शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

के भन्छन् पत्रकार महासंघको अध्यक्षका दाबेदार ? (भिडियोसहित)

बुधबार, २५ चैत २०७७, ०९ : ०४
बुधबार, २५ चैत २०७७

काठमाडौं । पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको नेतृत्वका लागि आज देशभरका १३ हजार १२२ पत्रकारहरुले मतदान गरेर नेतृत्व चयन गर्दैछन् । पत्रकार महासंघको केन्द्रीय अध्यक्ष पदमा विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्रसिंह बुढाथोकीले उम्मेदवारी दिएका छन् । मूल नेतृत्व  चयनका लागि तीनजना मध्ये एकजनालाई छान्नुपर्नेछ ।

विगतमा पार्षदमार्फत मतदान हुने भएकाले उम्मेदवारहरूलाई भोट माग्न र नतिजाको पूर्वानुमान गर्नसमेत सजिलो थियो । तर, यसपटक देशैभरिका १३ हजार पत्रकारले जिल्ला–जिल्लाबाटै प्रत्यक्ष मतदान गर्ने भएकाले यो चुनाव निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ ।

महासंघका पदाधिकारी एवं सदस्यहरुको निर्वाचनका लागि कुल ९७ बुथमा निर्वाचन तोकिएको छ । ७७ जिल्लाका सम्बन्धित जिल्ला शाखाबाट मतदान हुनेछ । ४२ वटा प्रतिष्ठानका सदस्यले विभिन्न १९ स्थानबाट मतदान गर्नेछन् भने एसोसियटका सदस्यहरुले दशरथ रङ्गशालाको कभर्ड हलबाट मतदान हुनेछ ।


प्रत्यक्ष प्रणालीबाट महासंघको चुनाव हुँदै गर्दा भोट माग्नका लागि उम्मेदवारहरूको दौडधूप निकै नै बाक्लो देखियो । तर, चुनावी मुद्दा अर्थात एजेण्डाहरुका विषयमा भने कमै बहस भएको पाइयो ।

यसै सन्दर्भमा हामीले अध्यक्षका तीनैजना प्रत्याशीलाई तपाईले अध्यक्ष जित्नुभयो भने पत्रकार महासंघमा के–कस्ता काम गर्नुहुन्छ भनेर सोधेका छौं । सुनौं– अध्यक्षका तीनैजना प्रत्याशीका चुनावी एजेण्डा–

महासंघमा स्वार्थ समूहलाई प्रवेश गर्न दिन्नँ : विपुल पोखरेल

पत्रकार महासंघको आन्दोलनसँग म लामो समयदेखि जोडिएको छु । पत्रकार महासंघलाई कसरी अघि बढाउने भन्ने विषयमा मेरा आफ्नै दृष्टिकोण छन् ।

यो संस्था नेपालको श्रमजीवी पत्रकारको पक्षमा बलियो र प्रभावकारी ढंगले उपस्थित हुनुपर्छ । प्रेस स्वतन्त्रताको पक्षमा यो संस्था दरिलो रुपमा प्रस्तुत हुनुपर्छ ।

संघीय पद्दतिमा हामी गइसकेपछि बनिरहेका सबै कानून प्रेसमैत्री छैनन् । त्यस्ता कानूनका मस्यौदाहरुलाई खारेज गरेर हामी अगाडि बढ्न जरुरी छ ।

यिनै कारणहरुले गर्दा पत्रकार महासंघको जुन साख र चरित्र छ, त्यसलाई कायम राख्दै आवश्यकताहरु पूरा गर्नका लागि म अध्यक्षको उम्मेदवार बनेको हुँ । साथीहरूसँगको सहकार्य र अन्तरक्रियाले मलाई यो पदमा जान उत्प्रेरित गर्‍यो ।

म गएपछि पत्रकार महासंघमा गर्नुपर्ने धेरै प्राथमिकताका कामहरु छन् । पहिलो कुरा श्रमको मुद्दामा सम्झौताहीन ढंगले पत्रकार महासंघलाई उभ्याउनेछु ।

नागरिक अधिकार महासंघको एउटा प्रमुख एजेन्डा हुनेछ । पत्रकारहरुको व्यवसायीकरणमा पनि जोड दिनेछौँ । पत्रकारिताको व्यवसायीकरण भनेर हामी कुनै निचोडमा पुुग्न सकेनौँ, अब पत्रकारहरुको व्यवसायीकरणमा लागि विभिन्न तालिम र अवसरहरू दिइनेछ ।

अर्को, संघीयताको लाभ पत्रकार र सञ्चारगृहले हासिल गरेका छैनन् । अहिले पनि सूचना विभागको कार्ड बनाउन संघीय कार्यालय धाउनुपर्ने अवस्था छ । यसबाट मुक्त गर्दै पालिकास्तरबाटै पत्रकारिता क्षेत्रले लाभ लिने अवस्था सुनिश्चित गर्न जरुरी छ ।

त्यस्तै पत्रकारको सामाजिक सुरक्षाको कुरा, पत्रकारको स्वास्थ बिमाको कुरा र श्रमको उचित अभ्यासको कुरा हाम्रो प्राथमिकतामा हुन्छन् र यहीअनुसार काम गर्छौं ।

महासंघको चुनावमा राजनीतिकमात्रै नभएर अन्य स्वार्थ समूहको इन्ट्रेस्ट पनि देखिन्छ । तर, यसलाई हामीले ती स्वार्थहरुलाई निर्णय प्रक्रिया र नीति निर्माण प्रक्रियामा प्रवेश गर्न दिनहुन्न भनेर संकल्प गर्नुुपर्छ ।


म मेरो कार्यकालभरि यस्ता इन्ट्रेस्ट ग्रुपका उद्देश्यलाई प्रवेश गर्न दिन्नँ । त्यसैले अहिले कसले, कुन समूहसँग गठबन्धन ग¥यो भन्ने कुरालाई म बेवास्ता गर्छुु र सम्झौताहीनरुपमा पत्रकार महासंघको मूल  आन्दोलन र अभियानलाई अघि बढाउँछु ।

म प्रेस स्वतन्त्रताका लागि लड्ने आन्दोलनकारी हुँ : निर्मला शर्मा

पत्रकार महासंघको २६ औं महाधिवेशनमा मैले अध्यक्षमा उम्मेदवारी दिएको छु । २५ बर्षदेखि मैले मिडिया क्षेत्रमा काम गरिरहेको छु । विभिन्न छापा, रेडियो, टेलिभिजन र अनलाइन माध्यममा मैले काम गरिसकेको छु । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कतैबाट पनि संकुचन हुन नदिने मुद्दामा म वर्षौंदेखि लागेको छु ।

पत्रकार महासंघमा यसभन्दा पनि अगाडि म केन्द्रीय कार्यसमितिमा निर्वाचित भएर काम गरिसकेको छु । जतिबेला अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरियो, लेख्ने अधिकार खोसिएपछि २०६२÷०६३ को सडक आन्दोलनमा लागेको आन्दोलनकारी हुँ । म आफूलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि लड्ने एकजना सिपाही हुँ भन्छु ।

मैले पत्रकार महासंघको महासचिव पदमा पनि पहिला प्रतिस्पर्धा गरिसकेको छु । पत्रकार महासंघ चलाउन सक्छु भनेर आजभन्दा १२ वर्षअघि नै मैले महासचिवमा उम्मेदवारी दिएको थिएँ । २५ बर्षसम्म पत्रकारिता गरेको आधारमा नीति बनाउने ठाउँमा गएर नै परिवर्तन गर्नुपर्छ भनेर नै यो पटक मैले कार्यसमिति अध्यक्षमा उम्मेदवारी दिएको छु ।

अहिले न्यू मिडिया टेक्नोलोजी आइरहेको छ  । पत्रकार महासंघले अब पत्रकारहरूका लागि क्षमता अभिबृद्धि तालिम दिनुपर्छ । पत्रकार बनाउनका लागि न सम्बन्धित मिडिया हाउसबाट लगानी हुन्छ, न राज्यबाट लगानी हुन्छ । पत्रकार महासंघले पनि त्यस्ताखालका क्षमता अभिवृद्धि गर्ने तालिमहरु दिनुपर्छ ।

अहिले मिडियाले फड्को मारिसकेको छ । ठूला मिडिया हाउसको मात्र पहुँच छ भन्ने छैन अब । अहिले साना स्वरोजगारमूलक मिडिया पनि आएका छन् । त्यसको प्रवद्र्धन कसरी गर्ने त भन्ने बारेमा पनि पत्रकार महासंघले सोच्न जरुरी छ । उनीहरुलाई कसरी आत्मनिर्भर गराउने र त्यहीँभित्र पत्रकारहरुको व्यावसायिकता खोज्ने गराउनुपर्छ । यस्ता कुराहरु कहिलेकाँही नीति बनाउने ठाउँमा नपुगिकन गर्न सकिँदो रैन’छ ।

मेरो पहिलो उद्देश्य भनेको नै अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नु हो । किनभने, महासंघ नागरिक अगुवा समाजका रुपमा विकास भइसकेको छ । कुनै पनि बेला देश तथा लोकतन्त्रमाथि खतरा हुने बेला पत्रकार महासंघ अगुवा नागरिक समाजको रुपमा देखापरेको छ । त्यो साखलाई पत्रकार महासंघमा मैले उचो बनाउने कोशिस गर्छु ।

अर्को कुरा, पत्रकार महासंघ सबै पत्रकारहरुको छाता संगठन बन्न सफल भएको छ कि छैन, यसमा बहस–छलफल हुन जरुरी छ । महासंघ हामी सबैको छाता संगठन हो, त्यो संगठनभित्र हामी सबैको पेशा र व्यवसायलाई धमिलो हुन नदिने वातावरण बनाउनुपर्छ ।

अर्को, अहिले सोसल मिडिया हावी भएको छ । हामीले पत्रकारितालाई कसरी व्यवसायिक बनाउने, यसमा पनि चुनौती छ । पत्रकारमा व्यावसायिकता फस्टाउन सक्दैन भने पत्रकारितामा पनि व्यावसायिकता फस्टाउन सक्दैन । त्यसलाई तालिममार्फत अझ राम्रो बनाउन राज्यले नै लगानी गरेर राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान खोल्नुपर्छ, जसलाई पत्रकार महासंघले संयोजन गरेर एउटा तालिम संस्थाको रुपमा विकास गर्नुपर्छ ।

अर्कोतिर चुनावका बेला व्यवसायिक पत्रकारहरुले महासंघलाई हाम्रो संस्था भनेर नमान्ने अवस्था पनि छ, व्यवसायिक पत्रकारलाई नै नेतृत्वमा छान्यो भने उनीहरुले पनि आफ्नो संस्था भन्ने भावनाबाट अगाडि बढाउनुपर्छ जस्तो लाग्छ । 

प्रत्यक्ष निर्वाचन प्रणाली आएपछि अहिले सिन्डिकेट हटेको छ । यो निर्वाचनमा पत्रकारहरुले आफ्नो मताधिकार सही ढंगले प्रयोग गर्नुप¥यो । सक्षम र सवल ब्यक्तिलाइ नेतृत्वमा पुर्‍याउनुपर्‍यो । अरुभन्दा महिला पनि अब्बल हुन्छन् भने महिला नेतृत्व नै किन नछान्ने ? ७ दशकमा महिला माथिल्लो नेतृत्वमा पुग्न सकेका छैनन् भने यो इतिहास रच्ने मौका पनि हो ।

एउटा बालुवाटारको प्यानल छ, अर्को विपक्षी दलको ! मचाहिँ पत्रकारको प्यानल हो : गजेन्द्रसिंह बुढाथोकी

पत्रकार महासंघको अध्यक्षमा उम्मेदवारी दिनुका मेरा ३ वटा कारणहरु छन्–

पहिलो– पछिल्लो समय पत्रकार महासंघको नेतृत्व पाउन राजनीतिक दलहरुको छत्रछायाँमा रहने, राजनीतिक दलका नेताहरुको आर्शिवाद लिने र उनीहरुको निर्देशनमा उम्मेदवारी दिने जुन परिपाटी रहेको छ । पत्रकार महासंघलाई राजनीतिक दलको छायाँबाट मुक्त गर्नका लागि पेशागत क्षेत्रबाट नेतृत्व चुनिनुपर्छ भन्ने मेरो मूल एजेण्डा हो ।

दोस्रो– पत्रकार महासंघ पत्रकारिता क्षेत्रमा वास्तविक श्रम गर्ने, वास्तविक पत्रकारिता पेशा गर्नेहरुको साझा संस्था बनेन । पत्रकार महासंघ कुनै राजनीतिक नियुक्तिका लागि पेशाकर्मीको संस्था नभइकन व्यवसायिक संस्था हुनुपर्ने थियो । तर, यो राजनीतिक नियुक्तिका लागि भर्‍याङजस्तो मात्र भयो ।

मेरा कतिपय अग्रज पत्रकारहरुले पत्रकार महासंघमा राजनीतिक दलको छत्रछायाँ परेपछि उहाँहरुले सदस्यता नवीकरण नगरेको अवस्था छ । वास्तविक पेशाकर्मीहरुको साझा संस्था रहनुपर्छ भन्ने मेरो मान्यता रहँदै आएको छ ।

अर्को कुरा, पत्रकार महासंघमा विगतदेखि नै धेरै कमीकमजोरी देखा पर्दै आएको छ । यसलाई अधिकार प्राप्त गराउने ट्रेड युनियनजस्तो गरी सुधार गर्नुपर्छ जस्तो लाग्छ । मैले त्यस्ता केही सुधारका एजेण्डाहरु पनि अघि सारेको छु ।

मैले महासंघको नेतृत्व पाएँ भने वास्तविक पेशाकर्मी, श्रमजीवीको साझा संस्था बनाउनका लागि काम गर्छु ।  नेपाल पत्रकार महासंघ अब रक्सी पसलेले, तरकारी पसलेले, शिक्षकले, निजामती कर्मचारीले, कानुन व्यवसायीले म पत्रकार महासंघको सदस्य हुँ भनेर दुरुपयोग गर्ने अवस्थाको अन्त्य गराउँछु ।

अर्को कुरा, पत्रकार र कुनै राजनीतिक दलका कार्यकर्ताबीच स्पष्ट भिन्नता छुट्टिन जरुरी छ । पत्रकार महासंघलाई वास्तविक पत्रकारहरुको व्यवसायिक संस्थाका रुपमा विकास गराउन संरचनात्मक सुधार गराउने छु ।

अहिले नेपाल पत्रकारिता क्षेत्रमा धेरै अगाडि बढिसकेको छ । नयाँ मिडियाको प्रयोग गरेर पत्रकारिता अघि बढिरहेका बेला पत्रकार महासंघ पञ्चायतकालीन संरचनामा रहिरहन सक्दैन । यसलाई सुधार गरेर लैजानुपर्छ ।

देशभर रहेका सक्रिय १० हजार पत्रकारको क्षमता अभिवृद्धि गरेर लैजानुपर्छ । पत्रकारलाई सक्षम र सबल बनाउन राष्ट्रिय स्तरको पत्रकार प्रशिक्षण केन्द्र बनाउने मेरो उद्देश्य छ ।

अहिले पत्रकार महासंघको निर्वाचनमा एउटा बालुवाटार जो सत्तापक्ष पार्टी छ, उनीहरु निकटको एउटा प्यानल छ भने अर्कोतिर आफूलाई प्रतिगमनविरोधी बताउने विपक्षी दल निकटको प्यानल छ । यहाँ पत्रकारको नै प्यानल को छ त ? कोही छैन । त्यसैले, वास्तविक व्यवसायिक पत्रकार, पेशाकर्मी, श्रमजीवीहरुको प्रतिनिधित्व गर्दै मैले उम्मेद्वारी दिएको छु ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप