जोर्डनका राजकुमार नजरबन्द, शाही परिवारविरुद्ध षड्यन्त्र रचेको आरोप
जोर्डनमा खिँचातानीको स्थिति बनेको छ । पूर्व युवराज हमजा बिन हुसैन नजरबन्दमा छन् । राजा अब्दुल्लाका सौतेनी भाइ युवराज हमजाले देशका नेतामाथि भ्रष्टाचार, अक्षमता र उत्पीडनको आरोप लगाएका छन् । जसका कारण उनीमाथि सरकार र राजा अब्दुल्लाविरुद्ध षड्यन्त्र रचेको आरोप छ । तर युवराज हमजाले यी आरोप अस्वीकार गरेका छन् ।
जोर्डनको सरकारले अघिल्लो शनिबार एक पूर्वमन्त्री र शाही परिवारका एक अन्य सदस्यसहित ‘जोर्डनलाई सुरक्षा र स्थिरता’ का लागि भन्दै अन्य थुप्रै हाई प्रोफाइल व्यक्तिहरुलाई पक्राउ गरेको छ । यो सबै त्यो जोर्डनमा भइरहेको छ जसलाई अरबमा सबैभन्दा स्थिर देश मानिन्छ । जोर्डनमा कुनै प्रकारको गतिरोध निकै मुश्किलले नै देख्न पाइन्छ । त्यसैले नयाँ घटनाक्रमले धेरैको नजर जोर्डनमाथि आकृष्ट गरेको छ ।
पेगम्बर मोहम्मदसँग सम्बन्ध भएको बताउने जोर्डनको शाही परिवारको शासन सन् १९९९ देखि चलिरहेको छ । यसको कमान ५९ वर्षका अब्दुल्ला क्ष्क्ष् सँग छ । उनी दिवंगत राजा हुसैनका जेठो छोरा हुन् । उनकी आमा बेलायतमा जन्मिएकी रानी मूना हुन् ।
यस्तै हमजा, राजा हुसैनकी चौथी श्रीमती अमेरिकामा जन्मिएकी रानी नूरका छोरा हुन् । चार विवाहमार्फत् जन्मिएका ११ सन्तानमा राजकुमार हमजालाई दिवंगत राजा हुसैनका सबैभन्दा नजिकका मानिन्थ्यो । हमजालाई सन् १९९९ मा जोर्डनका युवराज घोषणा गरिएको थियो । त्यसै वर्ष राजा हुसैनको निधन भएको थियो । त्यतिबेला हमजालाई हुसैनका उत्तराधिकारीको रुपमा हेरिएको थियो । यद्यपि, अब्दुल्लाले गद्दी सम्हाले । अब्दुल्लाले सन् २००४ मा हमजाबाट युवराजको दर्जा फिर्ता लिएर र त्यो आफ्नो छोरालाई प्रदान गरे । यसलाई रानी नूरका लागि एक झट्काको रुपमा हेरियो जो आफ्ना छोरा राजा बनेको हेर्न चाहन्थिन् ।
यति हुँदा हुँदै पनि २९ मार्च सन् १९८० मा जन्मिएका हमजा जोर्डनको शाही परिवारको एक लोकप्रिय व्यक्तित्व बनिरहे । उनी आफ्ना पिता प्रति अगाध सम्मान राख्छन् । उनलाई धार्मिक दृष्टिकोणले पनि हेरिन्छ । वासिङ्टन पोस्टको रिपोर्ट अनुसार युवराज नहुँदा पनि हमजाले देशको सेनामा ब्रिगेडियरको पदका साथै अन्य पद पनि सम्हालिरहेका थिए । राजकुमार हमजा बेलायतको ह्यारो स्कूल र रोयल मिलिट्री एकेडेमी, सेन्डहर्टका ग्रेजुएट हुन् । उनले अमेरिकाको हार्वर्ड युनिभर्सिटीबाट पढाई गरेका हुन् ।
एक कबाइली नेता र राजकुमार हमजासँग भएको भेटघाटपछि यो घटनाक्रम सार्वजनिक भएको छ । प्रिन्स हमजाले कबाइली नेताको समर्थन हासिल गरेका छन् । यद्यपि, दुबै सौतेनी भाइबीच खुल्ला प्रतिद्वन्द्वीको कुनै संकेत देखिएको थिएन । हमजाले सन् २०१८ मा सरकारको नीतिको आलोचना गरेका थिए र अधिकारीमाथि आयकर कानूनको मञ्जुरी पछि ‘विफल म्यानेजमेन्ट’ को आरोप लगाएका थिए ।
बीबीसीद्वारा जारी भिडियोमा राजकुमार हमजाले कुनै प्रकारको षड्यन्त्र को कुरा अस्विकार गरेका छन् । उनले शासनमा टुटफुट, भ्रष्टाचार र अक्षमताका लागि आफू जिम्मेवार नभएको बताएका छन् । उनी भन्छन्, ‘यो सबै शासन तन्त्रमा पछिल्लो १५–२० वर्षदेखि चलिरहेको छ र असाध्यै खराब हुँदै गइरहेको छ । उनको संस्थानमा मानिसहरुको आस्था कम हुनका लागि म जिम्मेवार छैन । ’
हमजाले उनका सबै कर्मचारीलाई पक्राउ गरिएको र उनको परिवारलाई अम्मान बाहिर राखिएको आरोप लगाए । साथै, उनको इन्टरनेट र फोन कनेक्सन पनि काटिएको उनले जानकारी दिएका छन् ।
प्रश्न यो उठ्छ कि यो पूरा घटनाक्रमलाई सहयोगी देशले कसरी हेरिरहेका छन् ? जोर्डनको पारम्परिक सहयोगी जसमा अमेरिका, साउदी अरब र इजिप्ट समावेश छन्, ले राजा अब्दुल्लाप्रति समर्थन जताएका छन् । जोर्डनको अमेरिकासँग निकै बलियो सम्बन्ध छ । इराक युद्धका बेला र इस्लामिक स्टेटविरुद्ध दुबै साथ काम गरिरहेका थिए । यद्यपि, मूल रुपमा इजराइल र जोर्डन प्रमुख प्रतिद्वन्द्वी देश हुन् तर सन् १९९४ मा दुबै देशले एक शान्ति सन्धिमा हस्ताक्षर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको तुलनामा कम धान खरिद
-
ब्राजिलकी पूर्वराष्ट्रपति रुसेफ अस्पताल भर्ना
-
महाशिवरात्रिमा राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन
-
अखिल क्रान्तिकारीका अवकाश प्राप्त विद्यार्थी नेताहरूले पाए जिम्मेवारी (विवरणसहित)
-
नेपाल र म्यानमारबिचको खेल हेर्न रंगशालामा भिड (तस्बिरहरू)
-
मन्त्रीका स्वकीय सचिवको सुसाइड नोट, ‘गिरोहले अफवाह फैलाए, मलाई बदनाम गराए’