ad
केन्द्रीय संस्करण
रुकमाङ्गद कटवालको जीवन

‘राजनीतिक गञ्जागोलले राति निन्द्रा लाग्दैन’

‘मृत्युपछि पनि नेपालीले सम्झने काम गर्न पाए हुन्थ्यो भन्ने लाग्छ’

person explore access_timeचैत २१, २०७७ chat_bubble_outline0
फोटो : कृष्ण खड्का

काठमाडौँ । रुकमाङ्गद कटवाल नेपाली सेनाका पूर्वप्रधानसेनापति हुन् । सेकेन्ड लेप्टिनेन्टबाट सेनाको जागिर सुरु गरेका उनले प्रधानसेनापति भएर विवाद एवं चर्चाकै वीच पूर्ण कार्यकाल बिताए र  स्वाभाविक अवकाश लिए । ओखलढुंगामा जन्मेका कटवाललाई राजा महेन्द्रले हुर्काएका, पढाएका र बढाएका हुन् । दरबारसँग नजिक मानिने कटवाललाई २०६६ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आदेश नमानेको आरोपमा तीन महिना कार्यकाल बाँकी छँदै बर्खास्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोही समय माओवादीले सेनामाथि हमला गरेको भन्दै विपक्षी काँग्रेस र सरकारमा सामेल एमालेसहितका दलले राष्ट्रपति रामवरण यादव समक्ष कटवाल बर्खास्तीको सरकारी निर्णय उल्ट्याउन माग गर्दै निवेदन दिए । राष्ट्रपति यादवले उनीहरुको मागअनुसार सरकारका निर्णय उल्ट्याइदिएपछि कटवालको पुनर्बहाली भयो ।

आफैंले हटाएको प्रधानसेनापतिको पुनर्बहाली भएपछि प्रचण्डले ‘नैतिकताका आधारमा’ पदबाट राजीनामा दिए । सो परिघटनालाई नेपालको इतिहासमा ‘कटवाल प्रकरण’का रूपमा बुझ्ने गरिन्छ । सेनाभित्र निडर, साहसी एवं स्पष्ट वक्ताको छवि बनाएका कटवालको जीवनका विभिन्न आरोह–अवरोहबारे रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा –

मेरो प्रेम

मेरो विवाह विसं २०२८ मा भएको हो । प्रेम र मागी दुबै भन्दा हुन्छ । मेरो साथीकी बहिनी हुन् उनी । विवाहअगाडि उनीसँग चिनजान थियो । साथीले माग्न जानु भनेपछि म उनलाई माग्न चप्पल र एउटा आर्मीको ज्याकेट लगाएर गएको थिएँ । विवाहपछि उनीसँग नै प्रेम बस्यो ।

खाना

मेरो मनपर्ने खाना यही भन्ने छैन । जे भेट्यो, त्यही खान्छु । गुन्द्रुक, आलुको मस्यौरा, गोलभेँडाको सिन्टा, गिलो ढिँडो र तिलको अचार निबुवा वा अमिलो निचोरेर मनपर्छ । फापरको रोटीसमेत मीठो लाग्छ ।

माछामासु पनि मनपर्छ । स्वास्थ्यका कारणले पछिल्लो समय खसीको मासु धेरै नखानु भनेको छ । तर, ताजा भेटेँ भने खान्छु । लोकल कुखुरा खान्छु । मन नपर्ने खानेकुरा कोदो हो ।

साथीभाइ, परिवारसँग रेस्टुरेन्ट जान्छु । चिया र चिकन मम खान्छु । पकाउन रुचि छैन, जान्दिनँ । श्रीमती सुत्केरी हुँदा एकपटक पकाएको थिएँ । सबै डडेर कामै नलाग्ने भएछ । आर्मीको तालिममा आफैंले पकाउनुपर्दा काँचै खान्थेँ ।

फिटनेस

मेरो एक्सरसाइज आध्यात्मिक र नर्मल मिसिएको छ । बिहान नियमित साढे ४ बजे उठ्छु । फ्रेस भएर पूजा कोठामा बस्छु । घरकै कम्पाउन्डभित्र हिँड्छु ।

पहिले फिटनेसका लागि पौडी खेल्ने, घोडा चढ्ने, बास्केटबल खेल्ने गर्थें ।

खेलकुद

म खेलाडी चाहिँ होइन । शरीर फिट राख्न र सिपाहीसँग घुलमिल हुन पहिले–पहिले बास्केटबल खेल्थेँ । काठमाडौँमा हुँदा नियमित घोडा दौडाउँथे । माओवादी टार्गेटमा परेपछि घोडा नचढ्न आदेश आयो र त्यसपछि छोडेँ । अहिले सातामा एकपटक गल्फ खेल्न जान्छु । घोडा चढ्न मनपर्छ ।

पोशाक

धेरैजसो अफिसियल रूपमा दौरासुरुवाल र कोट लगाउँछु । घरमा बस्दा प्रायः सर्ट, पाइन्ट, कोट लगाएर बस्छु । टिपटप भएर बस्न, हिँड्न रुचाउँछु ।

पहिरनमा मनपर्ने रङ कालो हो, ब्रान्ड हेर्दिनँ । मनपर्ने भेटियो र खल्तीमा पैसा छ भने किनिहाल्छु । टोपी शीरमा छुटाउँदिनँ ।

मोबाइल

मसँग अहिले एउटा मोबाइल छ । त्यसको ब्रान्ड के हो, भन्ने थाहा छैन । मोबाइल चलाउन धेरै जान्दिनँ । पहिले फोन गर्ने र उठाउने मात्र गर्थें । अहिले भाइबर र म्यासेन्जर पनि चलाउँछु ।

अहिलेसम्म मोबाइल खासै उपहार पाएको छैन । चीन जाँदा एउटा पाएको थिएँ । त्यो प्रधानसेनापति हुँदा ट्याक्सीमा हरायो । त्यतिबेला बाहिरको कुरा बुझ्न ट्याक्सीमा हिँड्थेँ । एकपटक ट्याक्सी ड्राइभरले चिनेजस्तो गर्यो । हतार–हतार निस्किँदा मोबाइल ट्याक्सीमै छुटेछ ।

टीभी

टीभीमा नेपालका समाचार पनि हेर्छु । अचेल धेरै सीएनएन हेर्छु । पहिले बीबीसी र अलजजिरा हेर्थें । ट्रम्प राष्ट्रपति भएदेखि सीएनएन हेर्न थालेको छु । बेलुका ८ बजेपछि आउने कार्यक्रम प्रायः छुटाउँदिन । अन्तर्वार्ताहरू समेत हेर्छु ।

चलचित्र

कलेज पढ्दाको समयमा फिल्म धेरै हेर्थें । दिनको तीन पटकसम्म फिल्म हेर्थें । परीक्षा परेको दिन पनि हेर्थें । अचेल बच्चाहरुले यस्तो फिल्म आएको छ, हजुरले हेर्न लायक छ भनेर कर गरेको फिल्म हेर्छु ।

नेपाली, हिन्दी सबै खालका फिल्म हेर्छु । सामाजिक तथा शिक्षा विषयका फिल्म मनपर्छन् । कहिलेकाहीँ प्रिमियर, प्रचारका लागि गरिने प्रदर्शनमा बोलाउँछन् । भ्याएसम्म जान्छु । 

गीत–सङ्गीत

गीतसङ्गीत अति नै मनपर्छ । मेरा पनि गीत निस्किएका छन् । रेडियो र टीभीमा आर कटवालका नाममा कहिलेकाहीँ बज्छ । प्रेम रस र वीर रसका गीतहरू सुन्न मन पर्छ । हिन्दी, नेपाली दुवै प्रकारको गीत सुन्छु ।

मापसे

पहिले–पहिले अफिस सकेर घर फर्किएपछि बेलुका दुई लार्ज प्याक बनाएर खान्थेँ । त्यसले झ्याप्प निद्रा पनि लाग्थ्यो । अचेल मिल्ने साथी भयो भने १५ दिन वा महिना दिनमा खान्छु ।

कहिले थकाइ लाग्यो, देश यो अवस्थामा पुग्यो भनेर पिर प¥यो घरमा खान्छु । साथीभाइ, इष्टमित्रले ह्विस्की ल्याइदिएका हुन्छन्, त्यही खान्छु ।

रोग

त्यस्तो ठूलो रोग केही छैन । अहिले केही मानसिक समस्या छ । देशको परिस्थिति, अहिलेको राजनीतिक गन्जागोलले मलाई त्यो समस्या भएको हो । राति निन्द्रा लाग्दैन । नेपाल फेलर राज्य होला कि भन्ने पिर लाग्छ ।

मेरो राशि

मेरो राशि ‘मेष’ हो । ग्रहदशामा विश्वास लाग्छ । हेराउने जुराउने पनि गर्दिनँ । केही नराम्रो हुँदैछ भने मलाई सपनामा सङ्केत मिल्छ । पूजा पाठ गर्दिनँ तर भगवानप्रति विश्वास लाग्छ ।

अध्ययन

पुस्तक पढ्छु । ट्रम्पका विषयमा लेखिएका चारवटा पुस्तक भर्खरै पढेर सकेको छु । दिनमा तीन वटासम्म किताब आलोपालो पढ्छु । बिहान, दिउँसो अफिसमा र बेलुका खानापछि फरक–फरक किताब पढ्छु । बाहिर मोटरमा हिँड्दा पनि पुस्तक पढ्छु । ‘महारानी’ अहिले पढ्दै गरेको पुस्तक हो ।

केही कुरा सिकिन्छ, जानिन्छ र व्यस्त भइन्छ भनेर पुस्तक पढ्छु । समय कटाउन पनि सजिलो हुन्छ । धेरै मनपरेको पुस्तक महाभारत, रामायण, चण्डी हो । सिंहदरबारको दोस्रो भाग निस्कँदैछ रे । अहिले पढ्न मन लागेको किताब त्यही हो ।

घुमघाम र फुर्सद

घुमघाममा धेरै रुचि छ । साताको एकपटक उपत्यका बाहिर निस्किन्छु । कोरोनापछि त्यो कम भएको छ । केही दिन अगाडि दोलालघाटमाथिको सापिङ भन्ने गाउँ पनि पुगेको थिएँ ।

गाउँका व्यक्ति सीधा साधा हुने भएकाले जान मनपर्छ । देशको सबै जिल्ला धेरैपटक घुमेको छु । प्रायः हेलिकप्टरमा घुमेको हो । विदेशमा युरोप, अमेरिका, एसियाका धेरै राष्ट्र पुगेको छु ।

फुर्सद केलाई भन्ने ? काम भनौँ भने त्यस्तो केही पनि छैन । फुर्सद भनौँ भने भेटघाटलगायतमा समय बितिरहेको हुन्छ । भेटघाट, अन्तर्वार्ता र आफ्नै ट्रस्टको कामले फुर्सद छैन ।

पेसा

म सेनाको अवकाशप्राप्त प्रधानसेनापति हुँ । २०२२ सालमा सेकेन्ड लेफ्टिनेन्टबाट जागिर सुरु गरेको थिएँ । प्रधानसेनापति भएर अवकाश पाएँ ।

मेरो सैनिक जीवनका धेरै उतार–चढावहरू छन् । त्यो सबैलाई थाहा भएको विषय हो । अहिले केही भन्दिनँ । जागिरका सिलसिलामा मेरो ब्रह्‍मले देखेका र यस कुराले नेपाल र नेपालीको भलो हुन्छ भन्ने लागेका कार्य मैले गरेको छु । त्यही कारण मैले धेरै खप्की खानुपर्यो, दुःखसमेत पाएँ । तर, सुत्ने बेलामा मैले गरेको ठीक हो भनेर खुसी लाग्थ्यो ।

मैले प्रधानसेनापति हुँदा रातको १२ नै बजेको नै किन नहोस्, काम कहिल्यै भोलिका लागि भनेर राखिनँ । त्यो समय मैले एउटा सही नगर्दिंदा सिपाहीले दुःख पाउँछ कि भन्ने लाग्थ्यो । त्यसैले काम सकेर मात्र घर जान्थेँ ।

प्रधानसेनापति हुँदा भेष बदलेर बाहिर आफ्नोबारेमा बुझ्नसमेत हिँड्थेँ । त्योबेला गाली गरेको समेत भेट्टाएको थिएँ ।

सेनामा जानुभन्दा अगाडि इन्जिनियर पढ्न पाकिस्तान जाने तयारी थियो । त्यतिबेला इन्डिया र पाकिस्तानबीच लडाइँ भयो । त्यसपछि साथीको कारणले आर्मीमा छिरेँ । आर्मीमा मलाई लिँदैन होला, लिए पनि आमाले गाली गर्नुहुन्छ भन्थेँ । साथीको करले आर्मीमा भर्ना भएको थिएँ, प्रधानसेनापतिसम्म हुन सफल भएँ ।

मेरो दुःख

दस वर्षे द्वन्द्वमा गरिब मारिए, तिनीहरुलाई झुन्ड्याइयो । १७ हजार मानिसले ज्यान गुमाए । अहिले पनि हजारौँ बेपत्ता छन् । माओवादीमा लागेका कतिपय बच्चाहरु अहिले अङ्ग–भङ्ग भएर दुःख पाइरहेका छन् ।

नेताका पछि लाग्ने केही मानिसले पैसा पनि कमाए होला । धेरैको अवस्था बेहाल छ । आखिर शक्तिमा जानु थियो भने, पैसा नै कमाउनु थियो भने त्यति धेरै मानिस किन मारेको होला भन्ने सम्झिएर दुःख लाग्छ । अहिलेको दुःख यही हो ।

मेरो सपना

नेपालमै मर्ने पहिलो सपना हो । म अवकाश भएपछि धेरै बाहिर गएर बस्न सल्लाह दिएका थिए । मेरो जीवनको उतार चढावले श्रीमती पनि डराएकी थिइन् । मैले यहीँ बस्नुपर्छ भनेर सम्झाएँ ।

‘मेरो निधारमा हान्ने गोली कसैले बनाएको छ भने मलाई हानेर देखाइदेऊ’ भनेर मैले बीबीसीको एक अन्तर्वार्तामा समेत भनेको थिएँ । मलाई विश्वास छ, काल नआएसम्म मरिँदैन । त्यसैले मैले त्यो भनेको हो ।

शिक्षामा केही गर्ने सपना छ । मैले जग्गा बेचेको रकमले आफ्नै नामबाट ट्रस्ट स्थापना गरेको छु । त्यसबाट अहिले ४०÷५० जना विद्यार्थी पढिरहेका छन् । यसले के हुन्छ र ? सबै नेपालीले पढ्न सकून्, बिहान बेलुका टन्न खान पाऊन् । उनीहरुलाई कसैले ढाँट्न, छल्न नसकोस् भन्ने मेरो सपना हो ।

मेरो भुल

जीवनमा धेरै भुल भए होलान् । मानिसले आफ्नो भुल हत्तपत्त बाहिर ल्याउँदैन । महात्मा गान्धीका पनि कयौँ भुल थिए होला । तर, उनले आफ्नो जीवनीमा भने उल्लेख गरेका छैनन् ।

सबैले आफ्नो भुल लुकाउने कोसिस गर्छन् । म प्रधानसेनापति हुँदा एउटा जर्नेल मेरा असिस्टेन्ट थिए । उनीसँग दिनभरका काम र भएको गल्तीको विषय साँझमा केलाउँथे ।

एकदिन राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा ओलम्पिक नियम मिचेर राष्ट्रपतिले उद्घाटन गरेको भोलिपल्ट माओवादीले सीडीओलाई थर्काएर खेलाडी रजिस्टर्ड गरेको रहेछ । त्यो कारणले सेनाले खेल खेल्न मानेन । मैले नियम मिचिएको छ, नखेल भनेँ ।

त्यही सिलसिलामा टुँडिखेलमा एउटा बक्सिङ खेल भइरहेको थियो । त्यहाँ खेलकुद मन्त्री र खेलकुद परिषदका सदस्यसचिव पनि हुनुहुन्थ्यो । त्यहाँ मैले मन्त्रीज्यूलाई मन्त्रीजस्तो गरिमामय पदमा बसेर ओलम्पिकको नियम मिचेर यस्तो गर्नुहुन्छ, लाज लाग्दैन, घृणा लाग्दैन भनेर हप्काएँ, धेरै गाली गरेको थिएँ ।

त्यहाँबाट फर्किएपछि गाडीमा मेजरले मलाई सम्झाए, मन्त्रीजस्तो मानिसलाई त्यसरी हप्कीदप्की गर्न हजुरको ओहदाले नसुहाउने भनेर । पत्रकार भइदिएको भए त्यहाँ अप्ठ्यारो हुन्थ्यो भनेर सम्झाए । त्यो मेरो जीवनको एउटा ठूलो भुल हो जस्तो लाग्छ ।

अर्काे भुल सिपाहीको पक्षमा म सधैँ आवाज उठाउँथे । त्यसको कारणले सङ्गठनमा मैले धेरै दुःख सहनुपरेको छ ।

राजनीति

राजनीतिमा मेरो रुचि छैन । आउने भए पहिले नै आउँथे । जानी नजानी राजनीतिमा जोडिनु भने पर्छ । अहिले नेपालका हरेक क्षेत्रमा राजनीति छ । राजनीतिमा लागेर चुनाव लड्न कतिले आग्रहसमेत गरेका थिए । चुनाव लडँे भने म सांसद भएर मन्त्री पनि हुँला । तर, काम गर्न दिँदैनन् । प्रिन्सिपलमा बस्ने मानिसलाई देशमा काम गर्न गाह्रो छ ।

मृत्यु

मृत्युले दुःखको संसारबाट छुटकारा दिन्छ । मृत्यु सत्य हो । मृत्युपछि पनि नेपालीले सम्झने सानो भए पनि एउटा काम गर्न पाए हुन्थ्यो भन्ने छ । मृत्युपछि उसले देश र जनताका लागि गद्दारी गरेन भन्ने सद्भाव स्थापित होस् भन्ने मेरो चाहना पनि हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.