बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रहेनन् काँग्रेस म्याग्दीका पूर्वसभापति डा.खड्का

मङ्गलबार, २५ फागुन २०७७, १४ : ००
मङ्गलबार, २५ फागुन २०७७

म्याग्दी । नेपाली काँग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्र बहादुर खड्काको  ८० वर्षका उमेरमा निधन भएको छ । बेनी नगरपालिका–८ सङ्गम चोक निवासी उनको काठमाडौँ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

अकस्मात् बिरामी परेपछि उनलाई आइतबार हेलिकप्टरबाट काठमाडौँ लगिएको काँग्रेस म्याग्दीले जनाएको छ । उनी गत शुक्रबार र शनिबार बेनीमा भएका विभिन्न कार्यक्रममा सहभागी समेत हुनुभएको थियो । उनी मुटुसम्बन्धी रोगको औषधि सेवन गर्थे ।

काँग्रेस म्याग्दीका प्रवक्ता अजय मिलन श्रेष्ठका अनुसार खड्का २०५६ देखि २०६७ सम्म दुई कार्यकाल कांग्रेस जिल्ला सभापति बनेका थिए । म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष  उनी जिल्लामा कुशल चिकित्सक र कानून व्यवसायीका रुपमा पनि प्रख्यात रहेका थिए ।

एक समय बेनीको प्रकाश माविका शिक्षकसमेत रहेका  उनका एक छोरा र एक छोरी रहेका छन् । खड्काकी श्रीमतीको २०६१ सालमा निधन भएको थियो । स्पष्ट वक्ता, अध्ययनशील र सरल स्वभावका नेपाल रेडक्रस सोसाइटीका पूर्वसभापति खड्का स्वाभिमानी र निष्ठावान् नेताका रुपमा जिल्लामा सुपरिचित थिए ।

पूर्वसभापति खड्काको निधनप्रति काँग्रेसका नेता कार्यकर्ताले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनको आज नै काठमाडौँस्थित पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिने काँग्रेस म्याग्दीका नेताहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप