शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघको चुनाव : ४९ पदाधिकारीका लागि १५२ उम्मेदवारी

जिल्लाबाटै मतदान गर्न पाइने, यस्तो छ प्रक्रिया
शुक्रबार, २० चैत २०७७, २३ : ०१
शुक्रबार, २० चैत २०७७

काठमाडौं । नेपाल पत्रकार महासङ्घको चुनावी सरगर्मी बढेको छ । आगामी चैत २५ गते हुने महासङ्घको चुनावका लागि विभिन्न राजनीतिक दलनिकट पत्रकार सङ्गठनहरु प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । केन्द्रदेखि प्रदेश र जिल्ला शाखासम्म अध्यक्षदेखि सदस्यसम्म विभिन्न पदका लागि निर्वाचनको तयारी तीव्र पारिएको छ ।

महासङ्घको केन्द्रीय निर्वाचनका लागि वरिष्ठ पत्रकार कपिल काफ्लेको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको छ । निर्वाचन मण्डलले सम्पूर्ण तयारी पूरा गरेको र मतपत्र प्रकाशन गरी प्रदेश तथा जिल्ला शाखामा पठाउने तयारी थालेको संयोजक काफ्लेले जानकारी दिए ।

४९ पदाधिकारीका लागि १५२ जनाको उम्मेदवारी

चैत २५ गते हुने महासङ्घको केन्द्र, प्रदेश,  प्रतिष्ठान र जिल्लास्तरको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको नेपाल पत्रकार महासङ्घको निर्वाचन मण्डलका संयोजक कपिल काफ्लेले रातोपाटीलाई जानकारी दिएका छन् ।

महासङ्घको यस वर्षको निर्वाचनमा १३ हजार १२२ मतदाता छन् । केन्द्रीय समितिका ४९ पदाधिकारीका लागि १५२ जनाको उम्मेदवारी परेको छ । प्रदेश तहका लागि परेको उम्मेदवारीको अन्तिम नामावली शुक्रबार साँझ प्रकाशित हुँदैछ ।

जिल्ला र प्रतिष्ठान तहको निर्वाचनका लागि चैत २२ गते मनोनयन दर्ता हुँदैछ ।  प्रदेश संरचनामा महासङ्घमा १० प्रदेश मानेर निर्वाचन क्षेत्र छुट्याइएको छ ।

सातवटा प्रदेशमा बेग्लाबेग्लै उम्मेद्वारहरुको भोटिङ हुनेछ । ७ प्रदेश बाहेक काठमाडौं, ललितपुर र भक्तपुरमा ‘उपत्यका प्रदेश’को संरचना बनाइएको छ । उपत्यकाका ३ जिल्ला बाहेक बागमती प्रदेशका अन्य जिल्लालाई समेटेर बागमती प्रदेश बनाइएको छ । एसोसिएटलाई पनि प्रदेश स्तरकै मान्यता दिइएको छ । एसोसिएटमा अनलाइन पत्रकार संघ, चलचित्र पत्रकार सङ्घ, खेलकुद पत्रकार सङ्घ र वातावरण पत्रकार समूहको सहभागिता छ । त्यस्तै प्रतिष्ठानहरुबाट बेग्लै प्रदेशस्तरको मतदान हुनेछ ।

जिल्लाबाटै मतदान, यस्तो छ प्रक्रिया

महासङ्घको निर्वाचनका लागि केन्द्रमा वरिष्ठ पत्रकार कपिल काफ्लेको संयोेजकत्वमा ७ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको छ । उनीबाहेक अन्य ६ सदस्यमा अधिवक्ताहरु छन् ।

यस्तै महासङ्घको जिल्ला शाखाको निर्वाचनका लागि १ जना संयोजकसहित ३ सदस्यीय निर्वाचन मण्डल बनाइएको छ । जसमा एक वरिष्ठ पत्रकार, एकजना अधिवक्ता र अर्को समावेशी, महिला वा खुला सदस्यसहित ३ सदस्यीय निर्वाचन मण्डल बनाइएको छ ।

चैत २५ गते जिल्ला, एसोसियट्स, प्रदेश र केन्द्रका लागि एकै पटक निर्वाचन गर्ने तयारी छ । त्यसका लागि मतदाता पत्रकारले जिल्लाबाटै सबै तहका लागि मतदान गर्ने व्यवस्था गरिएको छ ।

केन्द्रबाट मतपत्र छापेर शनिबारदेखि प्रदेश तथा जिल्लामा पु¥याउने तयारी थालिएको संयोजक काफ्लेले जानकारी दिए । चैत २५ गतेभित्रै सम्पूर्ण निर्वाचन स्थलमा मतपत्र पुगिसक्ने उनले बताए ।

मतदानका लागि कुनै आधिकारिक परिचय पत्र वा नागरिकता चाहिने व्यवस्था गरिएको छ ।

सत्तापक्ष र प्रतिपक्षका बेग्लाबेग्लै प्यानल

महासङ्घको यसपटकको निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (नेपाल पक्ष), मोहन वैद्यको क्रान्तिकारी माओवादी लगायतका दल निकट पत्रकार सङ्गठनले एउटै प्यानल बनाएका छन् । एमालेको प्रधानमन्त्री केपी शर्मा ओली पक्ष निकट प्रेस चौतारीको छुट्टै प्यानल रहेको छ । केही स्वतन्त्र र बागी उम्मेदवारी पनि परेको छ ।

महासङ्घको केन्द्रीय अध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको छ । गजेन्द्रसिंह बुढाथोकी, विपुल पोख्रेल र निर्मला शर्माको उम्मेदवारी परेको छ ।

अध्यक्षका उम्मेदवारमध्ये बुढाथोकी स्वतन्त्र उम्मेदवार हुन् भने शर्मा प्रधानमन्त्री ओली नेतृत्वको एमाले निकट प्रेस चौतारीकी हुन् । काँग्रेस निकट प्रेस युनियनका विपुल पोखरेल अध्यक्षको मैदानमा छन् । 

वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, ध्रुव लम्साल र रमेश विष्टको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षतर्फ दाना सुवेदी र बाला अधिकारीको उम्मेदवारी परेको छ ।

यस्तै, समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह, रेमबहादुर विश्वकर्मा, शीतलप्रसाद महतोको उम्मेदवारी परेको छ । महासचिव पदका लागि बालकृष्ण बस्नेत, राजेश मिश्र, रोशन पुरी र सुवोध गौतमले उम्मेदवारी दिएका छन् ।

खुला सचिवतर्फ गोविन्दप्रसाद चौलागाईं, जन्मदेव जैसी, रामप्रसाद शर्मा (यम विरही) र रामकृष्ण ज्ञवालीको उम्मेदवारी परेको छ । महिला सचिवतर्फ निमा काफ्ले, सिर्जना अर्याल उम्मेदवार बनेका छन् भने । जनजाति सचिवमा नारायण सुन्दर किलम्बु, रामकुमार श्रेष्ठ र शाहीमान राईको उम्मेदवारी परेको छ । मधेसी सचिवमा दीपेन्द्र चौहान, देवकुमार यादव र स्वेता सिन्हा उठेका छन् । दलित सचिवमा मधु शाही र हेमकर्ण विकको उम्मेद्वारी परेको छ भने कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, कृष्ण गिरी र प्रकाश थापाको उम्मेदवारी परेको छ ।

यस्तै लेखा समिति संयोजकमा प्रेस सेन्टरका लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ ।  

निर्मला शर्माको नेतृत्वमा सत्तापक्षको प्यानल

एमाले(केपी ओली समूह) निकट प्रेस चौतारीबाट अध्यक्षमा निर्मला शर्मा, वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, उपाध्यक्ष (महिला)मा दाना केसी सुवेदी, उपाध्यक्ष समावेशीमा अवधेश झा, महासचिवमा बालकृष्ण बस्नेत, सचिव खुलामा रामकृष्ण ज्ञवाली, सचिव महिलामा निमा काफ्ले, सचिव आदिवासी–जनजातिमा शाहीमान राई, सचिव मधेसीमा स्वेता सिन्हा, सचिव दलितमा मधु शाही, सचिव एसोसियटमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्ण गिरी छन् । यस्तै खुल्ला सदस्यहरुमा भूपेन्द्र आर्चायसहित १६ सदस्य छन् । 

यस्तै निर्मला शर्माको प्यानलबाट लेखा समिति संयोजकमा द्वारिकाप्रसाद काफ्ले, सदस्यहरुमा विष्णु जम्कटेल र कालिका शिवाकोटी छन् ।

विपुल पोखरेलको नेतृत्वमा प्रतिपक्षी प्यानल

नेपाली काँग्रेस, माओवादी केन्द्र, एमाले नेपाल पक्ष, क्रान्तिकारी माओवादी, विप्लव नेकपा लगायतका पार्टी निकट रहेका पत्रकार सङ्गठन मैदानमा छन् । यसअन्तर्गत प्रेस युनियन, प्रेस चौतारी (माधव–वामदेव निकट), प्रेस सङ्गठन, जनपत्रकार सङ्गठन लगायतको प्यानल बनेको छ । यो प्यानलमा अध्यक्षमा प्रेस युनियनका विपुल पोखरेल अध्यक्षमा उठेका छन् भने उनको बागीका रूपमा सोही सङ्गठनका रामप्रसाद दाहालले उम्मेदवारी दिएका छन् ।

संयुक्त प्यानलबाट वरिष्ठ उपाध्यक्षमा युनियनकै रमेश विष्ट र महिला उपाध्यक्षमा बाला अधिकारी रहेका छन् । यस्तै समावेशी उपाध्यक्षमा मसाल पार्टी निकटको प्रगतिशील पत्रकार सङ्घका उदय जीएम उठेका छन् ।

महासचिवमा प्रेस सेन्टरका रोशन पुरी, सचिव खुलामा माधव नेपाल पक्ष प्रेस चौतारीका गोविन्दप्रसाद चौलागाईंको उम्मेद्वारी परेको छ । सचिव महिलामा प्रेस युनियनका सृजना अर्याल, आदिवाशी जनजातिमा नारायण सुन्दर किलम्बु, मधेसी सचिवमा दीपेन्द्र चौहान, दलितमा हेमकर्ण विक, रहेका छन् । एसोसिएट सचिवमा प्रेस युनियनबाटै चार जनाको उम्मेदवारी परेकाले समाचार तयार पर्दासम्म साझा उम्मेदवार तय हुन सकेको छैन । कोषाध्यक्षमा पनि युनियनकै कलेन्द्र सेजुवाल रहेका छन् । संयुक्त प्यानलबाट लेखा समिति संयोजकमा प्रेस सेन्टरका लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप