बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

नेता कार्यकर्तालाई माधव नेपालको निर्देशनः ओली प्रवृत्ति र विचारको भण्डाफोर गर्नुस्

बिहीबार, ०५ चैत २०७७, १७ : ५७
बिहीबार, ०५ चैत २०७७

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली र उनको विचारको भण्डाफोर गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।  कार्यकर्ता भेलाको अन्तिम दिन नेता नेपाले पार्टीमा ओलीले धेरै भ्रम सिर्जना गरेको भन्दै नेता कार्यकर्ता लडाउन र भिडाउने काम हुन सक्ने भएकाले सोही अनुसार सचेत हुन पनि आग्रह गरेका छन् । ‘लडाउने भिडाउने काम हुनसक्छ तपाईहरु सबै हिसाबले तयार रहनुहोला’, नेता नेपालको भनाइ छ । 
उनले कम्युनिस्ट आन्दोलनमा लागेका नेताहरू अझैपनि कम्युनिस्ट आन्दोलनप्रति कटिबद्ध रहेको भन्दै ती नेताहरू आज पनि एकताकै पक्षमा रहेको बताए । 

‘केपी ओलीको गलत प्रवृत्तिविरुद्ध पुराना नेताहरुले समेत साथ दिन तयार रहेको भन्दै नेपालले भेलामा पेश गरेको दस्तावेजका आधारमा अघि बढिने बताए ।  उनले केपी ओलीले बालुवाटारमा संसदीय दलको बैठक बोलाएपछि केही सांसदहरुलाई खबर गर्न नपाउँदा उनीहरु गएको चित्त दुखेको हुनसक्ने बताए । ‘तपाईहरु दुःख नमान्नुहोला । चियापान कार्यक्रममा पुग्नुभएछ खबर नहुँदा । गएका साथीहरूलाई बालुवाटार अपमान भएछ । ओलीजीको गुटको मानसिकता एकदम गलत छ । वैचारिक विचलन संगठनका ध्वस्त गर्ने आन्दोलन नै सखाप पार्ने मनस्थिति देखिएको छ । अब हामीले वैचारिक रूपमा नै अगाडि बढ्नुपर्ने अवस्था आएको छ’ नेता नेपालको भनाइ छ । 

उनले एमालेको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोमा आफ्नो पक्ष नै बहुमतमा रहेको भन्दै  केन्द्रीय कमिटीमा समेत बहुमत पुग्ने दावी गरे ।  नेपालले ओलीसँग कमिटीको सामना गर्ने आँट नरहेकाले उनी वैधानिक रूपमा अगाडि बढ्न नचाहेको बताए । ‘हामी चुनौती दिन चाहन्छौ बैठक बोलाउन त्यहाँ सामना गरौंला’, नेपालले ओलीलाई चुनौती दिए । 
उनले ओलीसँग नडराउने, नतर्सिने नझुक्ने पनि बताए । ‘हामी कमजोर छैनौं । कस्ता कस्तासँग डराइएन । यस्ता मानिससँग हामी डराउँदैनौ’ नेपालको दावी छ ।  आफुहरुले ओलीलाई नवौं महाधिवेशनको दस्तावेजमा आउनुस् भनेको भन्दै त्यसमा ओलीले छलफल नै गर्न नचाहेको बताए । ‘ओलीलाई आफुहरुले नै जिताएको तर राम्रो काम गरेनन् । ओलीको विचार र प्रवृत्ति विरुद्ध भण्डाफोर गर्नुस् देशैभर । जबजको मूल्य मान्यताअनुसार भण्डाफोर गर्ने हो’ निर्देशन दिँदै नेपालले भने । 

उनले कार्यकर्ताहरूलाई जनताको पीडा र समस्यामा साथ दिएर अगाडि बढ्न पनि निर्देशन दिए । ‘२०७१ देखि २०७५ को वैशाख र पार्टी एकीकरण हुँदाको अवस्था ओलीले के–के गरे तिनको समीक्षा गरेर अगाडि बढ्ने हो । एकता गर्दा मनपरी मानिस नियुक्त गरे । प्रधानमन्त्री भएको दिनदेखि राज्यका निकायलाई आफ्नो मातहतमा ल्याउने काम गरे । एकल रूपमा शासन गर्ने काम भयो’ उनले ओलीलाई सम्झाउन र सुधार्न धेरै प्रयास गरेपनि असफल भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप