ad
केन्द्रीय संस्करण
कोरोनाले बदलिएको यात्रा

टुरिष्ट गाइडको पेसा छाडेर पठाओ राइडर !

'कोभिड–१९ ले गरिखानेलाई नयाँ बाटो पनि बनाइदिएको छ'

person explore access_timeचैत १९, २०७७ chat_bubble_outline0



काठमाडौंको थानकोट घर भएका ‘राइडर’ विनोद थापा मगर एकाबिहानै घरबाट निस्कन्छन् । दैनिकजसो करिब सवा ६ बजे नै घरबाट निस्कने उनी पहिला छोरालाई सितापाइलास्थित स्कुलमा छाड्छन्, त्यसपछि एक कप तातो चिया पिउँछन् र चोकतिर हानिन्छन् ।

थापा मगरको साथमा ‘टु–ट्वान्टी’ मोटरसाइकल छ, जुन उनले दुई वर्षअघि आफ्नै निजी प्रयोजनका लागि किनेका हुन् । तर अहिले त्यही मोटरसाइकल उनको गतिलो कमाई गरिखाने भाँडो बनेको छ । हो, अहिले त्यही मोटरसाइकलमा उनी ‘पठाओ’ अन्तर्गत ‘राइड सेयरिङ’को काम गर्छन् ।

उनले आफ्नो मोबाइल फोनलाई मोटरसाइकलमै ‘अट्याच’ गराएका छन् । हरबखत उनको नजर त्यही फोनको स्क्रिनमा रहन्छ । कति बेला मोबाइलको घण्टी बज्ला र दौडौंला भनेर उनी तम्तयार रहन्छन् ।

कहिलेकाहीँ चोकमा पुग्दा नपुग्दै उनको मोबाइलमा घण्टी बजिहाल्छ । ग्राहक लिन उनी कुदिहाल्छन् । तर, कहिलेकाहीँ घण्टौंसम्म पार्कमा कुरेर बस्दा पनि उनको मोबाइलमा घन्टी बज्दैन । तब उनी निरास हुन्छन् र मनमनै सोच्छन्– आज उति कमाई नहुने भो ।

आजभोलि थापा मगरको जीवन धान्न र परिवार पाल्ने माध्यम नै राइडिङ पेसा बनेको छ । कोभिड–१९ पछि खोसिएको पर्यटन व्यवसायको सट्टा उनले अहिले आफ्नो दैनिकी चलाउने सहारा ‘पठाओ’लाई बनाएका छन् ।

उमेरले झण्डै ५० को हाराहारी टेक्न लागिसकेका थापा मगरको ५ जनाको परिवार छ । आफूसहित एक छोरा, एक छोरी, पत्नी र बुढी आमा । छोराछोरीको पालन पोषण, शिक्षासहित परिवार पाल्ने जिम्मेवारी उनकै काँधमा छ ।

‘धन्न घर भाडा लाग्दैन । नत्र त मेरो विजोग नै हुने थियो,’ उनी भन्छन्, ‘पठाओबाट कमाएको पैसाले छोराछोरीको स्कुल फि, कलेजको फि, घर खर्च धान्नै मुस्किल छ । तर, म यो कुरामा सन्तुष्ट छु कि पठाओ मेरो दैनिकी चलाइदिने सहारा बनेको छ ।’

‘टुरिष्ट गाइड’बाट ‘पठाओ राइडर’

त्यसो त थापा मगर पहिले ‘टुरिष्ट गाइड’को काम गर्थे । विदेशी पर्यटकलाई एयरपोर्टमै लिन जानेदेखि पर्यटकको स्वागत सत्कार, होटलको व्यवस्थापन, पर्यटकहरुलाई घुमाउने काम उनी आफै गर्थे ।

तर, अहिले उनको पेसा बदलिएको छ । विश्व महामारी ‘कोभिड–१९’ ले उनलाई अर्को व्यवसायमा धकेलिदिएको हो । त्यसैको परिणाम हो उनको अहिलेको नयाँ परिचय– पठाओ राइडर ।

‘काम राम्रै थियो । कमाई पनि राम्रै थियो । टुरिष्ट गाइडको पेसा एयरपोर्ट–ठमेल, काठमाडौंबाट नाम्चे, सोलुखुम्बु, पुनहिल घोडेपानी, अन्नपूर्ण, सगरमाथा बेस क्याम्पसम्म सयौं पटक पुगेको छु,’ उनले भने, ‘प्याकेजमा जाने हुँदा राम्रै कमाई हुन्थ्यो । तर ती सबै अहिले कोरोनाले खाइदियो । कोभिडका कारण विदेशीहरु नेपाल नआउने भएपछि अन्ततः म बेरोजगार भएँ । कोरोनाको सन्त्रास, लकडाउनका कारण झण्डै एक वर्ष घरमै बसेँ । पठाओमा सामेल भएको त बल्ल दुई महिना जतिमात्रै हुँदैछ ।’

थापा मगर सुरुमा पठाओ अफिस खोज्दै पुतलीसडक, बागबजार घुमेको रमाइलो किस्सा सुनाउँछन् । ‘पहिले नै पठाओ, टुटल भन्ने त सुनेको थिएँ तर कसरी काम गर्ने र कहाँ गएर आवद्ध हुने भन्ने मलाई जानकारी थिएन । खोज्दै गएपछि बल्ल थाहा पाएँ,’ उनले भने ।

पठाओको अफिसमा पुगेर दुई हजार रुपैयाँ बुझाउँदै पठाओ राइडरमा नाम दर्ता गराएको र आवश्यक डकुमेन्टहरु बुझाएको उनले सुनाए । ‘त्यसको तीन दिनपछि बल्ल मैले पठाओको एप्स पाएँ,’ उनले भने, ‘मलाई राम्रोसँग याद छ, पहिलो दिन मैले ६ सय ५० रुपैयाँ कमाएको थिएँ ।’

पठाओ राइडर बन्न पाएकोमा उनी निकै खुशी र सन्तुष्ट छन् । राइड सेयरिङबाटै दैनिक झण्डै १५ सय रुपैयाँ कमाउँछन् उनी । दिनमा अधिकतम २०–२५ टिपसम्म गर्न सकिने तर कहिलेकाहीँ सुक्खा लाग्ने उनको भनाइ छ ।

राइड सेयरिङ बापत कम्पनीले प्रतिटिप २० प्रतिशत कमिसन लिन्छ । दिनभर टिप गर्दा २५ सय रुपैयाँ कमाईयो भने ५ सय रुपैयाँ अफिसलाई र ५ सय रुपैयाँ तेलमा खर्च कटाएर बाँकी १५ सय खुद कमाई हुने उनले बताए । तर कहिलेकाहीँ मुस्किलले ८–१० टिपमात्र हुने र कमाई थोरै हुने उनी सुनाउँछन् ।

 


 

टिप पाउनै मुस्किल

त्यसो त अहिले थापा मगरको मात्र होइन, हजारौं युवाको दैनिकी चलाउने सहज उपाय पठाओ भइदिएको छ । कम्पनीका अनुसार हालसम्म पठाओ राइडरमा दर्ता हुने मोटरसाइकल, स्कुटरको संख्या एक लाख नाघिसकेको छ । यस्तो संख्या एक लाख २० हजारको हारहारीमा पुगिसकेको हुनसक्ने पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यात बताउँछन् ।

राइडरहरुको संख्यात्मक वृद्धिसँगै अहिले पठाओ राइडर–राइडरबीच नै प्रतिस्पर्धाजस्तो चलेको छ । जसले गर्दा टिप पाउनै मुस्किल पर्ने गरेको थापा मगरको भनाइ छ ।

‘दैनिकजसो बिहान ७ बजेदेखि टिपमा निस्कन्छु । राम्रो टिप लाग्यो भने बिहान नै ८–१० टिपसम्म हुन्छ । तर कहिलेकाहीँ त २–४ टिप पनि लाग्दैन । दिउँसो पनि उस्तै हुन्छ,’ उनी भन्छन्, ‘सहरभरी राइडर नै राइडर छन् । त्यसैले पनि टिप पाउन मुस्किल छ । आफु भएको क्षेत्रमा ग्राहकको रिक्वेस्स्ट आइहाल्यो भने पनि अर्कैले उछिट्याउँछ कि भन्ने चिन्ता हुन्छ । कति पटक त यस्तो समस्या पनि भोगेको छु ।’

‘अब पठाओलाई छाड्न सक्दिनँ’

समयको बाध्यताले आफुलाई राइडर बनाए पनि अब भने राइडर पेसा छाड्न नसक्ने पठाओ राइडर विनोद थापा मगर बताउछन् । वातावरण सहज भएर पुरानै पेसामा फर्किन परे पनि पठाओको गुन आफुले कहिल्यै नभुल्ने उनको भनाइ छ ।

‘दुःखको साथी पो सच्चा साथी । उसको गुन कहिल्यै भुल्न सकिन्न । अब पठाओलाई म छाड्न सक्दिनँ । फेरि, अर्को पेसामा लागेर राइडिङ पेसा छाड्नु पर्छ भन्ने पनि त छैन,’ उनले भने ।

वातावरण सहज भएर यदि पुरानै पेसामा फर्किनु परेछ भने पनि पार्ट टाइम राइड गर्ने सोच बनाएको उनले बताए । ‘त्यस्तो अवस्था आए अफिस आउँदा जाँदाको समयलाई राइड सेयरिङमा उपयोग गर्छु,’ उनले भने, ‘तर पठाओ भने छाड्दिनँ ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.