शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तातोपानी पिउँदै तीन घण्टा छलफल, छुट्टिने बेलामा टर्रो स्वाद

ओलीको अडान : फागुन २८ बाट म ‘ब्याक’ हुन्न
सोमबार, ०२ चैत २०७७, १६ : ५३
सोमबार, ०२ चैत २०७७

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्ने प्रयासस्वरुप सोमबार अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षबीच भएको वार्ता ठोस निष्कर्षमा पुग्न सकेन । एमाले मुख्यालय धुम्बाराहीमा भएको वार्तामा दुवै पक्षले आ–आफ्ना अडान नछोडेपछि सहमति जुट्न नसकेको हो ।

तीन महिनाभन्दा लामो अन्तरालमा ओली र माधव आमनेसामने भएका हुन् । झण्डै तीन घण्टा चलेको छलफलमा तातोपानी पिउँदै उनीहरुबीच आन्तरिक राजनीतिका तातो गफ चलेको थियो । त्यस क्रममा दुवै नेताबीच नेकपामा रहँदा भएका विवादबारे पनि तिक्तता पोखापोख भएको थियो ।

फागुन २८ मा ओली पक्षले एकलौटी रुपमा गरेको निर्णयका विषयबाट कुराकानी सुरु भए पनि ओलीले नेकपामा रहँदादेखि नै आफूलाई पार्टीभित्रबाट सहयोग नभएको भन्दै गुनासो गरेका थिए । जवाफमा नेपालले पनि आफूहरुलाई नेकपामा रहँदादेखि नै पेल्ने नीति लिएको भन्दै ओलीको भनाइको प्रतिवाद गरेका थिए ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालका अनुसार बैठकको सुरुवात राम्रै भए पनि छुट्टिने बेलामा टर्रो कुरा भएको प्रतिक्रिया दिए । ‘सुरुवातमा राम्रो कुरा भयो, तर छुट्टिने बेलामा टर्रो भयो, जसले यथास्थानमा रहने स्थिति बन्यो,’ बैठकपछि उनले भने ।

छलफलपछि दुवै पक्षका नेताले खुला कुराकानी भए पनि निर्णयमा पुग्न नसकिएको बताएका छन् । माधव पक्षका केन्द्रीय सदस्य रघुजी पन्तले वार्ता सकारात्मक भए पनि सहमतिमा पुग्न नसकिएको जानकारी दिए । ‘छलफल सकारात्मक ढङ्गले सुरु भएको छ । तर दुवै पक्षले कुराकानीमा राखेका अडान नछोड्दा कुनै सहमति वा निष्कर्ष आएन’, बैठकका उठेका विषयबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै पन्तले भने ।

त्यस्तै, परराष्ट्रमन्त्री एवं ओली पक्षका नेता प्रदीप ज्ञवालीले खुला छलफलका साथ नेताहरुबीच साझा अवधारणा निर्माण भएको दावी गरे । ‘खुला छलफल भएको छ, सबै नेताहरुबीच सर्वोच्चको फैसलालाई अवसरका रुपमा लिएर एमालेलाई सुदृढ गर्दै बलियो एमाले बनाउन सकेमात्रै अरु वामपन्थी पार्टीबीच पनि एकता गर्न सकिन्छ भन्ने साझा अवधारणा तय भएको छ’, ज्ञवालीले भने, ‘तर पनि एउटै विन्दुमा पुग्न सकिएन ।’

उनका अनुसार फागुन २८ गते अध्यक्ष ओलीले गरेका निर्णयहरु रद्द गर्नुपर्ने प्रस्ताव माधव पक्षले राखे पनि त्यसमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले कुनै प्रतिवद्धता जनाएनन् । ‘उहाँहरुले २८ गतेको बैठकमा हामी सहभागी छैनौं, त्यो बैठकका निर्णयको कसरी स्वामित्व लिने भनेर प्रश्न गर्नुभयो’, ज्ञवालीले भने, ‘तर पनि छलफल गर्दै जाने कुरामा सकारात्मक छ ।’

छलफलमा आफुहरुले चैत ४ र ५ गतेका लागि माधव पक्षले बोलाएको भेला रद्द गर्न आग्रह गरेको पनि उनले जानकारी दिए । ‘त्यो भेला नगरौं बरु केन्द्रीय समिति बैठक आपसी सल्लाहमा तय गरौं भनेर हामीले प्रस्ताव गरेका छौं’, ज्ञवालीले भने ।

उनले छलफल सकारात्मक भएको भन्दै आगामी दिनमा अनौपचारिक छलफललाई निरन्तरता दिदैँ जाने बताए ।

माधव पक्षका नेता घनश्याम भुसालले तीन घण्टा लामो छलफलमा कुनै सहमति नभएको जानकारी दिए । ‘आज केही निर्णय भएन । पार्टी एकतालाई पुनर्जागृत र सुदृढ गर्ने कुरामा सबैको समान धारणा रह्यो । अदालतले निर्णय गरेअनुसार पार्टी पूर्ववत् अवस्थामा लैजाऔँ भनेर हामीले पनि भन्यौं’, बैठकपछि भुसालले भने ।

एमाले उपाध्यक्ष भीम रावलले सोमबारको छलफलमा सहमति नजुटे पनि अर्को छलफल कहाँ र कसरी भन्ने तय नभएको बताए । ‘आज कुरा मिलेन । फेरि छलफल गर्ने कुरा भएको छ । तर कहिले, कसरी भन्ने निश्चित भएको छैन’, छलफलमा सहभागी रहेका उनले भने, ‘उहाँहरुले २८ गतेको निर्णय खारेज गर्नुभयो भने हामीले हाम्रा तर्फबाट घोषणा गरेका कार्यक्रम स्थगित गर्छौँ, नत्र जारी राख्छौँ ।’

२८ गते गरेको निर्णय पार्टीको विधि, विधान र प्रणाली विपरित रहेकाले त्यो निर्णय फिर्ता लिन आफुहरुले ओली पक्षलाई आग्रह गरे पनि उक्त निर्णय फिर्ता गर्न तयार नभएपछि फेरि वार्ता गर्दै जानेमा सहमति भएको रावलले जानकारी दिए ।

‘त्यो निर्णय पार्टी विधान र सर्वोच्चको फैसला अनुकुल पनि थिएन,’ आफुहरुले छलफलमा राखेको धारणा सुनाउँदै रावलले भने, ‘एकअर्काका विचार आदान प्रदान ग¥यौँ । त्यसक्रममा हामीले एमालेको विधान, पद्धति र प्रणालीमा साझा रुपमा समस्या समाधान गर्न तयार छौँ भनेर भनेका छौँ ।’

छलफलमा ओली पक्षबाट अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, नेता तथा मन्त्रीहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली लगायत सहभागी थिए भने नेपालका तर्फबाट भीम रावल, घनश्याम भुषाल, रघुजी पन्त, गोकर्ण विष्ट लगायत सहभागी थिए ।

के हो विवादको जड ?

एमालेमा नवौँ महाधिवेशनदेखि नै दुई धार थियो । एउटा धारको नेतृत्व अध्यक्ष केपी शर्मा ओली र अर्को धारको नेतृत्व नेता माधवकुमार नेपालले गर्दै आएका थिए । त्यही बिचमा २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा गर्दै नेकपा बनेको थियो । तर, नेकपा बनेपछि पनि ओली र नेपालबीच सुमधुर सम्बन्ध हुन सकेको थिएन ।

यही क्रममा सरकार र नेकपाबीचको सम्बन्धमा समेत उत्तरचढाव आइरहेको थियो । तर, गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड र माधव पक्ष एकातिर, ओली अर्कातिर धु्रवीकरण हुन पुगेका थिए । सोही क्रममा नेकपा विवादमा सर्वोच्च अदालतले ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज गरेपछि एमाले र माओवादी पुरानै घरमा फर्कन बाध्य भएका थिए । तर सर्वोच्च अदालतको उक्त फैसलापछि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले माधव पक्षलाई किनारा लगाउनेगरी पार्टीमा छलफलविना नै नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि ओली र माधव पक्षबीच थप तिक्तता बढेको थियो ।

ओलीले गुटको बैठक राखेर आफ्ना पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि आक्रोशित बनेको माधव पक्षले पनि सातै प्रदेशमा समानान्तर समिति गठन गर्दै अघि बढ्ने निर्णय गरेको थियो । त्यसका साथै माधव पक्षले आगामी चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

उता, ओली पक्षले चैत ७ गते केन्द्रीय समिति बैठक बोलाएको छ । तर माधव पक्षले ओलीले आफुखुसी बोलाएको उक्त केन्द्रीय समिति बैठकमा नजाने अडानका साथ निर्वाचन आयोगमा पुगेर ओलीले गरेका निर्णय कार्यान्वयन नगर्न भनिसकेको छ । ओलीको स्वेच्छाचारी गतिविधिविरुद्ध डटेर सामना गर्ने तयारीमा पुगेको माधव पक्ष ओलीसँगको निर्णायक लडाई लड्ने मनस्थितिमा पुगेका बेला सोमबार दुवै पक्षबीच वार्ता भएको हो । तर, वार्तामा ओली पक्षले फागुन २८ का आफ्नो निर्णय रद्द नगर्ने र माधव पक्ष त्यो निर्णय खारेज नगरेसम्म सहमति नगर्ने अडान नछोडेपछि वार्ता सहमतिमा पुग्न नसकेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप