ad
केन्द्रीय संस्करण
अनुभूति

‘जेल ब्रेक’को कथा : एउटा रडको भरमा यसरी खनिएको थियो सुरुङ

person explore access_timeचैत १८, २०७७ chat_bubble_outline0

 

 

२०५७ साल १७ चैतमा गोरखा ‘जेल ब्रेक’ गरेर माओवादीका ६ महिला खुला आकाशमा निस्किएका थिए । उनीहरुसँग हतियारका नाममा एउटा छड (रड), एउटा छिनु र केही बाँसका कप्टेरामात्रै थिए । यति थोरै साधनले कसरी जिल्ला कारागार तोडियो ? यस विषयमा रातोपाटीका अन्वेषण अधिकारीसँग ‘जेल ब्रेकर’ कमला नहर्कीले अनुभव साटेकी छन् । नहर्की तिनै महिला हुन्, जसले एउटा छडको सहारामा एक्लै सुरुङ खनिन् । जेल पर्नुको पृष्ठभूमि र ‘जेल ब्रेक’ यात्रा उनकै शब्दमा–

२०५५/५६ साल हाम्रो पार्टीका लागि अति जटिल समय थियो । राज्यले हाम्रो पार्टीविरुद्ध ‘किलो–सेरा २’ अप्रेशन चलाइरहेकाले देशभरबाट धेरै साथीहरु गिरफ्तारीमा परेका थिए र यो क्रम जारी थियो । यस समय गोरखामा पनि ठूला–ठूला हत्याकाण्डहरू भए । ०५६ साल भदौ २३ मा कमरेड बासु सहिद भएपछि हाम्रो पार्टी झनै थिलथिलो अवस्थामा थियो ।

म यस समय पार्टीमा ‘होल टाइमर’ थिएँ र गोरखा क्याम्पसमा पनि पढ्थेँ । ०५६ साल १३ पुसमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को कार्यक्रममा सहभागी भएर फर्कदाँ बाटोमा प्रहरीसँग जम्काभेट भयो, मसँग केही पर्चा र पम्प्लेट थियो । त्यसैले चेक जाँचबाट बच्न भाग्ने प्रयास गरेँ, जो असफल भयो ।

मलाई तनहुँ स्थित जेलमा लगेर राखियो । त्यसपछि १७ माघमा गोरखा कारागार ल्याइयो । कमरेड शिलु (उमा भुजेल)सँग त्यहीँ मेरो भेट भयो । ०५६ को कात्तिकमा पक्राउ गरेर तीन महिना बेपत्ता बनाइएपछि उहाँलाई गोरखा कारागार ल्याइएको रहेछ ।

हामी दुईबीच सुरुमै सल्लाह भयो– पार्टीमा कार्यकर्ताको कमी छ, हामी जेलभित्र बसेर हुँदैन । क्रान्तिमा सहयोग गर्नका लागि बाहिरी मोर्चा सम्हाल्न जानैपर्छ ।

१८ वर्षको उमेर भएकाले पनि होला, हामी जेलमा शान्तसँग बस्ने अवस्थामा थिएनौं । हाम्रो ऊर्जा पार्टी र आन्दोलनका लागि जरुरी छ भन्ने हाम्रो बुझाइ थियो । सुरक्षाकर्मीकै बन्दुक चोरेर भाग्न सकिन्छ वा उनीहरुलाई नै आक्रमण गर्न सकिन्छ भन्नेबारे पनि हामीले सोच्यौँ ।

यही कारागारमा कमरेड आशाकाजी श्रेष्ठ (जो पछि सहिद हुनुभयो) हुनुहुन्थ्यो । पुरुष कैदीबन्दीसँग प्रत्यक्ष भेट्न नपाए पनि सहयोगीहरु मार्फत चिट्ठीपत्र आदानप्रदान हुन्थ्यो । पत्राचारकै क्रममा उहाँले हामीलाई एउटा उपाय दिनुभयो– यदि जेल तोड्ने हो भने सुरुङ खनेर भाग्नुको विकल्प छैन ।’

हामीलाई राखिएको बन्दीगृह बाहिर एउटा खुला चौर थियो । हाम्रो ट्वाइलेटको फोहोर त्यही चौरको कुनामा रहेको सेफ्टी ट्याङ्कीमा जम्मा हुन्थ्यो । सेफ्टी ट्याङ्की वरपर नै सुरुङ खन्नुस् भनेर आशाकाजी दाइले सुझाउनुभएको थियो । 

जनशक्ति पर्याप्त भए पनि साधन पर्याप्त थिएन । हामीले लुकाएर राखेको छड नै हाम्रो मुख्य हतियार थियो । अर्को एउटा सानो छिनु पनि थियो । जेलमा शिलु र ममात्रै हुँदा फ्यान राख्नका लागि आएका मजदूरहरुसँग हामीले ३५ रुपैयाँमा उक्त छिनु किनेका थियौं, कुनै दिन काम लाग्नसक्छ भन्ने थियो ।

जेलमा एकपटक सरसफाईका लागि आएका मजदुरले रड छाडेर गएका थिए र कुनै दिन त्यो रड काम लाग्नसक्छ भनेर हामीले आफुसँगै राखेका थियौं । त्यही रडले सुरुङ खन्ने निष्कर्षमा पुग्यौं किनकि प्लास्टर गरिएको पर्खालभित्र सुरुङ खन्नका लागि हामीसँग अरु केही साधन थिएन ।

यद्यपि, हामीसँग जनशक्ति नभएकाले यो योजना अघि बढेन । अर्को कुरा, बन्दीगृहमा अन्य महिला पनि थिए । उनीहरुलाई हामीले आफ्नो योजना थाहा दिन पनि मिल्दैन थियो । 

०५६ असारमा कमरेड मिना जेलमा आउनुुभयो । हाम्रो समूह बढेसँगै आशा पनि बढ्दै गयो । भदौसम्म कमरेड रिता र सञ्जुु पनि आइसक्नु भएको थियो । अनि, हामी पाँचजना मिलेर जेल तोड्ने कामलाई सार्थक बनाउने योजना बनायौं । राजनीतिक विचारमात्रै नभएर हाम्रो भावना पनि मिल्दो रहेछ । कमरेड मिना र म एउटै कलेज पढ्ने भएकाले चिनजान थियो र शिलुुसँग जेल पर्नुअघि एक  पटकमात्रै भेट भएको थियो ।

कार्यक्षेत्र फरक भएकाले त्यसअघि अन्य साथीसँग हाम्रो भेट र चिनजान थिएन । तर, जेलभित्र हामीबीच यस्तो एकता बन्यो कि हामी जे पनि गर्न तयार भयौं । अहिले सम्झँदा, हाम्रो मालेमावादी विचार, क्रान्तिप्रतिको मोह र वर्गप्रतिको निष्ठाले हामीलाई त्यहाँ पुु-यायो भन्ने लाग्छ । क्रान्ति सम्पन्न गर्न हामीजस्ता युवाहरु जेलमा सडेर हुँदैन, खुला आकाशमा निस्कनुपर्छ भन्ने थियो ।

अनि सुरु भयो योजना कार्यान्वयन ....

अब हामीसँग योजनालाई सार्थक बनाउने टीम पनि थियो । तर हामीले आफूसँगैका अन्य बन्दी दिदीबहिनी र सुरक्षाकर्मीलाई पनि अल्मल्याएर गुपचुप ढङ्गले काम गर्नुपर्ने थियो । यतिबेलासम्म हामी ५ जना क्रान्तिकारी बन्दी एउटा कोठामा बस्थ्यौँ भने अन्य महिला बन्दी अर्को कोठामा बस्नुहुन्थ्यो । हामीलाई योजना बनाउन सहज भइरहेको थियो । यसबारे हामीले पुरुष साथीहरुको पनि राय मागेका थियौं । कमरेड आशाकाजीले पत्राचार गर्नुभयो, ‘तपाईहरु सुरुङ निर्माण गर्नुस्, हामी पनि महिला वार्डसम्म आइपुुग्ने बाटो निर्माण गर्छौ र सबै एकसाथ भाग्न सक्छौं ।’

भित्रभित्रै हामीले यति धेरै तयारी गरिसक्दा पनि प्रहरीले हामीलाई कुनै शंका गरेको थिएन । खान नपाई माओवादीमा हिँडेका, त्राही–त्राही भएर बाँचेकाहरु जेलमा दुुईछाक मज्जाले खान पाउँदा सन्तुष्ट छन् भन्ने उनीहरुलाई परेको थियो । उनीहरुको विश्वास जित्न हामीले पनि खुसी भएको अभिनय गरेका थियौं । हामी बिहानै ४ बजे उठ्थ्यौं, बेलुकी १० बजे नै सुत्थ्यौं । सुत्ने, खाने, एक्सरसाइज गर्ने, ब्याडमिन्टन, भलिबल खेल्ने हाम्रो आफ्नै तालिका थियो ।

जेलभित्रै आत्मनिर्भर हुनुपर्छ भनेर हामीले बाँझो चौरलाई खनेर तरकारी खेती लगायौं । त्यहाँ हामी साँझ बिहान आफ्नो समय मिलाएर खेती, सिंचाई र सरसफाई गर्थ्यौँ । तरकारी खेतीसँगै पर्खाल नजिक मलखाद बनाउने भनेर हामीले सल्लाह ग¥यौं । खेर गएको भात र तरकारीलाई कुहाएर त्यसलाई मलका रुपमा प्रयोग गर्ने भनेर प्रहरीलाई छारो हालेका थियौं, खासमा त्यो मलखाद सुरुङमार्गको सुरुवात थियो ।

त्यतिबेला हामी क्रान्तिकारी बन्दीहरुको पहलमा जेलभित्रै बन्दी कल्याण समिति निर्माण भएको थियो । हामीले यस समितिमार्फत विभिन्न कार्यक्रम आयोजना गरेका थियौं । ११ पुस अर्थात् माओ जयन्तीको दिन बन्दी कल्याण समितिले बन्दीहरुको क्षमता अभिवृद्धि गर्न टाइपराइटर मेसिन हस्तान्तरण गर्ने कार्यक्रम राख्यो । यही दिन मलखाद खन्ने भन्दै हामीले सुरुङ खन्न थाल्यौँ । २५ पुसमा कमरेड एन्जिला पनि जेलमा आउनुभयो, अनि हाम्रो समूह थप बढ्यो । 

भर्खरै आएका सुरक्षाकर्मीले कहिलेकाहीँ कमला खोइ भनेर साथीहरुलाई सोध्थे । शंका नहोस् भनेर साथीहरुले पनि मलाई बाथको रोगी बनाइदिएका थिए । घाम लागेपछि मात्रै बाहिर निस्कन्छे, अहिले कोठामै छे भनेर जवाफ दिन्थे । म पनि रोगी भएको अभिनय गर्थें र बेला–बेलामा औषधि मगाउथेँ अनि डस्टबिनमा फाल्थें ।

जनशक्ति पर्याप्त भए पनि साधन पर्याप्त थिएन । हामीले लुकाएर राखेको छड नै हाम्रो मुख्य हतियार थियो । अर्को एउटा सानो छिनु पनि थियो । जेलमा शिलु र ममात्रै हुँदा फ्यान राख्नका लागि आएका मजदूरहरुसँग हामीले ३५ रुपैयाँमा उक्त छिनु किनेका थियौं, कुनै दिन काम लाग्नसक्छ भन्ने थियो ।

आफैंले रोपेका सयपत्री फूल ठूला भइसकेका थिए, त्यसका डाँठहरु जम्मा गरेर राखेका थियौं । रीताले कारागारमा झोला बुन्नुहुन्थ्यो, त्यसका लागि हामीले धागो  र बाँसका केही कप्टेरा पनि मगाएका थियौं । हामीसँग चामल राख्न प्रयोग गरिने केही जुुटका बोरा पनि थिए ।

 

हामीले सुरुङबाट निस्किएको माटोलाई तरकारी बारीमा फिँजार्दै राख्दै ग¥यौं । जब सुरुङ गहिरो हुँदै गयो, तब अन्यलाई शंका नहोस् भन्नका लागि हामीले यसलाई पुर्नुपर्ने भयो । के गरेको भनेर अन्य बन्दीहरुले सोध्थे । अहिले पुरेर राख्ने, केहीपछि मल निकाल्ने भनेर उनीहरुलाई ढाँटेका थियौं । यसरी, बाँसका कप्टेरामाथि सयपत्री फुलको डाँठ, त्यसमाथि जुटको बोरा र त्यसमाथि माटो राखेर राखेर पुु-यौं । सुरक्षा जाँचमा आउने प्रहरीलाई शंका नहोस् भनेर हामीले यसलाई तरकारीको ड्याङजस्तो बनाएका थियौं ।

सायद, महिलाहरुले जेल ब्रेकको योजना बनाउन सक्छन् भन्ने प्रहरीको दिमागमै थिएन । त्यसैले उनीहरुले केही शंका गरेनन् । यदि, पुरुषहरूले यति नै काम गरेको भए उनीहरुले शंका गर्ने थिए होलान् । महिला हुनु नै हाम्रो बलियो पक्ष रह्यो ।

जगमा पुगेपछि निराश भइयो ....

सिमेन्टेड पर्खाल भएकाले त्यसलाई फोड्न सकिदैन भन्ने हामीलाई परेको थियो । पर्खालभन्दा मूनिबाट सुरुङ खन्ने हाम्रो योजना थियो । छडले माटो कोतर्दै हातले माटो झिकेर सुरुङ खन्न सहज थिएन, खन्ने जिम्मा मेरै थियो । त्यसक्रममा मेरा नङ्ग्राहरु फुटे, हातमा धेरै घाउ लाग्यो । बेलुकी बन्दीगृहमा बस्नुपर्ने र बिहानमात्रै बाहिर चौरमा निस्कन पाइने नियम थियो । हामीले बिहान ६ बजेदेखि साढे ७ बजेसम्म मात्रै सुरुङ खन्न पाउँथ्यौं । म टर्चलाईट बोकेर सुरुङभित्र पस्थें र त्यही प्रकाशको सहाराले खन्थेँ । तर, चिसोको समय भएकाले टर्चलाईटको ब्याट्री पनि एक–दुई दिनभन्दा धेरै टिक्दैन थियो । प्रहरीहरूलाई अलग–अलग रुपमा आग्रह गरेर ब्याट्री मगाउँथ्यौं, हामीलाई सहयोग गरेको कुरा आफ्ना सहकर्मीलाई सुनाउँदा आफैं अप्ठ्यारोमा पर्ने भएकाले उनीहरुले पनि एकले अर्कालाई भन्दैनथे ।

यही समय डिएसपी भोगबहादुर थापा सरुवा भएर जिल्लामा आउनुभयो । उहाँले सुरुमा महिला बन्दीहरुलाई भलिबल र पुरुष बन्दीहरुलाई क्यारेमबोर्ड ल्याइदिनुभयो । त्यतिबेलासम्म हामीसँग सानो क्यारेमबोर्डमात्रै थियो । त्यसको केही समयपछि महिला बन्दीहरुका लागि पनि उहाँले ठूलो क्यारेमबोर्ड ल्याइदिनुभयो ।

अनि हामीले सानो क्यारेमबोर्डलाई सुरुङको ढकनीका रुपमा प्रयोग ग¥यौं । अर्थात् सुरुङको मुखमा क्यारेमबोर्ड राख्ने, त्यसमाथि सयपत्रीको डाँठ, त्यसमाथि जुटको बोरा, त्यसमाथि माटो । अब हामीलाई भित्र छिर्न सहज भयो, घर्राजसरी क्यारेमबोर्ड तान्ने अनि सिधै सुरुङमा छिर्ने । भित्र काम गरेर बाहिर निस्किएपछि फेरि घर्रा खोलेर बाहिर आउने ।

पहिलेजसरी सुरुङ थुन्नका लागि धेरै मेहनत गर्नुपरेन । सुरुङ जति गहिरो भयो, माटो त्यति नै धेरै निस्कन थाल्यो । तर हामी ५ जनाको आ–आफ्नो काम थियो । समग्र कोअर्डिनेशन कमरेड शिलुले गर्नुुभयो । सुुरुङ खन्ने जिम्मा मेरो, माटो संकलन र व्यवस्थापन सञ्जु कमरेडको । रिता, मिना र एन्जिला कमरेडले सुरक्षाकर्मी र बन्दीहरुलाई अल्मल्याउने काम गर्नुहुन्थ्यो । सुरुङ खनेपछि निस्किएको सबै माटोे हामीले तरकारी बारीमा नै व्यवस्थापन ग¥यौं ।

पहिले म बिहानै उठेर ब्याडमिन्टन, भलिबललगायत खेल खेल्ने र कसरत गर्ने गर्थें, तर सुरुङ खन्न थालेपछि त्यो दैनिकी बिथोलियो । बिहान ६ बजे एउटा सुरक्षाकर्मीको ड्युटी हुँदा कोठाबाट बाहिर निस्किएको हुन्थेँ । त्यसपछि ड्युटीमा अर्कै सुरक्षाकर्मी आइसकेका हुन्थे । भर्खरै आएका सुरक्षाकर्मीले कहिलेकाहीँ कमला खोइ भनेर साथीहरुलाई सोध्थे । शंका नहोस् भनेर साथीहरुले पनि मलाई बाथको रोगी बनाइदिएका थिए । घाम लागेपछि मात्रै बाहिर निस्कन्छे, अहिले कोठामै छे भनेर जवाफ दिन्थे । म पनि रोगी भएको अभिनय गर्थें र बेला–बेलामा औषधि मगाउथेँ अनि डस्टबिनमा फाल्थेँ । ६स्१५ देखि मुस्किलले ७ बजेर ३० मिनेटसम्म मात्रै सुरुङ खन्थेँ, किनकि त्यतिबेलासम्म कुहिरो लागेको हुन्थ्यो र टाढाबाट कसैले देख्दैन थिए । सेन्ट्री पोस्ट र सुरुङ खन्ने ठाउँको मध्यभागमा हाम्रो कक्ष थियो, त्यसैले पनि सेन्ट्री पोस्टमा तैनाथ सुरक्षाकर्मीले हामीलाई देख्ने सम्भावना थिएन । मैले सुरुङ खनिसक्दा कमरेडहरु पानी लिएर आउनुहुन्थ्यो, हिलो पखालेर घाम लाग्दासम्म म बाहिर चौरमा निस्कन्थेँ । 

हामीले केही उपाय त निकाल्नैपर्ने थियो । मैले त्यही रडले पर्खाललाई कोट्याउन थालें । त्यसो गर्दा अलिकति सिमेन्ट बल्ल निस्कन्थ्यों र पनि प्रयास जारी रह्यो । एकदिन सानो ढुंगा पनि निस्कियो । यसपछि भने म औधी खुसी भएँ । मैले साथीहरुलाई भने, ‘अब सम्भावना छ । अब हामी निस्कन सक्छौं ।’ यति भनेपछि हामी कोठामा अँगालो हालेर रोयौं ।

बन्दीगृहभित्रका बन्दी दिदीहरुलाई पनि हामीले अल्मल्याएका थियौं । जेलबाट निस्किएपछि उनीहरुलाई समाजमा स्थापित हुन सहज होस् भनेर हामीले क्षमता अभिवृद्धि अभियान चलाएका थियौं र सुरुङ खन्न थालेपछि यही अभियानलाई अल्मल्याउने बाटोका रुपमा प्रयोग ग¥यौं । हामी उनीहरुलाई कोठाभित्रै व्यस्त बनाउँथ्यौँ । जस्तो, म उनीहरुलाई पढाउथें र सुरुङ खन्न थालेपछि उनीहरुलाई कोठाभित्रै व्यस्त राख्न दुुई–तीन पानाको होमवर्क दिन्थेँ । टोपी पनि धेरैभन्दा धेरै बुन्न लगाउथ्यों । उनीहरुलाई हामीप्रति विश्वास थियो, केही गर्दैछन् भन्ने पनि लागेको थियो । तर सुरुङ खन्दैछन् भन्ने शंका थिएन ।

हाम्रो कार्यविभाजन र त्यहाँ सामना गरेका चुनौतीहरु शब्दमा भनेर सम्भव छैन । सुरुङभित्रै निसास्सिएर मर्नमात्रै बाँकी रहेको स्थिति पनि थियो । हामी हरेक पटक थोरै–थोरै कुराले बाँचेका थियौं ।

यसरी धेरै मेहनत गरेर हामीले जगसम्म सुरुङ खन्यौँ । तर, हामी गलत रहेछौँ भन्ने बल्ल लाग्यो । जगभन्दा तलबाट सुरुङ लैजान कठिनमात्रै होइन, असम्भवजस्तै थियो । जगमा ठूला–ठूला ढुंगा बिच्छ्याइएको हुन्छ र त्यसमाथि पर्खाल उठाइएको हुन्छ भन्ने प्राविधिक तथ्यलाई हामीले ख्यालै गरेनछौं । हामी फस्यौँ । अब सकिँदैन कि भन्ने पनि भयो । झन्डै ६ फिट गहिरो सुरुङ खनिसकिएको थियो । अब न त्यो पुर्ने, न थप खन्न नै सम्भव थियो ।

हामीले केही उपाय त निकाल्नुपर्ने थियो । मैले त्यही रडले पर्खाललाई कोट्याउन थालेँ । त्यसो गर्दा अलिकति सिमेन्ट बल्ल निस्कन्थ्यों र पनि प्रयास जारी रह्यो । एकदिन सानो ढुंगा पनि निस्कियो । यसपछि भने म औधी खुसी भएँ । मैले साथीहरुलाई भने, ‘अब सम्भावना छ । अब हामी निस्कन सक्छौं ।’ यति भनेपछि हामी कोठामा अँगालो हालेर रोयौँ ।

अनि आयो छिनुको काम ........

२० दिन जेल सुधारको काम भयो । मजदूरहरु आउने र सुरक्षाकर्मीहरु पनि नियमित ड्युटीमा रहने भएकाले हामीले यस समय केही काम गरेनौं । हाम्रो योजना उनीहरुले थाहा पाउलान् कि भन्ने धेरै डर थियो ।

त्यसपछि फेरि एकदिन ट्वाइटलेट जाम भयो । हाम्रो सुरुङसँगैको सेफ्टी ट्याङ्की सफा गर्नुपर्ने भएकाले हामीलाई योजना थाहा पाउलान् भनेर आपतै प-यो । तर, काम गर्न आएका मजदुरहरुलाई पनि हामीले अल्मल्यायौँ । तपाईहरु खाजा खाएर बस्नुस्, हामी काम गर्छौं भन्यौं र सहयोग ग¥यौं । यसक्रममा कतिपय सुरक्षाकर्मी त हाम्रै सुरुङ भएको ठाउँ टेक्न पनि जानुहुन्थ्यो, तर मिना, रिताले ‘हाम्रो तरकारी भएको ठाउँमा किन जान्छौ ?’ भनेर तान्दै अन्यत्र लैजानुहुन्थ्यो ।

उनीहरुलाई हाम्रो योजना थाहा थिएन, त्यसैले यस्तो कामलाई पनि हल्का रुपमै लिन्थे । हामी आफैंले सेफ्टी ट्याङ्की सफा गरेर जाम हटायौँ र सुरुङ जोगायौँ ।  यदि जाम नहटेको भए हाम्रो सुरुङ भएकै ठाउँबाट पाइप लैजानुपर्ने हुन्थ्यों र हाम्रो योजना तुहिने थियो । 

हामी पहिल्यै तयार थियौं । सुरक्षाकमीलाई अलमलमा पार्नका लागि आक्रमणमा आएजसरी चिच्याउने योजना थियो । त्यही ग¥यौं, ‘अट्याक गर.., फायर गर... ’ भन्दै चिच्याउँदै भाग्यौं । कम्तिमा एकजना भएपनि बाँच्नुपर्छ भन्ने थियो । त्यसैले बेग्लाबेग्लै भाग्यौं ।

यसरी, करिब ४ महिनाको अवधिमा झन्डै ३ महिना सुरुङ खन्ने काम ग¥यौं । हामी चार महिनासम्म कुनै रात पनि राम्ररी सुतेनौँ । जेलसुधारको काम सम्पन्न भएपछि फेरि हामी काममा लाग्यौं । जहाँ ढुङ्गा निस्किएको थियो, मैले त्यही ठाउँलाई पछ्याउँदै बाटो निकालेँ । सुरुङको बनावट कस्तो थियो भनेर साथीहरुलाई थाहा थिएन । पछिल्ला दिनमा भने हामी धेरै चापमा थियौं । हामीलाई जेलबाट विकेन्द्रीकृत गर्ने योजना बनिरहेको थियो । त्यसैले हामीले १७ चैतमै जेल तोड्ने निधो ग¥यौं । त्यही दिन साँझ साढे ४ बजे मैले शिलु कमरेडलाई सुरुङभित्र पसाएको थिएँ । सुरुङमा पसेर उहाँ फर्किएपछि हामीले त्यस रात प्रहरी चौकीमा पुरी, तरकारी बनाएर सानो भोज नै ग¥यौं । प्रहरी र अन्य बन्दीलाई पनि खुवायौँ, पहिले पनि यसरी भोज गर्ने भएकाले प्रहरीले खासै शंका गरेन । हामीसँग भएका सामान अन्य महिला दिदीबहिनीलाई दियौँ । अनि, नाचगान गर्ने भनेर रिता, मिना र एन्जिलाले गीत गाउन थाल्नुभयो । म, सञ्जु र शिलु बन्दीगृहबाट बाहिर सुरुङसम्म निस्कने बाटो खोजिरहेका थियौं । ट्वाइटलेटको भेन्टिलेसन फोडेर बाहिर निस्कन सकिन्छ भन्ने हामीलाई लाग्यो । त्यो भेन्टिलेशन रडले बारिएको थियो ।  हामीले केहीअघि नै अर्को ब्लकमा रहेका पुरुष कमरेडहरुमार्फत ‘हेक्सो ब्लेड’ मगाएका थियौं । त्यही ब्लेडले रडलाई दुई तिरबाट काट्न थाल्यौँ । रडको आवाज नसुनियोस् भनेर रिता कमरेडले चर्को स्वरमा मादल बजाइरहनु भएको थियो । अन्य बन्दी दिदीबहिनी नाचमा मस्त थिए । रड आधाभन्दा धेरै काटिएपछि बल्ल छिनुको काम आयो ।

छिनुले हिर्काएपछि रड फुत्त बाहिर निस्कियो, अनि भेन्टिलेसनबाट हाम्रो टाउको छिर्नसक्ने भयो । त्यहीँबाट एक–एक गरेर हामी ६ जना बाहिर चौरमा निस्कियौँ ।

पहिले म सुरुङमा छिरें, त्यसपछि शिलु कमरेड र बाँकी कमरेडहरु एकअर्कालाई छाम्दै आउनुभयो । पुरुष कमरेडहरु पनि हामीसँगै भाग्नुहुन्छ भनेर हामीले सुरुङ ठूलो बनाएका थियौं किनकि उहाँहरु हामीभन्दा मोटो हुनुहुन्थ्यो । तर, अन्त्यमा आएर उहाँहरुले हामी भाग्नसक्ने अवस्था भएन, तपाईहरुमात्रै भाग्नुस् भनेर पत्राचार गर्दा हामी केही भावुक पनि थियौं ।

चैतको समय, खेत बाँझो थियो । सेन्ट्री पोस्टबाट मध्यभागका मानिसहरु पनि सहजै देखिन्थे । बाटो पार लगाउन हामीलाई मुस्किल प¥यो । जेलको पर्खालको सपोर्ट लिँदै पोस्टका सुरक्षाकर्मीको आँखा छलेर भाग्ने योजना भने पूरा भएन । हामीलाई सुरक्षाकर्मीले फायरिङ गरे । यस्तो अवस्था निम्तन सक्छ भनेर हामी पनि पहिल्यै तयार थियौं । सुरक्षाकर्मीलाई अलमलमा पार्नका लागि आक्रमणमा आए जसरी चिच्याउने योजना थियो । त्यही ग¥यौं, ‘अट्याक गर.., फायर गर... ’ भन्दै चिच्याउँदै भाग्यौँ । कम्तिमा एकजना भएपनि बाँच्नुपर्छ भन्ने थियो । त्यसैले बेग्लाबेग्लै भाग्यौँ ।

अन्ततः हामी सबै बाँच्यौँ । हाम्रो कामले राष्ट्रिय÷अन्तर्राष्ट्रिय चर्चा पाएपछि बल्ल यो कति चुनौतीपूर्ण रहेछ भन्ने हेक्का भयो । त्यसयता, मिना र एन्जिला कमरेड जनयुद्धमै अलग मोर्चामा सहिद हुनुभयो । बाँचेका चारजना साथीमध्ये पनि आज हामी सबै एकै ठाउँमा छैनौं । भौतिक मात्र नभएर राजनीतिक र वैचारिक रुपमा पनि हाम्रो बाटो अलग भएको छ । आन्दोलनको उतार चढावले विभाजित हुनुपर्दा म निकै भावुक छु ।

१७ चैत हाम्रो लागि मात्रै नभएर सम्पूर्ण क्रान्तिकारी र महिलाका लागि गौरवपूर्ण दिन हो भन्ने मलाई लाग्छ । महिलालाई दोस्रो दर्जाका रुपमा हेरिने समाजमा हामीले ‘जेल ब्रेक’ आफ्नो ताकत प्रस्तुत गरेको दिन थियो त्यो ।

कतिपयले प्रहरीको मिलेमतो बिना जेल ब्रेक सम्भव थिएन पनि भन्छन् । तर त्यस्तो होइन । प्रहरीले हामीलाई कमजोर सोचेको भने अवश्य हो । महिलाले केही गर्न सक्दैनन् भनेर ढुक्क हुनु नै उनीहरुको गल्ती थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.