बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सम्भावना र चुनौतीका बीचमा वाम एकता

मङ्गलबार, २४ असोज २०७४, १३ : ३३
मङ्गलबार, २४ असोज २०७४

    कम्युनिस्टको कुनै जात हुँदैन भन्ने सिद्धान्तलाई धुमिल पार्र्दै नेपालका कम्युनिस्ट पार्टीहरूले यही असोज १७ गते वाम एकता गरेका छन् । शक्ति र सत्तालाई नै देश विकास र समृद्धि सोच्ने नेताहरूको ढिलै भए पनि देश र जनताका लागि राजनीति गर्ने सोचका साथ गरिएको वाम एकताको सन्देशले देशको विकासमा अब केही परिवर्तन हुन्छ कि भन्ने आभास नेपाली जनतालाई भएको छ । २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीको स्थापनापछि विगतमा खेलेको भूमिका र आन्दोलनले वर्गीय उत्थान गरेको छ भन्ने विषय नै प्रमुख हो । तर लामो समयसम्म केवल सत्ता, शक्ति र स्वार्थमा रमेर भए पनि अहिले भएको वाम एकताले देशमा परिवर्तन, समानता, न्याय, विकास र वर्गीय उत्थानको मुद्दाले स्थान पाउने आशा आम नेपाली जनतामा पलाएको छ ।

मिल्नै नसक्ने गरी आरोप प्रत्यारोप गर्ने नेपालका प्रमुख कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओावादी केन्द्र र माओवादी केन्द्रसँग असन्तुष्टि जाहेर गरी नयाँ शक्ति निर्माण गरेको बाबुराम भट्टराईको पार्टीले गरेको वाम एकताले साँच्चै नेपाली जनतालाई आशाको सञ्चार गराएको त छ नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा समेत यसले सकारात्मक प्रभाव छरेको छ । नेपाल र नेपालीको एकतालाई थप मजबुत बनाएको  छ । 

विपरीत धु्रव झैँ लाग्ने गरी र हरेक कार्यक्रममा आरोप प्रत्यारोपमा समय खर्चिने नेकपा एमालेका अध्यक्ष र नेकपा माओवादीका अध्यक्ष प्रचण्डको यो मिलनलाई धेरैले अस्वाभाविक मात्र होइन लामो समयका लागि यो एकता हुन सक्दैन भन्ने अड्कल काट्नेहरूको बाढी नै आएको छ । स्वतन्त्र राजनीतिक विश्लेषकहरू समेतले यो एकता क्षणिकतामा गएर विलाउनेमा विश्वस्त देखिन्छन् । किनभने विगतको परिणामले समेत यो पुष्टि गर्दै आइरहेको सन्दर्भमा यो विश्लेषण स्वाभाविक हुन आउँछ । यो वाम एकताले राष्ट्रिय सरकार मात्र होईन अन्तर्राष्ट्रिय समुदायको समेत ध्यान खिचेको छ । शक्ति र सत्तालाई नै सर्वोपरि ठानेर गरिएको घृणित राजनीतिभन्दा देश र जनताका मुक्ति, विकास र उत्थानका लागि गरिने कर्म नै लोक कल्याण हुन्छ ।

यो एकता त्यति सहज थिएन तर पनि देशलाई केन्द्र भागमा राखेर अगाडि बढ्ने हो भने असम्भव भने रहेनछ । राजनीतिमा सबै कुरा सम्भवानायुक्त हुँदा रहेछन् । स्थापना कालदेखि आजसम्मका क्रियाकलापलाई सूक्ष्म तरिकाले नियाल्ने हो भने यो एकता दीर्घकालीन हुनेमा कुनै शङ्का छैन । तर साना विषय र कुर्सीलाई महत्व दिने हो भने यो क्षणिक एकता मात्र हुने देखिन्छ । त्यसले देशमा थप अराजकता निम्त्याउने कुरामा कुनै दुविधा छैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाब मात्र होइन, आन्तरिक पार्टी कार्यकर्ता समेतलाई चित्त बुझाउनुपर्ने बाध्यता एकातिर छ भने पार्टीको सिद्धान्त, कार्यनीति, एजेन्डा र मूल मर्मलाई पनि उत्तिकै ध्यान दिनुपर्नेछ । फरक विचारधाराबाट स्थापना भएका पार्टीहरूलाई समुच्चमा मिलाउनु त्यति सहज छैन । तर पनि यसको व्यवस्थापनका लागि एक मात्र अचुक उपाय देश र जनताको समृद्धिमा केन्द्रित हुनु हो । विगतमा जुन जुन पार्टीले जुन जुन विचारधारालाई आत्मासत गरे पनि त्यसको प्रतिफल के आयो भन्ने कुरालाई नजिकबाट विश्लेषण गर्ने हो भने परिवर्तित सन्दर्भमा नयाँ राजनीतिक कोर्स र समयले सबै पार्टीको विचारधारालाई समान बनाउनेतर्फ उन्मुख बनाउन सकिन्छ । फरक यति मात्र हो कि पार्टीका नेताहरूले महान र दीर्घकालीन सोचलाई फराकिलो बनाउन सक्नुपर्छ ।
    

स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनेको एमालेले आत्मासात गरेको सिद्धान्त माक्र्सवाद हो । त्यसैको जगमा बनेको पार्टी हो नेकपा एमालेले माक्र्सले प्रतिपादन गरेको विचार बोकेर यहाँसम्म आइपुगेको पार्टी एमाले र त्यसको छायाँसम्म पनि नपरेको चीनका नेता माओत्सेतुङको विचारधाराबाट यहाँसम्मको आइपुगेको माओवादी केन्द्र कुनै पनि दृष्टिकोणबाट समान पाइँदैन । तर जति नै फरक भए पनि माक्र्स, लेनिन वा माओत्सेतुङ दुवैको पृष्ठभूमि भनेको सर्वहारा वर्गको उत्थान हो । जसको मूल ध्येय नै सर्वहार वर्गको उत्थान गरेर समाजवादको स्थापना गर्नु नै हो । त्यही साझा अवधारणालाई मूल मन्त्र ठानेर अगाडि बढ्ने हो भने एकता असम्भव छैन । ठूलाठूला विचारधारालाई आत्मासात गर्ने तर व्यावहारिक कार्यान्वयन नगर्ने हो भने त्यो दस्तावेज जति उत्तम भए पनि उपलब्धिमूलक हुन सक्दैन । 

निश्चित समयमा निश्चित राजनीतिक आवश्यकताको बोध भए पनि बदलिएको सन्दर्भमा समान दस्तावेज बनाएर देश र जनतालाई केन्द्रभागमा राखेर अगाडि बढ्न गाह्रो छैन । जुन पार्टी जुन विचारधारवाट प्रभावित भएर अगाडि बढे पनि जनताको समृद्धि र उन्मुक्तिमा कुनै पनि कम्युनिस्ट पार्टीको विचार फरक छैन । एमालेले माक्र्सवाद र लेनिनवादलाई मुख्य आधार बनाएर नेपालको अवस्थालाई मनन गरेर जननेता मदन भण्डारीले जनताको बहुदलयी जनवाद, जबजलाई अङ्गिकार गरे पनि र माओवादीले माओत्सेतुङको विचारले आत्मासात गरे पनि जनताको मुक्ति, समानता, न्याय, उत्पीडित, जनजाति र वर्गीय मुक्तिलाई नै केन्द्र भागमा अगाडि बढ्ने हो भने नेपालका सम्पूर्ण कम्युनिस्ट विचारबाट  स्थापना भएको पार्टीलाई एक हुनका लागि रोक्न सक्दैन । विभिन्न समय भएका गरेका जनयुद्ध होस वा शान्ति प्रक्रियाबाट प्राप्त गरेका गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतालाई संस्थागत गर्दै वर्गीय मुक्तिका लागि समान महत्वका साथ दस्तावेजमा उल्लेख गरेर भोलिको मार्गचित्र कोर्न सकिनेछ । 

    विगतको आन्दोलन र उपलब्धिलाई संस्थागत गर्दै आर्थिक समृद्धितर्फ उन्मुख हुनु अहिलेको मुख्य आवश्यकता हो । वर्गीय मुद्दालाई अग्रभागमा राखेर देश र जनतामा समानता, न्याय र परिवर्तन नै अहिलेको मुख्य कार्यभार बन्नुपर्छ । विगतका तीक्ततालाई विर्सेर सबै राजनीतिक दलले अङ्गिकार गरेको विचारधारालाई सम्मान गर्दै अगाडि बढेमा हिजोको दस्तावेज र सिद्धान्त तगारो बन्ने छैन । समय र अवस्थासँग राजनीतिक दस्तावेज र कार्ययोजनाहरू परिवर्तित हँुदै जानेछन् । समयको मागसँगै चल्नुपर्दछ भन्ने मान्यतालाई आत्मासात गर्न सकियो भने एकता दीर्घकालीन हुनसक्छ । माक्र्सवाद, लेनिनवाद, माओवादले यसलाई रोक्ने छैन । सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ भन्ने  मदन भण्डारीको भनाइ सधैँ अम्मर रहिरहनेछ । अतः आवश्यकता केन्द्रित कार्ययोजना अनुरूप अगाडि बढियो भने असम्भव भन्ने केही छैन । आवश्यकता छ त इच्छाशक्तिको । ती इच्छाशक्ति देश र जनताका भावनासँग जोडिएको हुनुपर्दछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बीबी श्रेष्ठ
बीबी श्रेष्ठ
लेखकबाट थप