शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएको हो ?

बुधबार, ११ चैत २०७७, ०९ : २१
बुधबार, ११ चैत २०७७

काठमाडौं । छिमेकी मुलुक भारतसहित विभिन्न देशमा कोरोनाभाइरस (कोभिड—१९) संक्रमणको दोस्रो लहर आइसकेको अवस्थामा नेपालमा पनि जोखिम बढ्न सक्ने चेतावनी जनस्वास्थ्यविद्हरुले दिँदै आएका छन् । कोरोना संक्रमणको दोस्रो लहरले प्रभावित मुलुकहरूबाट नेपाल आउने नागरिकमार्फत संक्रमण फैलिन सक्ने भन्दै आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा उनीहरुको जोड छ ।  खासगरी भारतमा कोरोना संक्रमण दर बढ्न थालेसँगै त्यसको प्रभाव नेपालमा पर्न सक्ने जनस्वास्थ्य वैज्ञानिक डाक्टर समीरमणि दीक्षित बताउँछन् ।

के हो कोरोनाको दोस्रो लहर ?

कोरोना संक्रमणको लहरलाई समुद्री छालसँग तुलना गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह—प्रवक्ता डा.समीरकुमार अधिकारी बताउँछन् । समुद्री छाल बढेर माथि पुग्ने र त्यसपछि तल झर्ने गरेझैँ पहिलो पटक कोरोना संक्रमण सुरु भएर उच्च विन्दुमा पुग्नुलाई ‘पहिलो लहर’ का रुपमा बुझ्नुपर्ने उनले बताए ।

त्यसरी संक्रमण सुरु भएपछि उच्चतम विन्दुमा पुगेर संक्रमितको संख्या लगातार घट्दै गएको अवस्थालाई ‘पहिलो लहर’को प्रभाव घट्दै गएको अर्थमा बुझ्नुपर्ने उनको भनाइ छ । तर संक्रमण दर घटेर न्यून बिन्दुमा आइपुगेको अवस्थामा फेरि संक्रमितको संख्या बढ्दै जान थाल्छ भने त्यसलाई दोस्रो लहरका रुपमा लिइने उनले बताए ।

कोरोना संक्रमणको चक्र अर्थात् लहरलाई कसैले पनि वैज्ञानिक रुपमा व्याख्या नगरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । ‘निरन्तर लामो समयसम्म एउटै प्रकारको सरुवा रोगको संक्रमण भइरहन्छ,’ उनले भने, ‘संक्रमण दर उच्च बिन्दुमा पुगेर तल झर्ने, त्यसपछि पुनः संक्रमण दर उच्च बिन्दुमा पुग्ने अवस्थालाई लहर भन्ने हो ।’

नेपालमा गत वर्ष माघ १० गतेबाट देखा परेको संक्रमण क्रमशः बढेर कार्तिक ६ गते उच्च विन्दुमा पुग्दा ४९ हजार जना संक्रमित भए । त्यसपछि संक्रमितको दर क्रमशः घट्दै गयो ।

संक्रमण नियन्त्रण वा संक्रमितको संख्या अत्यधिक रुपमा न्यून भएसँगै पहिलो लहर समाप्त भएको अर्थमा बुझ्नुपर्ने सह—प्रवक्ता अधिकारी बताउँछन् ।

नेपालमा दोस्रो लहर आउने सम्भावना कति ?

भारतमा विगत ३८ दिनमा कोरोनाका सक्रिय संक्रमित संख्या दुई लाख पुगेको छ । भारतमा संक्रमणको दर बढेसँगै नेपालमा पनि त्यसको प्रभाव पर्न सक्ने सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन् ।

गत फागुन ७ गते एक होटलमा करिब ५० जना जमघट भएकामध्ये संक्रमणको शंकामा ४० जनाले पिसिआर परीक्षण गराउँदा १९ जनामा संक्रमण पुष्टि भएको उनले बताए । उनका अनुसार ती संक्रमितमध्ये ७ जना अस्पताल भर्ना भए ।

गत आइतबार पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका ४९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । फिल्ड भिजिटका लागि वीरगञ्ज, मकवानपुर लगायतका ठाउँ पुगेकाहरूबाट संक्रमण भएको शंका गरिएको छ ।

नेपालमा पछिल्ला दिनमा स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्नेको संख्या बढेकाले संक्रमण ब्युँताउन सक्ने डा.बास्तोला बताउँछन् ।

नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गए पनि पूर्ण रुपमा संक्रमण नियन्त्रणमा आएको छैन । सोमबारसम्म ४ हजार ४७२ जनाको परीक्षण गर्दा १५० जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ ।

‘कोरोना संक्रमणको लक्षण देखापर्दा परीक्षण नगरिकन बेवास्ता गरेर हिँड्ने धेरै छन्,’ डा. बास्तोलाले भने, ‘अहिले कोरोना परीक्षण गर्नेहरूमध्ये धेरैजसो विदेश जानेहरू हुन् ।’

कोरोनाको लक्षण देखिएकाहरूले परीक्षण गर्दा संक्रमण दर अझ बढ्नसक्ने उनले सुनाए । टेकु अस्पतालमा दैनिक रुपमा ६०÷६५ जनाको कोरोना परीक्षण गर्दा ३÷४ जनामा संक्रमित पुष्टि हुने गरेको उनको भनाइ छ ।

टेकु अस्पतालमा कोरोना संक्रमण भएर कात्तिकमा ६१, मंसिरमा ५७, पुसमा २७, माघमा २८ र फागुनमा ३० जना आइसियुमा भर्ना भएका थिए । तर, समुदायमा कोरोना संक्रमण दर कायम रहेकै अवस्थामा स्वास्थ्य सुरक्षामा हेलचेक्य्राइँ गर्नेहरूको संख्यासमेत बढ्दै गएको डा. बास्तोला  बताउँछन् ।

कोरोना भाइरसको नयाँ स्वरुप भित्रिने आशंका

बेलायतबाट हालै नेपाल भित्रिएका ५ जनामा कोरोनाभाइरसको ‘युके भेरियन्ट’ पुष्टि भइसकेको छ । थाहा नपाइकन कोरोनाभाइरसका नयाँनयाँ भेरियन्ट फैलन सक्ने आशंका जनस्वास्थ्य वैज्ञानिक डा. दीक्षितले व्यक्त गरे ।

‘अहिले कोरोना संक्रमणको लक्षण देखिँदा धेरै मानिस सामान्य रुघाखोकी झैँ गरेर बेवास्ता गर्दछन्,’ उनले भने, ‘संक्रमणको शंका हुँदा पनि धेरैले परीक्षण गर्दैनन्, कोरोना संक्रमण भएको वा रुघाखोकी हो भन्नेबारे आवश्यक परीक्षण नगर्दा भाइरसको नयाँनयाँ भेरियन्ट हामीमाझै हुनसक्छ ।’

होली पर्व मनाउनका लागि भारतीय नाका हुँदै नेपाल फर्किनेको संख्या बढ्न सक्ने उनले बताए । ‘भारतमा फैलिएको कोरोना कुन भेरियन्ट भनेर अध्ययन भएको छैन, स्थलमार्ग हुँदै भारतबाट नेपालमा आवतजावत धेरै हुन्छ,’ उनले भने, ‘यहाँ कोरोनाभाइरसको नयाँ भेरियन्ट फैलिन पनि सक्छ ।’

स्पेनिश फ्लू एक शताब्दीअघि यसरी नै फैलिएको थियो । स्पेनिश फ्लूको पहिलो लहरभन्दा दोस्रो लहर बढी घातक रहेको सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन बताउँछन् ।

नयाँ भेरियन्टसहित कोरोना संक्रमणको दोस्रो लहर पहिलो लहरको तुलनामा घातक हुन्छ वा हुँदैन भन्नेबारे अध्ययन भइसकेको छैन । जनस्वास्थ्यका मापदण्ड पालना गरे नेपालमा दोस्रो लहर फैलिए पनि कोरोनाभाइरसको नयाँनयाँ स्वरुपबाट बच्न सकिने उनले सुनाए ।

‘दोस्रो लहर ठुलो हुन सक्छ’

संक्रमण दर र त्यसको प्रभावका दृष्टिले पहिलो लहरभन्दा दोस्रो लहर ठुलो हुनसक्ने जनस्वास्थ्य वैज्ञानिक डा. दीक्षित बताउँछन् ।

‘पहिलो लहरमा संक्रमित हुने धेरैजसो युवापुस्ता थिए,’ उनले भने, ‘विस्तारै युवापुस्ताबाट वृद्धवृद्धामा पुगेपछि संक्रमण दर उच्च विन्दुबाट तल झ¥यो ।’

सरकारले समुदायमा संक्रमणबारे थाहा पाउन सातवटै प्रदेशबाट ३ हजार १ सय ५० वटा रगतको नमुना संकलन गरेको थियो । सेरो–प्रिभिलेन्स सर्भे गर्दा १३.९ प्रतिशतमा कोरोनाभाइरस विरुद्धको एन्टिबडी बनेको पाइएको थियो ।

सेरो–प्रिभिलेन्स सर्भेलाई आधार मान्ने हो भने विगतमा जनस्वास्थ्यका मापदण्ड अपनाएर विगतमा ठुलो संख्या संक्रमित हुनबाट जोगिए पनि दोस्रो लहरमा सावधानी नअपनाए संक्रमण दर अझ बढ्ने उनले सुनाए ।

‘पहिला कोरोना भन्नेबित्तिकै धेरैको मनमा डर पैदा हुन्थ्यो,’ उनले भने, ‘अहिले त्यस्तो छैन, कोरोनाभाइरस संक्रमणलाई सामान्य ठान्नाले पनि अब झन् समस्या पर्न सक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप