बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मेस्सीको ह्याट्रिकले अर्जेन्टिना विश्वकपमा, चिली बाहिरियो

बुधबार, २५ असोज २०७४, ०९ : १४
बुधबार, २५ असोज २०७४

व्युनोस आयर्स । कप्तान लियोनेल मेस्सीको उत्कृष्ट ह्याट्रिकको मद्दतले इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना सन् २०१८ को विश्वकपका लागि छनौट भएको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै अर्जेन्टिना ३–१ गोलअन्तरले विजयी भएको हो ।

दक्षिण अमेरिकाबाट ब्राजिल यसअघि नै छनौट भइसकेको छ भने आज बिहान भएको खेलमा बोलिभियालाई ४–२ गोलअन्तरले हराउँदै उरुग्वेले पनि विश्वकपमा आफ्नो स्थान बनाएको छ ।

पेरुसँग १–१ को बराबरी खेलेपछि कोलम्बिया पनि विश्वकपका लागि छनौट भएको छ ।

पाँचौ स्थानमा रहेको पेरु दक्ष्णि अमेरिकी छनौटमा पाँचौ भएपछि अब न्युजिल्याण्डसँग दुई लेगको प्लेअफ खेल खेल्नेछ ।

तर, ब्राजिलसँग ३–० ले पराजित भएपछि एलेक्सिस सान्चेजको चिली भने विश्वकप खेल्नबाट बञ्चित भएको छ ।

पछिल्ला दुई कोपा अमेरिका जितेको चिली पछिल्ला दुई विश्वकपको अन्तिम १६ सम्म पुगेको थियो ।

यता, अन्तिम चरणको खेलअघि छैटौँ स्थानमा रहेको अर्जेन्टिना विश्वकपमा छनौट नहुने खतरा रहेको थियो । यसअघि सन् १९७० मा पनि अर्जेन्टिनाले विश्वकप खेल्न पाएको थिएन ।

खेलमा पनि अर्जेन्टिनाले खराब शुरुवात गर्यो । मात्र ३८ सेकेण्डपछि रोमारियो इबाराको गोलले इक्वेडरले खेलमा अग्रता लियो ।

तर, सन् २०१४ को विश्वकपको उपविजेता अर्जेन्टिनाले पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो ।

पाँच पटकका वर्ष खेलाडी मेस्सीले खेलको १२, २० र ६२ औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई विश्वकपमा स्वतः प्रवेश गराए ।

उनको करियरको यो ४४ औँ ह्याट्रिक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप