शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रेशम चौधरीका पिता भन्छन्– केपी ओलीको सत्ता टिकाउन मेरो छोरालाई ‘मोहरा’ नबनाइयोस्

शुक्रबार, १३ चैत २०७७, १२ : ०२
शुक्रबार, १३ चैत २०७७

कैलाली । जनता समाजवादी पार्टी (जसपा) नेपालले पछिल्लो समय रेशम चौधरीको रिहाइलाई मुख्य राजनीतिक मुद्दा बनाएको छ । संविधान संशोधन लगायतका मुद्दामा जोड दिँदै आएको सो पार्टीले संसदीय अंकगणितका आधारमा आफू सत्ता गठबन्धनका लागि निर्णायक भूमिका निर्वाह गर्ने तहमा पुगेसँगै रेशम चौधरीको रिहाइलाई मुख्य मुद्दा बनाएको हो ।

कैलाली–१ बाट निर्वाचित सांसद चौधरी हाल जेलमा छन् । टीकापुर घटनाको मुख्य योजनाकारका रुपमा अदालतले उनलाई आजीवन कारावासको सजाय तोकेको छ । जसपा नेपालकै मागअनुसार रेशम चौधरीलाई रिहा गर्न सरकारसमेत तयार रहेको संकेत देखिएकै बेला रेशम चौधरीका पिता लालवीर चौधरी भने आफ्नो छोरालाई ‘मोहरा’ बनाउन थालिएको गुनासो गर्दछन् ।

लालवीरले टीकापुर घटना, रेशम चौधरीको रिहाइसम्बन्धी माग र जसपा नेपालको राजनीतिक मुद्दाबारे रातोपाटीसँग संक्षिप्त कुरा गरेका छन् ।

 


 

प्रस्तुत छ, रेशम चौधरीका पिता लालवीरले व्यक्त गरेका धारणाको सम्पादित अंश –

मेरो छोरा रेशमलाई मोहरा बनाएर राजनीति भइरहेको छ । सत्ता साझेदारीका लागि जसपा नेपालले रेशमको रिहाइलाई सर्त बनाएको छ । रेशमको रिहाइबारे सर्त ठीक हो, तर लाल आयोगको प्रतिवेदनमा टेकेर अघि बढनुपर्ने खाँचो म देख्छु ।

अहिले सरकारसँगमात्र सम्झौता गरेर रिहा गराउने हो भने भोलिका दिनमा फेरि रेशमलाई पक्राउ गरिने सम्भावना कायमै रहन्छ । त्यसैले लाल आयोगको प्रतिवेदनमाथि टेकेर मन्त्रिपरिषदले निर्णय गर्ने र त्यसैअनुसार रेशमलाई रिहा गराउन पहल गर्ने हो भने टीकापुर घटना राजनीतिक मुद्दा हो भन्ने स्थापित हुन्छ र रेशममात्र होइन, सो घटनाका अन्य आरोपीमाथि न्याय हुन्छ ।

 


 

अहिले त जसपा नेपालले हावाका भरमा रेशम चौधरीको रिहाइको माग गरिरहेको छ, यो सत्ता स्वार्थमात्र हो । रेशममात्र होइन, सबै थारु जातिमाथि अन्याय भएको छ । यसको छिनोफानो लाल आयोगले मात्र गर्न सक्छ भनेर धेरै पहिलादेखि हाम्रा नेताहरुले भन्दै आएका हुन् । तर, अहिले लाल आयोगको प्रतिवेदन किन खोजिँदैन ?

हामी पीडित छौं, दशौं करोडको क्षति भएको छ, छोरा जेलमा छ । हामी थारु जाति नभइदिएको भए १० करोड क्षतिको बदला १५ करोड पाइन्थ्यो होला । थारु भएकै कारण हामीले अहिलेसम्म अन्याय भोग्दै आएका छौं ।

केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउनका लागि रेशमलाई ‘मोहरा’ नबनाउन् । रेशमलाई साँच्चै नै रिहा गर्ने हो भने सबैभन्दा पहिला टीकापुर घटनालाई राजनीतिक मुद्दाका रुपमा लिनुपर्छ ।

 


 

ओली सरकारले टीकापुर घटनाका दोषी ठहरिएका सबैलाई रिहा गर्न सक्थ्यो । तर, यतिका वर्षसम्म गरेन । अहिले आएर रेशमको रिहाइबारे प्रधानमन्त्री ओलीले जसपा नेपालका नेताहरुसँग कुरा गर्नु भनेको टीकापुर घटनाका पीडित, थारु समुदायले उठाएका राजनीतिक मागप्रति सद्भाव देखाएर होइन कि आफ्नै नेतृत्वको सरकार टिकाइराख्न मात्र केन्द्रित छ भन्ने कुरा सबैले बुझेका छन् ।
जसपाले रेशमको रिहाइको माग पार्टीका लागि गरेको हो या व्यक्तिका लागि गरेको हो भन्नेमा हामी पनि अन्योलमा छौं । जसपाले रेशमको मुद्दालाई पहिलादेखि नै यसरी प्राथमिकता दिएर उठाउनुपर्ने हो । अहिले जसपा नेपाल आफै पनि सत्तामा जान र प्रधानमन्त्री ओलीलाई पनि सत्ता टिकाउनका लागि रेशमको कुरा उठेको हो भन्ने हाम्रो ठम्याइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप