शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फेरिएको परिस्थितिमा कुरा गरौंः ओली, अहिले म मिटिङमा छुः प्रचण्ड

मङ्गलबार, ०३ चैत २०७७, ०६ : ००
मङ्गलबार, ०३ चैत २०७७

काठमाडौं । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेर भेट्न प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार बिहान प्रचण्डलाई फोन गरेर तत्कालै भेट्न प्रस्ताव गरेका हुन् । 

‘भेट्न पर्यो परिस्थिति नयाँ छ’, ओलीले फोनमा भनेका थिए ‘बरु आजै भेटौँ ।’ जवाफमा प्रचण्डले आफु मिटिङमा भएकाले तत्काल भेट्न असम्भव रहेको जनाएका थिए । ‘अहिले म मिटिङमा व्यस्त छु । मिटिङहरु  सकिएपछि भेटौँला’ भन्ने जवाफ दिएका थिए ।

प्रचण्डले भेट्न आनाकानी गरेपछि ओलीले पुन दोहोर्याएर भनेका थिए, ‘हैन अलि चाँडो भेट्नुपर्यो । सकभर आजै भेट्न समय मिलाउनुहोला । नभए पनि भोलिसम्म त भेट्नै पर्यो’ बालुवाटार स्रोतका अनुसार ओली र प्रचण्डबीच करिव ३ मिनेट कुराकानी भएको थियो ।

प्रचण्डले नेकपा बैठकमा १९ पन्ने राजनीतिक प्रस्ताव पेश गरेपछि ओली प्रचण्डबीचको सम्बन्ध बिग्रँदै गएको थियो । पछिल्लो पटक गत पुस दोस्रो साता ओलीले प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न फोन गरेपनि त्यसयता उनीहरुबीच संवाद भएको थिएन । 

ओलीले सोमबार बिहान पहिला आफ्नो सचिवालयका सदस्यहरूबीच छलफल गरेर प्रचण्डलाई फोन गरेका थिए । तर, प्रचण्डको नीजि सचिवालयले भने ओली प्रचण्ड फोन वार्ताबारे आफुहरु अनविज्ञ रहेको जनाएको छ । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले भने, ‘फोन वार्ता भएको थाहा छैन ।’

सोमबारको केन्द्रीय समिति बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्दा पनि प्रचण्डले राजनीतिक अवस्था तरल भएपनि ओलीसँगको फोनवार्ता बारे भने केही खुलाएका थिएनन् । ‘अहिलेको अवस्था एकदम तरल छ । पार्टीहरूसँग वार्ता र छलफल पनि गर्नुछ । त्यसैले यो बैठक पनि छिट्टै सक्दा राम्रो हुन्छ बरु पछि बसौँला’ प्रचण्डले बैठकमा भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप