारणको औषधि  सहरी क्षेत्रका सम्पूर्ण नागरिकको पहुँचमा पु¥याउन  चुनौतीको बनेको डा. शाहले सुनाए ।

 ‘गाउँघरको तुलनामा सहरी क्षेत्रमा औषधि सेवन गर्ने किन कम भए भनेर तथ्याङ्कलाई विश्लेषण गर्छौं,’ उनी भन्छन्, ‘त्यसपछि हाई लेबलको मिटिङ बसेर समस्याका समाधान खोज्न कोसिस गर्छौं ।’

मानिसको शरीरमा हात्तीपाइले रोगको परजीवी प्रवेश गरेको केही वर्षपछि मात्रै रोगका लक्षण देखिन्छ । ‘शरीरमा हात्तीपाइले रोगको परजीवी ७, ८ वर्ष पनि बस्छ,’ उनले भने ‘शरीरमा लक्षण नदेखिए पनि हात्तीपाइले रोगको औषधि सेवन गरेमा परजीवी मर्छ ।’

 शरीरमा हात्तीपाइले रोगको परजीवी भएको कुरा लामो समयसम्म थाहा हुँदैन । परजीवी बोकेको त्यस मानिसलाई टोकेको पोथी लामखुट्टे क्युलेक्सकले अन्य मानिसलाई टोकेमा त्यसमा रहेको परजीवी सर्ने भएकाले अनिवार्य रूपमा औषधि सेवन गर्नुपर्छ ।

दुुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती, सात दिनसम्मका सुत्केरी र सिकिस्त बिरामीले यो औषधि सेवन गर्न नहुने डा. शाहले बताए ।

शरीरमा हात्तीपाइले रोगको लक्षण देखिइसकेपछि निको पार्न नसकिने उनको भनाइ छ । ‘यद्यपि लक्षण देखिइसकेपछि औषधि सेवन गराएर शरीरमा भएका परजीवी मार्न सकिन्छ,’ उनले भने, ‘शारीरिक रूपमा बनावट बिग्रिएमा, अपाङ्ग भएमा बिरामीलाई पूर्ववत् अवस्था फर्काउन सकिँदैन ।’

हात्तीपाइले रोग शारीरिक रूपमा अशक्त, अपाङ्ग बनाउने सरुवा रोग भएकाले प्रारम्भिक अवस्थामै थाहा पाउनु आवश्यक हुन्छ । त्यसबाट पूर्ण रूपमा निको हुन आम अभियानअनुसार औषधि सेवन गर्नु अति आवश्यक छ । हात्तीपाइले रोगको सङ्क्रमण सङ्क्रमित पोथी लामखुुट्टे क्युलेक्सको टोकाइबाट हुन्छ । वर्षमा एक पटकका दरले ६ वर्षसम्म औषधि सेवन अभियान सञ्चालन हुँदा सेवन गर्नुपर्छ ।

 औषधिप्रति गलत धारणा   

हात्तीपाइले रोगको औषधि सेवन गर्दा बिरामी भइन्छ भन्ने गलत धारणा गाउँदेखि सहरसम्म छ । डा. शाहका अनुसार शरीरमा हात्तीपाइले रोगको उचेरेरिया ब्याङ्क्रफ्टी नामक परजीवी भएका व्यक्तिमा हुन्छ । त्यस्ता व्यक्तिले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको ज्वरो आउने, खाना खान मन नलाग्ने, वाकवाकी लाग्ने, पेट दुख्ने हुन सक्छ ।

औषधि सेवन गरिसकेपछि शरीरमा यस्ता खालका लक्षण देखिएमा औषधिले प्रभावकारी रूपमा काम गर्दै छ भनेर बुझ्न आवश्यक हुने उनको भनाइ छ । ‘ती लक्षण केही घण्टाभित्र आफै हराएर जान्छ,’ डा. शाह भन्छन्, ‘केही गरी शरीरमा लामो समयसम्म ती लक्षण रहिरहे नजिकैको स्वास्थ्य संस्थामा गएर आवश्यक सल्लाह तथा उपचारका लागि सम्पर्क गर्नुपर्छ ।’

औषधि सेवन गर्दा शरीरमा कम परजीवी भएका मानिसमा सामान्य र बढी परजीवी हुनेमा कडा खालका लक्षण देखिने उनी बताउँछन् ।

हात्तीपाइले रोगको अवस्था

नेपालमा पटक पटक गरी ११ करोड मानिसले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरिसकेको छन् । दशौँ वर्षदेखि यो रोग निवारण गर्न राष्ट्रिय आम औषधि सेवन अभियान चले पनि १२ वटा जिल्ला जोखिमको घेरामा छन् । ८५ लाख जनता अझै पनि यस रोगको जोखिममा छन् । ५१ जिल्ला हात्तीपाइले रोगविरुद्ध औषधि सेवन कार्यक्रम सम्पन्न भएको छ ।

नेपालमा सन् २००१ मा गरिएको ६३ जिल्लाको सेवलाइन सर्भेमा १३ प्रतिशत जनता जोखिममा थिए अर्थात २.५ करोड मानिस जोखिममा थिए । यस्तै ३० हजारभन्दा बढी व्यक्ति हाइड्रोसिलका बिरामी थिए । ती ६३ जिल्लामध्ये ५१ वटा जिल्लाको सेवलाइन सर्भे गर्दा अहिले साढे एक प्रतिशतमा झार्न सफल भएको सरकारको दाबी छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्म आम औषधि सेवनमार्फत संसारभरबाटै यस रोगलाई निवारण गर्ने लक्ष्य राखेको छ ।  विश्वमा अहिले ८५.६ करोड मानिस हात्तीपाइले रोगको जोखिममा रहेका छन् । संसारका ७१ मध्ये २१ सङ्क्रमित देशले आम औषधि सेवन कार्यक्रम सम्पन्न गरिसकेको छन् । संसारभर जोखिममा रहेका मध्ये ६५ प्रतिशत मानिस दक्षिण पूर्वी एसियाका ९ देशमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप