बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रोल्पामा वैदेशिक रोजगारीबाट दर्जनाँै शव फर्कन्छन्

बुधबार, २५ असोज २०७४, १० : ५२
बुधबार, २५ असोज २०७४

उमा केसी 

रोल्पा -रोल्पाबाट वैदेशिक रोजगारीमा खाडीमुलुक गएकामध्येको वर्षेनी ठूलो संख्यामा मृत्यु हुने गरेको देखिएको छ । 

जिल्लाबाट वैदेशिक रोजगारीमा जाने महिलाको संख्या उल्लेख्य भए पनि मृत्यु हुने भने सबै पुरुष मात्रै रहेका छन् । घर्तीगाउँ–७ रोल्पाका हरिप्रसाद कामीको २०७३ कात्तिक २० गते मृत्यु भएको थियो । ३० वर्षीय हरिप्रसाद रोजगारीको सिलसिलामा २० महिना अघि कतार जानुभएको थियो । ब्लड क्यान्सरका कारण उहाँको मृत्यु भएको परिवारले जानकारी दिएको छ । 

रोल्पा जंकोटका ४१ वर्षीय तुलसी विक्रम पुन रोजगारीकै क्रममा मृत्यु भएका अर्का रोल्पाली हुनुहुन्छ । मलेसियाको क्वालालम्पुरमा रहेको एक भारतीय कम्पनीमा काम गर्दै आएका पुनको २०७३ साल कात्तिक २४ गते मृत्यु भएको थियो । पुनको उच्च रक्तचापका कारण मृत्यु भएको परिवारले वताएको छ । 

रोल्पा नगरपालिका–४ गुरुङगाउँका खुमबहादुर गुरुङको साउदीमा मृत्यु भएपनि शव नेपाल आईपुग्न डेढ वर्ष लागेको थियो । साउदी अरबमा काम गर्दै गरेका गुरुङलाई कम्पनीकै गाडीले ठक्कर दिँदा मृत्यु भएको थियो । 

रोल्पाबाट वैदेशिक रोजगारीमा गएर मृत्यु भएका रोल्पालीका प्रतिनिधि पात्र हुन कामी, पुन र घर्ती । उनीहरु जस्तै रोल्पा जिल्लाबाट वैदेशिक रोजगारीमा गएर मृत्यु हुनेको संख्या आर्थिक वर्ष ०७१÷०७२ मा ११ जना रहेको थियो । यसैगरी, आव ०७२÷०७३ मा यो संख्या बढेर २२ पुगेकोमा आव ०७३÷०७४ मा यो संख्या १९ थियो । 

मृत्युपश्चात् मृतकका हकदारले रु १० लाखदेखि दुई करोड ३० लाखसम्म क्षतिपूर्ति बुझेको जिल्ला प्रशासन कार्यालय, रोल्पाले जानकारी दिएको छ । मृतकका परिवारलाई क्षतिपूर्तिका लागि आवश्यक कागजात पूरा भएर आउने बित्तिकै तत्काल भुक्तानी दिने गरिएको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले बताउनुभयो । 

कोरिया, जापान, अमेरिका, अष्ट्रेलियाजस्ता देशमा केही रोल्पाली रोजगारीका लागि पुगेपनि झण्डै ९० प्रतिशतभन्दा बढी रोल्पालीको रोजगारीको गन्तव्य खाडीमुलुक रहेका छन् । 

जिल्ला प्रशासन कार्यालय, रोल्पाको तथ्यांकअनुसार दैनिक करिब १५ देखि २० जना रोल्पाली युवा वैदेशिक रोजगारीमा जानका लागि राहदानी लिने गर्दछन् । आव २०७२÷०७३ मा राहदानी लिने रोल्पालीको संख्या छ हजार ८५६ जना रहेको थियो भने आव ०७३÷०७४ मा चार हजार २३६ जनाले राहदानी लिएका थिए । 

१८ देखि ४० वर्ष उमेर समूहका युवा वैदेशिक रोजगारीमा जाने गरेको तथ्यांक देखिएको छ । लामो समयदेखि रोजगारीमा गएर आवतजावत गर्ने ४० वर्ष माथिका रहेपनि नयाँ रोजगारीमा जाने ४० वर्षमुनिका हुने गरेको बताइएको छ । 

असुरक्षित श्रम, आवश्यक ज्ञान सीपको अभाव तथा जोखिमपूर्ण काममा जानुपर्ने बाध्यताका कारण धेरै जनाको मृत्यु भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी डा भट्टराईले जानकारी दिनुभयो । घरेलु कामदार, कृषि मजदुर, कारखाना मजदुरजस्ता जोखिमयुक्त काममा जानेको संख्या अधिक रहेका कारण वर्षेनी यति धेरै रोल्पालीको मृत्यु हुने गरेको छ । 

मिठो सपना बोकेर विदेश जाने रोल्पाका यस्ता युवा लाश बनेर फर्कँदा घरमा श्रीमती र छोराछोरीको विचल्ली हुने गरेको छ । स्वदेशमै रहँदा एकप्रकारले पारिवारिक व्यवस्थापन गरेका उनीहरु विदेश गएर मृत्युवरण गरेपछि भने पारिवारिक अवस्थामा ठूलो समस्या देखिँदै आएको छ । 

विदेश गएका नागरिकको कार्यस्थलमै मृत्यु भएपछि घरमा श्रीमतीको विचल्ली हुने गरेपनि राज्यले भने हेरचाह नगर्नु लोककल्याणकारी राज्यको मर्म विपरीत भएको एकल महिला समूहकी अध्यक्ष तुलसा आचार्यले बताउनुभयो । 

त्यस्ता अवस्थामा रहेकालाई समाज, सरकारी तथा गैरसरकारी निकायले सहयोग गर्नुपर्ने र राज्यले रोजगारीको व्यवस्था गरिदिनु पर्ने उहाँले बताउनुभयो । 

रोजगारीका अन्य विकल्प नहुँदा वैदेशिक रोजगारीमा जान बाध्य रोल्पालीमा कामअनुसारको पारिश्रमिक नपाउनु, असुरक्षित कामका कारण मृत्युको ंसंख्या बढ्दै जानेजस्ता समस्याका कारण आकर्षण पनि घट्दै जान थालेको छ । 

रोल्पा जिल्लाबाट भारतबाहेक अन्य मुलुकमा रोजगारीमा जानेको संख्या २५ हजारभन्दा बढी रहेको बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप