बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टिने बेलामा टर्रो कुरा भयोः माधव नेपाल

सोमबार, ०२ चैत २०७७, १६ : ०८
सोमबार, ०२ चैत २०७७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको वार्ता निष्कर्षविहीन भएको छ । पार्टी कार्यालय धुमबाराहीमा सोमबार भएको वार्तामा दुवै पक्षले पार्टीलाई एकतावद्ध गर्दै अघि बढाउने प्रतिवद्धता जनाएपनि आ–आफ्ना अडानमा रहेपछि ठोस सहमति हुन नसकेको हो । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एकिकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा पूर्ववत् रुपमा नेकपा एमाले  र नेकपा माओवादी केन्द्रको अवस्थामा पुगेको भन्दै त्यसपछिका निर्णयहरूको प्रभाव शून्य हुनुपर्ने अडान नेता नेपाल पक्षले राखेको थियो । सो प्रस्तावअनुसार अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसलापछि फागुन २८ गते गरेको निर्णय फिर्ता वा खारेज गरेको जानकारी गराउनुपर्ने थियो । तर २८ गतेको निर्णय खारेज गर्ने पक्षमा ओली नरहेपछि वार्ता सकारात्मक दिशामा अघि बढ्न नसकेको प्रतिक्रिया नेता नेपाल पक्षका नेताहरुले दिएका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपालले पुरानै अवस्थामा फर्किऔ भनेर गरेको प्रस्ताव अध्यक्षले स्वीकार नगर्दा बैठकको अन्त्य टर्रो रुपमा भएको प्रतिक्रिया दिए । उनले भने– ‘सुरुवातमा राम्रो कुरा भयो । छुट्टिने बेलामा टर्रो कुरा भयो । यथास्थानमा रहने स्थिति बन्यो । सर्वोच्च अदालतले फैसला गरिसकेको अवस्थामा पूर्व एमालेको जुन पुरानो अवस्था हो, यो अवस्थामा पार्टीको संरचना, पदाधिकारी र सदस्य यथावत स्वीकार गर्ने स्थितिमा जाउँ भनी हामीले भन्यौ । पार्टीलाई एकताबद्ध बनाउँ, आन्दोलनलाई पनि अरु पार्टीलाई पनि समेटेर लैजाने काम गरौं भन्यौ । अरु कुरा भन्दा पनि २८ गतेको उहाँको आफ्नो सानो गुटको भेला हो, त्यसलाई उहाँले केन्द्रीय कमिटीको बैठकको नाम दिनुभएको छ । त्यसैमा कुरा मिलेन ।”
नेता नेपाल पक्षका उपाध्यक्ष भीम रावलले पार्टी एकतावद्ध गरेर जाने विषयमा सबैको एकमत भएपनि सर्वोच्च अदालतको फैसला पछिका क्रियाकलापको प्रभाव शून्य बनाएर अघि बढ्ने विषयमा सहमति जुट्न नसकेको जानकारी दिए ।

उनले भने– “नेपाल कम्युनिष्ट पार्टी एमालेलाई कसरी एकताबद्ध गरेर लैजाने भन्ने विषयमा छलफल गर्यौं । सर्वोच्च अदालतको फैसलापछि तात्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र जसरी नेपाल कम्युनिष्ट पार्टी नेकपा भनेर एउटै पार्टी बनेको थियो । अब त्यो स्थिति नरहेर हामी अलग–अलग नेकपा एमाले र नेकपा माओवादी केन्द्र भइरहने स्थिति उत्पन्न भएपछि स्वभाविक रुपमा हामी ३ वर्ष अगाडि जुन स्थितिमा थियौ त्यही स्थितिबाट हाम्रा सबै गतिविधिहरु, काम कारवाहीहरु अगाडि बढ्नुपर्छ भन्ने कुरा स्वयंमा स्पष्ट छ । यो राजनीतिक दृष्टिकोणबाट, कानुनी दृष्टिकोणबाट, अदालतको फैसलाको दृष्टिकोणबाट स्पष्ट छ ।

आजको छलफलमा हाम्रो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री र स्थायी समिति सदस्यले आआफ्नो धारणा राख्यौं । हामी जहिले पनि वामपन्थी एकताको पक्षमा थियौं । आज पनि छौं । र पार्टीलाई एकतावद्ध बनाएर अगाडि लैजानुपर्छ भन्ने हाम्रो धारणा रहेको छ भनेर हामीले स्पष्ट भन्यौ । जब सर्वोच्च अदालतले नेकपा एमाले आज भन्दा ३ वर्ष अगाडिको पूर्ववत् अवस्थामा फर्कियो भनिसकेपछि हाम्रा सम्पूर्ण कामहरु त्यही स्थितिबाट सबै गतिविधिहरु र काम कारवाहीहरु अगाडि बढ्नुपर्छ भन्ने स्पष्ट छ ।”

सर्वोच्च अदालतको फैसला मान्ने हो भने फैसलापछिका सम्पूर्ण क्रियाकलाप को प्रभाव शून्य हुनुपर्ने र त्यो गर्न आफुहरु तयार रहेपनि अध्यक्ष एवं प्रधानमन्त्री ओली तयार नभएको नेता रावलले बताए । विशेष गरि अध्यक्ष ओली २८ गतेको निर्णयबाट पछि हट्न नखोजेको उनले बताए ।

उनले भने, “सर्वोच्च अदालतको २३ गते को फैसला पछिका क्रियाकलापको प्रभाव शून्य हुन्छ । पार्टी अध्यक्षबाट यसबीचमा जुन कामहरु भयो, २८ गतेको केन्द्रीय कमिटी भनिएको छ, त्यसका निर्णयहरु भनिएको छ । हामीलाई खबर नगरिएको, त्यहाँ गरिएको भनिएका निर्णय को प्रभाव पनि शुन्य हुन्छ भन्ने तथ्यगत कुराहरु राख्यौं तर त्यो कुरालाई तदनुकुल स्वीकार्ने कुरा हामीले सुन्न पाएनौ । त्यो कुरा नभएपछि हामी त्यसमा सहमत हुनै सक्दैनौ । किन भने सर्वोच्च अदालत फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामा गयो भनिसकेपछि त संगठनात्मक र राजनीतिक, वैचारिक र व्यवहारिक दृष्टिकोणबाट हामी पूर्ववत् अवस्थामा गयौं नि त । पूर्ववत् अवस्थामा गयौं भनिसकेपछि त्यो अवस्थालाई स्वीकार गरेनौ भने हामीले मान्ने अवस्था आउँदैन ।”

उनले आफुहरु नेकपाको विधान पद्धतिअनुसार भएका कामकारवाहीमा साझा रुपमा मानेर अघि बढ्न तयार भएपनि अध्यक्षले आफुले गरेका कामलाई चाही गरिहाल्ने अनि अरु कुरा मानि दिनुपर्ने भन्ने भाव देखाएकाले त्यस्तो कुरा आफुहरुलाई स्वीकार्य नहुने बताए ।

नेता घनश्याम भुसाल पार्टीको पूर्ववत् अवस्थामा फर्किऔ भन्ने प्रस्तावमा कुरा नमिलेपछि बैठक कुनै निष्कर्षमा पुग्न नसकेको बताए । उनले अपेक्षाकृत बैठक नभएको र एजेण्डाका दृष्टिकोणबाट सार्थक नभएको बताए ।
अध्यक्ष ओली पक्षका नेता सुवास नेम्वाङले पार्टी एकताबद्ध गरेर जाने भन्नेमा सबैको एकमत भएपनि पछिल्ला राजनीतिक विषयमा नेताहरुबीच मतान्तर रहेको बताए ।

त्यसैगरी महासचिव ईश्वर पोखरेलले एमालेलाई एकताबद्ध गरेर लैजाने विषयमा छलफल भएको बताए । २८ गतेको निर्णयका सम्बन्धमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उनले अर्याल होटलमा भएका कुरा, ४ र ७ गतेका कार्यक्रमको पनि कुरा आउँछ नि भन्दै नेता नेपाल पक्षले गरेको क्रियाकलापको कुरा उठाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप