शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महाध्रुवीकरणको कार्यभार

शुक्रबार, २० चैत २०७७, ०७ : ४४
शुक्रबार, २० चैत २०७७

समकालीन गाउँ खाने कथामा ‘जनतालाई मन पर्ने, तर नेतालाई मन नपर्ने के हो ?’ भनेर सोध्यो भने त्यसको जवाफ हुनेछ – कम्युनिष्टहरुबीच महाध्रुवीकरण ।’ फेरि पनि देश, जनता र श्रमिक वर्गको पक्षमा लडिरहनेहरुले सापेक्षित ध्रूवीकरणको निरन्तर पहलकदमी लिइरहनु पर्छ । क्रान्तिको इतिहास यसरी नै बन्दै आएको छ ।

मंसिर ०७७ देखि हामीले सुरु गरेको माओवादी तथा पूर्वमाओवादी र सम्पूर्ण कम्युनिष्टहरुबीच महाध्रूवीकरणको पहल ०७७ चैत्र पहिलो हप्तासम्म चार पार्टीका नेताहरुलाई औपचारिक पत्रमार्फत प्रस्ताव गरियो ।​ प्रकारहरु आ–आफ्ना छन्, तर समाजवाद नै भन्ने प्रचण्ड, विप्लब, आहुति, बाबुराम भट्टराई तथा हामी र जनगणतन्त्र भन्ने मोहन वैद्यबीच समाजवाद र जनगणतन्त्रको राजनीतिक कार्यक्रममा समानता अनुभव गर्न सकिन्छ ।

त्यसो त माधव नेपाल र झलनाथ खनालहरू पनि समाजवाद नै भन्छन् । अझ नेपालमा समाजवादी गणतन्त्र भन्ने पहिलो नेता नारायणमान बिजुक्छे हुन् ।

नेपाली श्रमिक वर्गको वस्तुगत आवश्यकता वैज्ञानिक समाजवादले मात्र सम्बोधन गर्छ । अतः समाजवादको स्पष्ट खाका निर्माणतर्फ जुटेर चरम दक्षिणपन्थी फासिष्ट ओलीतन्त्रविरुद्ध सम्पूर्ण कम्युनिष्टहरुले महाध्रुवीकरणको कार्यभार उठाउने पहल गर्नैपर्छ । यसरी मात्र विश्वमा रक्षात्मक भइरहँदा संख्याको दृष्टिले नेपालमा कम्युनिष्ट रुझानको जनसमुदायको सम्बोधन गर्न सकिन्छ ।

सर्वोच्च अदालतको सफेद अन्याय खप्ने साहस जुटाउँदै निर्वाचन आयोगमा पार्टी नाम परिवर्तनबारे नेकपा (माओवादी केन्द्र) को निर्णय अनुसार अब पार्टी नाम ‘नेकपा (माओवादी)’ हुनेछ, को हकमा विचारधारामा माओवादको अडान तथा राजनीतिमा खड्गप्रसाद ओली प्रवृत्तिप्रतिको विद्रोहभावका कारण पार्टी पुनर्गठन गर्नु परेको हो । जुन ठाउँमा अन्ततः प्रचण्डहरू पनि आइपुगेका छन् ।

नेपालमा वैज्ञानिक समाजवादको स्पष्ट खाका र कम्युनिष्ट पार्टी निर्माणको प्रश्नमा नेकपा (माओवादी) का तर्पmबाट निम्न प्रस्ताव गरिएको छ :

महाध्रुवीकरणको छलफलका लागि प्रस्ताव

१. अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा माओ त्सेतुङसम्मका सार्वभौम योगदानहरुका आधारमा मार्क्सवादको उच्चतम् विकासको अपरिहार्यतालाई पुनःस्थापित गर्दै मुख्यतः नेपाल पढ्ने सिद्धान्तमा नेपाली कम्युनिष्ट आन्दोलनको वस्तुनिष्ठ समीक्षा र गुणात्मक पुनर्गठन प्रतिवद्धतासहित समाजवादी क्रान्तिको विचार, कार्यदिशा र कार्यक्रम निर्धारित गर्ने गरी मार्क्सवाद र ब्रह्माण्डीय विचारधाराको पार्टी पथप्रदर्शक सिद्धान्त निर्माण ।

२.. राजनीतिक अन्तर्विरोध सम्बन्धमा, वाह्य दुश्मन वित्तीय पुँजीवादी इण्डो–अमेरिकी रणनीतिको भण्डाफोर गर्दै आन्तरिक रुपमा विद्यमान संविधानको संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशीकरण, संघीयताको सिद्धान्त, धार्मिक स्वतन्त्रता र मौलिक हकहरुको रक्षा गर्दै कमजोरी सच्याउन संविधानको समाजवादी पुनर्लेखनद्वारा विद्यमान राज्यसत्ताको दलाल तथा नोकरशाही पुँजीवादी अर्थ–राजनीति र गोर्खाली अन्धराष्ट्रवादी सत्तासंरचना उन्मूलन गर्ने गरी राजनीतिक कार्यक्रम निर्माण र कार्यान्वयन ।

३. प्रारम्भिक चरणको समाजवाद राष्ट्रिय आयामको तथा विकसित चरणको समाजवाद अन्तर्राष्ट्रिय आयामको हुने मान्यतामा नेपाली क्रान्तिको कार्यदिशा चरणवद्ध क्रान्तिको कार्यदिशामा आधारित हुनु पर्छ । प्रारम्भिक चरणको समाजवादले दलाल तथा नोकरशाही पुँजीको समूल राष्ट्रियकरण गरी राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र समाजवादी सुविधाको जनजीविका सुनिश्चित गर्नेछ । विकसित चरणको समाजवादमा रुपान्तरणको समय नागरिकको आधारभूत साधन नीति निर्धारण गरी त्यस नीतिभित्रको नीजि सम्पत्ति नागरिकलाई छाडेर नीति बाहिरको सम्पत्तिलाई स्थानीय तहमा समुदायकरण गर्ने ।

४. विद्यमान दलाल तथा नोकरशाही पुँजीवादी निर्वाचन प्रणाली खारेज गरी वहुवर्गीय र श्रमिकवर्गीय समाजवादी निर्वाचन प्रणाली स्थापना ।

५. उपरोक्त समाजवादी निर्वाचन प्रणालीका आधारमा श्रमिकवर्ग, जाति, क्षेत्र, महिला र देशभक्तहरुको संयुक्त राज्यसत्ता निर्माण ।

६. उपरोक्त समाजवादी निर्वाचन प्रणाली र संयुक्त राज्यसत्ता निर्माणका आधारमा राज्यको ७० प्रतिशत बजेटसहित समाजवाद (शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र खाद्य अधिकार) कार्यान्वयन दायित्व स्थानीय सरकारमा हस्तान्तरणद्वारा ७५३ स्थानीय तहलाई कम्युनमा बदल्ने वर्गसंघर्षको कार्यक्रम ।

७. राष्ट्रिय पुँजीको विकासका लागि राष्ट्रिय चरित्रका पुँजीपतिहरुलाई प्रोत्साहित गर्न कृषि अर्थतन्त्रको जनकल्याणकारी समाजवादको आधार तथा समाजवादी लोकतन्त्रको उपरिसंरचना ।

८. शान्तिपूर्ण सडक आन्दोलन हुँदै निर्वाचन उपयोगको कार्यनीति र महान जनविद्रोहको रणनीतिमा आधारित सामरिक कार्यदिशा ।

९. सर्वहारावादी दृष्टिकोणमा पृथ्वीनारायण शाहको मूल्याङ्कन सम्बन्धमा भूगोल केन्द्रीकरणद्वारा देश निर्माणमा खेलेको भूमिकालाई सकारात्मक भन्दै जातव्यवस्था आधारित उनको आन्तरिक राज्यप्रणाली भने अन्यायपूर्ण रहँदै आएको पृष्ठभूमिमा सबै समुदायका नेपाली जनतावीच समानता, स्वतन्त्रता र बन्धुभाव सुनिश्चित गर्ने गरी राज्यको वैज्ञानिक पुनःसंरचना,

१०. देशभक्त जनक्रान्ति सुदृढ गर्न सन् १८१६ को सुगौली सन्धिको जनदिशा आधारित समिक्षा र छिमेकी भारत तथा चीनसँग सौहार्द्र सम्बन्ध निर्माण हेतु वैज्ञानिक नीति निर्माण,

११. पार्टी निर्माण सम्बन्धमा वैज्ञानिक विचारधारा, क्रान्तिकारी राजनीतिक कार्यदिशा र सर्वहारावादी संगठनवीच एकीकृत अभ्यासको विधि एवं नेताहरुको जीवनशैली, कार्यशैली र सम्बन्धहरु निर्धारण तथा क्रान्तिकारी रुपान्तरणका लागि त्यागको दर्शनमा विशेष जोड ।

१२. अन्तर्राष्ट्रवादी कम्युनिष्ट पार्टीको कार्यक्रममा अबीरजात्रा, माला, खादाको अनावश्यक प्रयोग तथा मञ्चमा दर्जनौं संख्याको भद्दा आसन ग्रहण अन्त्य गरी सर्वहारा सांस्कृतिक चलन पुनःस्थापना ।

१३. पार्टीमा विभाग र एक प्रतिष्ठान खडा गरी दर्शन र विज्ञानको क्षेत्रमा बृहत्तर खोज अनुसन्धान प्राथमिकता ।

१४.नेकपा (माओवादी) द्वारा माघ ०७७ देखि सञ्चालन प्रारम्भ गरिएको मजदुर–किसान तथा सुकुम्बासी जागरण अभियानलाई देशव्यापीरुपमा घनिभूत बनाउने र पेशागत हकहितका साथै मुख्यतः जनसंख्याका आधारमा राजनीतिक अधिकारको आन्दोलन उठाउन मजदुर–किसान तथा सुकुम्वासी श्रमिक महासंघ, राष्ट्रिय भेला आयोजक समितिलाई यथाशिघ्र पूर्णता दिई काम अघि बढाउने ।

.   उपरोक्त श्रमिक वर्गीय जागरण अभियान सञ्चालन गर्दै विचारधारा, समाजवादी कार्यक्रम, पार्टी निर्माण तथा नेताहरुको आचरणसम्बन्धी वैचारिक मतहरुका आधारमा सम्पूर्ण कम्युनिष्टहरु र देशभक्त जनसमुदाय माझ बहस बढाउँदै नेपालमा वैज्ञानिक समाजवाद कसरी भन्ने प्रश्नको आधारभूत खाका निर्माण गरी समाजवादी गणतन्त्र स्थापनाका लागि महान जनविद्रोह आयोजना र सम्पन्न गर्न सकिने हुन्छ ।

(किराती पुनर्गठित नेकपा माओवादी केन्द्रका नेता हुन्)   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोपाल किराती
गोपाल किराती
लेखकबाट थप