शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनः कोरोना महामारीपछि शी जिनपिङ थप शक्तिशाली कसरी भए ?

बिहीबार, १९ चैत २०७७, १२ : २९
बिहीबार, १९ चैत २०७७

कोरोना महामारीले शी जिनपिङको अगाडि एउटा कुरा ऐना झैं स्पष्ट पारिदिएको छ । कोरोना कालपछि पश्चिमी देशको चमक डुबिरहेको छ तर चीन भने उदाउँदो सूर्यजस्तै जताततै छाउँदै छ ।

र अघिल्लो वर्ष जूनदेखि चीनले जसरी कोरोना महामारीको सामना गरेको छ, यसले यो सन्देश दिएको छ कि उसको व्यवस्था पश्चिमी देशको लोकतन्त्रभन्दा राम्रो छ ।

जब अमेरिका र युरोप महामारी तथा लकडाउनबीच भारी नोक्सानी व्यवहोरिरहेका थिए चीन ती सिमित देशमध्ये एक थियो जहाँ जीवन एक हदसम्म लयमा फर्कन थालेको थियो । उनीहरुले रेष्टुरेन्टको ढोका आफ्ना पाहुनाका लागि खोल्न थालेका थिए, मानिस कन्सर्टमा शरिक हुन र छुट्टीको योजना बनाउन थालेका थिए ।

चीन महामारीपछि काम सुरु गर्ने संसारको पहिलो अर्थव्यवस्था त थियो नै यो संसारको ठूलो अर्थव्यवस्थामध्ये एक्लो देश थियो जसले सन् २०२० को तेस्रो त्रैमासिकमा पाँच प्रतिशतको दरले विकास गर्यो ।

र केही मानिसहरुले चीनले पछिल्लो अनुमानमार्फत् निकै छिटो अमेरिकालाई पछि पार्ने भविष्यवाणी गरेका छन् ।

रुसपछि चीन दोस्रो यस्तो देश थियो जसले कोरोनाभाइरसविरुद्ध भ्याक्सिन तयार गर्न सफलता हासिल गरेको थियो । आफ्ना जनतालाई भ्याक्सिन दिनु अघि उसले थुप्रै देशलाई यसको आयात गर्न सुरु पनि गरेको थियो । यीमध्ये केही देश त ल्याटिन अमेरिका नै हुन् ।

सत्तामाथि पकडः

सेन्टर फर स्ट्र्याटेजिक एन्ड इन्टरनेशनल स्टडीजकी निर्देशक बोनी ग्लेजर भन्छिन्, ‘कठोर तरिका अपनाएर शी जिनपिङले महामारीमाथि नियन्त्रण पाउन सफल रहे । कोरोना महामारीमाथि रोकथाममा अमेरिकाको तुलनामा चीन बढी सफल हुनु यो कुराको प्रमाण हो कि चीनको साम्यवादी व्यवस्था पश्चिमी देशको लोकतान्त्रिक प्रणालीभन्दा धेरै राम्रो छ ।’

बीबीसी मुन्डोले बोनी ग्लेजर र जति पनि विशेषज्ञसँग कुरा गर्‍यो ती सबैको चीनको यो सफलताको पछाडि शी जिनपिङ एक्ला, मात्र एक्ला व्यक्ति थिए भन्ने धारणा थियो ।

स्यान डियागोकी युनिभर्सिटी अफ क्यालिफोर्नियाकी प्राध्यापक सुजैन शिर्क भन्छिन्, ‘शी जिनपिङले सत्तामा आफ्नो पकड बलियो बनाउने प्रक्रिया महामारी अघि नै सुरु गरेका थिए तर यसमा कुनै शंका छैन कि कोरोना महामारीले उनको उद्देश्य पूर्ती गर्न मद्दत गर्यो । यदि महामारी नआएको भए यो सबै उनका लागि जटिल हुन्थ्यो ।’

तर प्रश्न उठ्छ कि शी जिनपिङले यसलाई कसरी पूरा गरे र शी जिनपिङसँग आजको दिनमा पहिलेभन्दा निकै धेरै राजनीतिक शक्ति छ भनेर किन भनिँदै छ ?

सुरुवाती हारदेखि सफलतासम्मको यात्राः

​मार्चको सुरुवातमा नै कम्युनिष्ट पार्टीको भर्चुअल सभा बोलाइएको थियो जसमा पहिलो पटक चीनको सरकारले महामारीमाथि आफ्नो जीतको उत्सव सार्वजनिक रुपमा एउटा ठूलो मञ्चमा मनायो । चीनको कम्युनिष्ट पार्टीका अंग्रेजी पत्रिका ग्लोबल टाइम्सले सार्वजनिक रुपमा शी जिनपिङको नेतृत्व बिना चीन कोरोना भाइरसविरुद्धको लडाईंमा पश्चिमी देशभन्दा अघि बढ्न सक्दैनथ्यो भनेर लेख्यो ।

साउथ चाइना मर्निङ पोस्टले चीनका राष्ट्रपतिले महामारीमाथि नियन्त्रण पाउन देशको सर्वश्रेष्ठतालाई रेखांकित गरेको भन्दै लेख्यो । र उनले यस्तो गरेर चीनका नौजवान देश बाहिर जाँदा गर्वले छाती फुलाएर उभिन सकून् भन्ने निश्चित गरे । अतितमा यस्तो हुँदैनथ्यो ।

वासिङ्टनस्थित थिंक ट्याङ्क ब्रुकङ्ग्स इन्स्टिच्यूटमा चीन मामिलाका विशेषज्ञ रेयान ह्यास भन्छन्, ‘चीनले महिनौंसम्म कोरोना भाइरसको वरिपरि रहेर शी जिनपिङको सफलताको कहानी लेखियोस् भनेर कोसिस गरिरह्यो । ’

उनले भने, ‘चीनको नेतृत्वले कोरोना महामारीबाट बच्ने आफ्नो तौर तरिका सफलताको कहानीमा बदलियोस् भनेर कोसिस गर्यो । यसको तुलना अमेरिका र अन्य पश्चिमी देशको लोकतान्त्रिक व्यवस्थासँग गरियोस् ।’

क्यानडाको कार्लटन युनिभर्सिटीमा चीन मामिलाका विशेषज्ञ जेरेमी पेल्टील यो कुरासँग सहमत छन् कि कोरोना महामारीले चीनलाई आफ्नो राष्ट्रवादी प्रोपोगान्डालाई बलियो बनाउन मद्दत पुर्‍यायो । यसको उद्देश्य जिनपिङ र पार्टीको नेतृत्वका लागि समर्थन बलियो बनाउनु थियो ।

एउटा खराब कदमः

​जेरेमी पेल्टील भन्छन्, ‘कोरोना महामारीका बेला चीनको मिडियाले पश्चिमी देश विशेषगरी अमेरिकाको स्थितिबारे दैनिक रिपोर्टिङ गर्यो । यसले चीनको जनताबीच विश्वास दिलायो कि उनीहरुको साम्यवादी व्यवस्था पश्चिमी देशको व्यवस्थाभन्दा राम्रो छ ।’

‘जब चीनको पश्चिमी देशसँग सम्बन्ध बिग्रियो र चीन विरोधी भावना बढ्न गाल्यो तब चीनका मानिसहरुको सरकार र कम्युनिष्ट पार्टीका लागि समर्थन बढ्न थाल्यो ।’

यद्यपि, चीनले कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि पाएको सफलताको सुरुवात राम्रो कदममार्फत् भने भएको होइन ।

धेरैले महामारी फैलन सुरु हुँदा यसलाई लुकाउन किन कोसिस गरियो भनेर सरकारलाई प्रश्न सोध्न थाले ।

प्राध्यापक सुजैन शिर्क भन्छिन्, ‘कोरोना महामारीको सुरुवातको समयमा ऊहानमा के भइरहेका थियो, सरकारले त्यो लुकाउँदा सोसल मिडिया र इन्टरनेटमा मानिसहरुले विरोध जताएका थिए । त्यसपछि सेन्सरशिप र खबर दबाउने प्रक्रिया सुरु भयो । यसले मानिसहरुको स्थिति थप खराब भयो ।’

सुजैन याद गर्छिन्, ‘यो त्यो घडी थियो जब शी जिनपिङ र उनको पार्टी चीनमा सर्वसाधारणबीच असाध्यै अलोकप्रिय भएका थिए । शी जिनपिङले सुरुमा महामारीमाथि नियन्त्रण पाउने काम प्रधानमन्त्रीको विश्वासमा छोडिदिएका थिए र केही हप्ताका लागि त उनी सर्वसाधारणको नजरबाट टाढा पनि भएका थिए ।’

सुजैन शिर्क भन्छिन्, ‘यस्तो लाग्यो कि कमान शी जिनपिङको हातमा छैन । तर जब उनी सार्वजनिक भए, सबैकुरा उनको नियन्त्रणमा जानु नै थियो र यसका साथै पूर्ण नियन्त्रणको एक असाध्यै प्रभावकारी व्यवस्था लागू गरियो ।’

शी जिनपिङको भूमिकाः

चीनले महामारीमाथि नियन्त्रण पाउनका लागि जुन तौर तरिकाको सहारा लिए, त्यो कडा खालको थियो । त्यहाँ मानवाधिकारको उल्लंघन भएको खबर पनि प्रशस्तै सुन्न पाइयो । तर पनि चीनले त्यो हासिल गरेर देखायो जुन थुप्रै पश्चिमी देशले हासिल गर्न सकेको थिएन ।

जेरेमी पेल्टील भन्छन्, ‘सुरुवाती गल्ती र महामारीको कुरा लुकाउने कोसिसपछि चीनले लकडाउन, परीक्षण, ट्रेसिङ र क्वारेन्टिनमार्फत् निर्णायक कदम उठायो । यसले महामारी फैलनबाट रोक्न मद्दत गर्‍यो र त्यहाँ संक्रमणका कारण हुने मृत्युको संख्या अप्रत्याशित रुपमा कम भए । यतिमात्रै होइन चीनले आर्थिक गतिविधिमा तीब्रता दियो ।’

जेरेमीका अनुसार चीनमा आम जनजीवन लयमा फिर्ता हुनु र अर्थव्यवस्था तीब्र रुपमा अघि बढ्नु, यी दुई घटना यस्तो समयमा भयो जब पश्चिमी देश भविष्यको कार्ययोजनामाथि काम गरिरहेका थिए । र यसमा कुनै शंका छैन कि यी सबका बीच शी जिनपिङको हात थियो ।

प्राध्यापक सुजैन शिर्कको विचारमा यसका कारण शी जिनपिङको पार्टीमा स्थिति पनि बलियो हुँदै गयो । अर्को वर्ष पार्टीको कांग्रेसमा शी जिनपिङलाई तेस्रो कार्यकालका लागि पनि छानिने आशा गरिएको छ ।

माओ र डेंग शियाओपिङपछि चीनका कोही पनि नेता १० वर्षभन्दा बढी सत्तामा रहन सकेका छैनन् । तर हरेक कुराले यो इशारा गरिरहेको छ कि केही वर्ष अघि शी जिनपिङको बाटोमा जति पनि अवरोध बन्न सक्थे त्यसलाई उनले हटाउनेछन् ।

प्राध्यापक सुजैन भन्छिन्, ‘सत्ता सम्हालेलगत्तै देखि शी जिनपिङ यसको तयारी गरिरहेका थिए । धेरैजसो सरकारी एजेन्सी, सेना र प्रहरीको नियन्त्रण आफ्नो हातमा दिनु र विरोधीलाई किनारा लगाउनु यसैको हिस्सा थियो । यद्यपि, महामारी नआएको भए पार्टी कांग्रेसमा यो समय उनका लागि थप मुश्किल हुन सक्थ्यो ।’

उनका अनुसार शी जिनपिङका पूर्ववर्ती शासकले सत्ताको शीर्षमा नियमित अन्तरालमा परिवर्तन भइरहन्छन् भन्ने परम्परा स्थापित गरे । यदि यस्तो भए शी जिनपिङको तेस्रो कार्यकाल मुश्किल हुनेछ तर पार्टी जुन परिवर्तनबाट गुज्रिरहेको छ त्यो विषयमा पार्टीको एउटा तप्कामा तनावको माहौल छ ।

जेरेमी पेल्टीलको धारणा अनुसार कोरोना महामारी शी जिनपिङका लागि गेम चेन्जर साबित भयो । थुप्रै नीति जसमा हिजोसम्म चीनमा प्रश्न उठाइने गर्दथ्यो अब त्यसलाई महामारीको नाममा जायज बताइँदैछ । यसको सबैभन्दा राम्रो उदाहरण चीनमा व्यापक रुपमा चलाइँदै गरिएको सर्भलेन्स कार्यक्रम हो ।

उनी भन्छन्, ‘यो साँचो हो कि कोरोना संक्रमणको रोकथाम, ट्र्याकिङ र ट्रेसिङमा यो प्रविधिले निकै मद्दत गर्ने गर्छ तर निगरानीको यो व्यवस्थालाई अब सार्वजनिक स्वास्थ्य र सुरक्षाको नाममा वैध साबित गर्ने कोसिस गरिँदैछ ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप