मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गोठमा बाँधेका जनावर चितुवाले खान थालेपछि...

मङ्गलबार, २५ फागुन २०७७, ०९ : ४८
मङ्गलबार, २५ फागुन २०७७

चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका बासिन्दा निकै चिन्तित भएका छन् । गाउँजजिकैको लक्ष्मी मध्यवर्ती सामुदायिक वनबाट राति आउने चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ । 

बाख्रा, बङ्गुर र गाईलगायतका जनावर चितुवाले खान थालेको परदेशी चौधरीले बताए । उनका अनुसार दुई साताको अवधिमै चितुवाले स्थानीयवासीको गोठमा बाँधेका एक दर्जनभन्दा बढी बङ्गुर र बाख्रा खाएको छ ।

“गाउँका बासिन्दाले पालेका कुकुरसमेत बाँकी राखेको छैन”, उनले भने, “राति कुन बेला आउँछ, पत्तो लाग्दैन । सामुदायिक वन छेउमा खाएको अवशेष मात्रै फेला पार्छौँ ।” गए राति मात्रै रु ३५ हजार हालेर खरिद गरेको जर्सीगाई चितुवाले गोठमै छिरेर मारेको अवस्थामा फेला परेको स्थानीयवासी धनबहादुर चौधरीले बताए । “चितुवाका कारण निकै नोक्सानी व्यहोर्नुपरेको छ, यसलाई नियन्त्रण नगरे मानवीय क्षतिसमेत निम्त्याउन सक्छ”, उनले भने ।

चितुवाको डरका कारण रातिको समय गाउँका बासिन्दाले हिँडडुलसमेत बन्द गरेका छन् । “दैनिक गाउँमै छिरेर घरपालुवा जनावर मारेर खान थालेको छ”, अशोक चौधरीले भने, “स–साना बालबालिकालाई समेत आक्रमण गर्ने सम्भावना भएकाले निकै त्रसित भएका छौँ । गाउँमा चितुवाको त्रासले बस्न नसकिने अवस्था आउन थालेको छ ।” 

सामुदायिक वन संरक्षण गरी उपभोक्ताले हराभरा बनाएपछि चितुवालगायतका जनावर आउन थालेका हुन् । सम्बन्धित निकायसँग यस क्षेत्रका बासिन्दाले चितुवा नियन्त्रण गरी मानवीय क्षति हुनबाट जोगाउनका लागि माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप