बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेल बिना वेल्स विश्वकपमा छनौट हुन सकेन

मङ्गलबार, २४ असोज २०७४, १० : ०९
मङ्गलबार, २४ असोज २०७४

लण्डन । रिपब्लिक अफ आयरल्यान्डसँग आफ्नै घरेलु मैदानमा स्तब्ध हुँदै वेल्स सन् २०१८ मा रसिया हुने विश्वकपमा छनौट हुन असफल भएको छ ।

कार्डिफ भएको खेलमा घरेलु टोलीले खेलको पहिलो हाफमा पूर्णरुपमा नियन्त्रणमा राखे पनि विपक्षीको डिफेन्सलाई तोड्न सकेन ।

दोस्रो हाफमा आयरल्यान्डले सुधारिएको खेल प्रदर्शन गर्‍यो । वेल्सका कप्तान एस्ले विलियम्सबाट बल खोस्दै खेलको ५७ औँ मिनेटमा जेम्स म्याक्लिनले गोल गर्दै वेल्सलाई स्तब्ध बनाए ।

म्याक्लिनको एक मात्र गोल नै खेलमा निर्णायक बन्न पुग्यो

त्यसपछि वेल्सले जीतका लागि आक्रामक खेल प्रदर्शन गरे पनि आयरल्याण्डको डिफेन्सले त्यसलाई निस्तेज बनाएको थियो ।

विश्वकप खेल्ने सम्भावना कायम राख्न दुवै टोलीलाई हिजोको खेलमा जीत आवश्यक थियो । उता सर्बिया हारेको खण्डमा भने दुवै टोलीले बराबरी गरे पुग्थ्यो ।

तर, सर्बियाले जर्जियालाई आफ्नो घरेलु मैदानमा १–० ले पराजित गरेपछि दुवै टोलीका लागि जीत आवश्यक बनेको थियो । 

सर्बिया समूह डीको विजेता बन्दै विश्वकपमा स्वतः छनौट भएको छ भने आयरल्याण्डले अब प्लेअफ खेल खेल्नेछ ।

यता, स्टार खेलाडी गेराथ बेल बिना मैदान उत्रेको सन् २०१६ को युरो कपको सेमिफाइनलिस्ट टोली प्रतियोगिताबाट बाहिरी पुगेको छ ।

घाइते बेल स्ट्याण्डमा बसेर आफ्नो टोली बाहिरिएको हेर्न बाध्य भए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप